काठमाडौं, २७ असोज - राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटेर आगामी अधिवेशन, राष्ट्रियसभाको निर्वाचनका विषयमा जानकारी गराएका छन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले जेनजीको प्रतिनिधित्वका बारेमा पनि चासो व्यक्त गरेकी छन् ।
अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर व्यवस्थापिका संघको महासभामा भाग लिन जेनेभा जाँदैछन् । त्यसै क्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग भेटेर आफ्नो भ्रमणको बारेमा जानकारी गराएको बताएका छन् ।
अध्यक्ष दाहालले महासभामा भाग लिनेबारे र विषयवस्तुको जानकारी दिन आइतबार प्रधानमन्त्रीसँग भेट गरेको बताएका छन् । ‘संविधान, ऐन, अन्तर्राष्ट्रिय मूल्य मान्यता, सरकारको नीति अनुसार मैले महासभामा विषयवस्तु प्रस्तुत गर्नुपर्छ’ त्यसका लागि भेट गरेको हो ।
अन्तर व्यवस्थापिका संघको १५१औं महासभा स्वीजडल्याण्डमा जेनेभामा हुँदैछ । पाँच दिने महासभामा भाग लिन अध्यक्ष दाहालसहितको टोली असोज ३१ गते प्रस्थान गर्दैछ । कार्यक्रमका लागि अर्थ मन्त्रालयबाट सहमति लिइसकेको र तयारी भैसकेको उनले बताए ।
राष्ट्रिय सभाको वैठक 
राष्ट्रिय सभाको हल पनि आगो लगाएर ध्वस्त पारिएको छ । व्यवस्थापिका संसद भएकै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको राष्ट्रियसभाको हल जलेको छ । आगामी हिउँदे अधिवेशन कहाँ राख्ने भन्ने सरकारसँग परामर्श पनि गरेको बताएका छन् ।
राष्ट्रिय सभाको वैठक भदौ ३१ मा अन्त्य गरिएको थियो । कानून अनुसार अधिवेशन अन्त्यको लागि ६ महिना अगावै हिउँदे अधिवेशन गर्नुपर्नेछ । अब हल कहाँ बनाउने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको थियो’ राष्ट्रियसभाका अध्यक्ष दाहालले भने ।
‘सामान्यतया हिउँदे अधिवेशन मंसिरसम्ममा थाल्ने गरिएको प्रचलन छ’ अध्यक्ष दाहालले भने । सिंहदरबारमा रहेको पूरानो राष्ट्रिय सभाको हलमै आगामी वैठक बस्नेगरी तयारी गरिने उनले जानकारी दिए । संसदीय कृषि समितिको हल रहेको छ ।
राष्ट्रिय सभाको चुनाव
यता राष्ट्रिय सभाको एकतिहाईको चुनाव माघको दोस्रो हप्ताभित्र गरिसक्नुपर्छ । निर्वाचन आयोगले तालिका आन्तरिक ढंगले निर्णय गरिसकेको बताएको छ । प्रधानमन्त्री कार्कीले भेटका क्रममा राष्ट्रिय सभा निर्वाचनबारे जेनजी समेट्न सकिन्छ कि भन्ने विषयमा चासो देखाएकी हुन् । 
राष्ट्रिय सभा सदस्यका लागि चुनावी प्रक्रिया फरक छ । जनप्रतिनिधिले मात्रै चुनावमा मतदान गर्न पाउने व्यवस्था छ । साथसाथै उमेर हद पनि ३५ वर्ष तोकिएको छ । तर जेनजी उमेर समुह हाल २८ वर्षसम्मका मात्रै रहेका छन् ।
चुनावका लागि राजनीतिक सहमति हुन सकेमा जेनजीले आफ्ना प्रतिनिधि बनाएर पठाउनसक्नेगरी अध्यक्ष दाहालले सुझाएका थिए । ‘राष्ट्रिय सभाको एक तिहाइको निर्वाचन हुँदैछ । यसमा जेनजीको प्रतिनिधित्व कसरी सम्भव हुन्छ भन्नेमा कुराकानी भएको थियो’ अध्यक्ष दाहालले भने, ‘राजनीतिक सहमति गर्न सकियो भने असम्भव त होइन ।’ प्रधानमन्त्रीले चासो राखेका कारण प्रक्रियाका बारेमा मात्रै सतही छलफल भएको उनले बताए ।
निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आउँदो फागुन २० गते राष्ट्रिय सभाको एक तिहाइ पद रिक्त हुन लागेको हो । अध्यक्ष दाहालको पनि आउँदो फागुनमा कार्यकाल सकिँदैछ ।
राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने संवैधानिक व्यवस्था छ । प्रत्येक २ वर्षमा एक तिहाइ सदस्य रिक्त हुने व्यवस्था गरिएको छ ।