काठमाडौं, २७ असोज - नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले आफ्ना छोरासमेतले भन्सार छलेर ल्याएको भेप (इलेक्ट्रिक सिगरेट)भित्र रहेको सुन जाँच पास गरिदिन भन्सारमा फोन गरेकै कारण संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ ।
उनका छोरा राहुल भन्ने रेशम महरालाई भेप छुटाउन सघाएका थिए । उनले प्रमुख भन्सार अधिकृतलाई फोन गरेका थिए । साथै चिनिया नागरिक दावाजिन बाङसँग पनि पटकपटक फोन सम्पर्क गरेको भेटिएको थियो । त्यसकै आधारमा उनलाई संगठित अपराधमा मुद्दा दर्ता गरिएको हो ।
सुन तस्करीको आरोपमा आइतबार पक्राउ परेका महरालाई संगठित अपराधमा ८ करोड ५५ लाख रुपैयाँ बिगोको आधारमा साढे सात वर्ष कैद माग गर्दै मुद्दा दर्ता गरिएको छ । पूर्व अतिविशिष्ट व्यक्ति रहेका महरा पक्राउ परेको भोलिपल्टै अर्थात सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्दै पाँच वर्षमा थप कैद सजाय मागदाबी गरिएको छ ।
सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गर्दै महरालाई तीनदेखि पाँच वर्षसम्म कैद माग गरिएको छ । कानून अनुसार ३ करोड रुपैयाभन्दा बढी बिगोमा तीनदेखि पाँच वर्षँसम्म कैद हुनसक्ने व्यवस्था छ । उनी सार्वजनिक पदमा बसिसकेको व्यक्ति भएकाले थप ५० प्रतिशत सजायको पनि माग गरिएको छ । कानून अनुसार साढे ७ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको हो ।
काठमाडौं जिल्ला अदालतका अनुसार उनलाई भन्सार ऐनविरुद्धको कार्य गरेको, संगठित अपराध निवारण ऐनविरुद्ध काम गरेको भन्दै ८ करोड ५५ लाख २८ हजार ३७४ को आधारमा सजाय पनि माग गरिएको हो । सरकारी वकीलले दर्ता गरेको कसूरमा ‘संगठित रुपमा समूह बनाइ तहगत कसूर गरेको’ अभियोग लगाइएको छ ।
सुनको अवैध तस्करीमा आफ्नो कुनै पनि संलग्नता नभएको महराले सरकारी वकीलसमक्ष बयान दिएका छन् । उनले आफ्ना परिवारका सदस्यलाई कुनै राजनैतिक संरक्षण गरेको छैन । ‘चिनिया नागरिकले भेपभित्र लुकाइ छिपाइ ल्याएको सुन अवैध रुपमा नेपाल भित्राउन मेरो कुनै लगानी छैन’ उनले भनेका छन् ।
यस अघि सुन प्रकरणमै उनका छोरा राहुल महरालगायतलाई दर्ता भएको मुद्दा अनुसारै बिगोका आधारमा मागदाबी गरिएको हो । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र प्रहरीले संगठित अपराध कसुरमा दुईवटा मुद्दा चलाउने बताइसकेको छ ।
महरालाई आपराधिक समूह बनाएर चीनबाट नेपालमा संगठित रुपमै सुन तस्करी गरेको आरोप लगाउँदै प्रहरीले आइतबार पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेपमा चीनबाट नेपालमा सुन तस्करी गरेको आरोप लगाउँदै संगठित अपराध कसुरमा अनुसन्धानका लागि भन्दै पक्रेको थियो ।
नेता महरालाई ‘दुईवटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान सुन सहितको इलेक्ट्रिक सिगरेट ल्याएको आरोप छ । प्रहरीले महरालाई ‘८ करोड ५५ लाख २८ हजार रुपैयाँ बराबरको सुन बेचबिखन गरी आपराधिक लाभ लिएको देखिएकाले’ पक्राउ गर्नु परेको प्रहरीको आरोप छ । यसै प्रकरणमा महराका छोरा राहुललगायतलाई यस अघि नै मुद्दा चलाइएको थियो ।
चिनियाँ नागरिकले दुईवटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा ल्याउँदै गरेको अवस्थामा जफत गरिएको थियो । जफत गरिएको सुनसहितको भेप त्रिभुवन विमानस्थल भन्सार कार्यालयको स्टोरमा राखिएको प्रहरीको दाबी छ । जफत भएको सुन भन्सारका नायव सुब्बा रेवन्त खड्कासमेतको जिम्मा र संरक्षणमा रहेको प्रहरीले जनाएको छ ।
सुन तस्करीमा सार्वजनिक पदाधिकारी जोडिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ । महरासँग बिहिबार बयान लिएको अख्तियारले भ्रष्टाचार मुद्दा दर्ताको तयारीमा रहेको जनाएको छ ।
लुइ सहितका ६ जना चिनियाँ नागरिकको हकमा भने भेटिएको बखत मुद्दा चल्नेगरी नाम समावेश गरिएको थियो । भेप बरामद गररे गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए । भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्का सहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले सीआईबीलाई जाहेरी दिएका थिए ।
२०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले दुइवटा सुटकेसभित्र ७३ बट्टामा भेपमा लुकाएर सुन भित्राएका थिए । त्यसै प्रकरणमा महरा जोडिएका थिए । २०८० असोजमा सिआइबीले महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको थियो । उनका छोरा राहुलसहित तीन जनाविरुद्ध मात्रै मुद्दा चलाउने सिफारिस गरेको थियो । सीआईबीले यस अघि नै पक्राउ गरी राहुलसहित लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
२०८० असोजमा राहुलसहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा दर्ता भएको थियो । राहुल १४ महिना जेल सजाय काटेर छुटिसकेका छन् । केन्द्रीय कारागार जगन्नाथदेवलमा १४ महिना जेल बसेर उनी २०८१ कात्तिक १३ गते छुटेका थिए ।