नेभिगेशन
नेपाल

विवादास्पद व्यवसायी भट्टविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, २७ असोज - राजनीति र प्रशासनिक क्षेत्रमा बलियो पहुँच बनाएर फाइदा लिँदै आएको आरोप लाग्ने गरेका विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जेनजी अलायन्सको नामबाट दर्ता भएको सो उजुरीमा भट्टले गैरकानुनी रुपमा आर्जन गरेको १० खर्ब सम्पत्ति जफत गरी पुनःनिर्माणमा लगाउन माग गरिएको छ ।

उजुरीमा राज्यको सबै संरचना र निकायमा सेटिङ गरि नीतिगत भ्रष्टाचार गरेर मुलुकलाई अहिलेको अवस्थामा ल्याउने एउटा प्रमुख पात्र दीपक भट्ट भएको दाबी गरिएको छ । नेपालको सुरक्षा निकायको बन्दोबस्तीका सामग्री तथा हातहतियार आपूर्तिमा सेटिङ, जलस्रोत क्षेत्रमा सेटिङ, बीमा तथा वित्तीय क्षेत्रमा सेटिङ, नेपाल प्रहरी र सार्वजनिक प्रशासन क्षेत्रमा सेटिङ गरी अघि बढेको दाबी गरिएको छ ।

उजुरीमा भनिएको छ, ‘दीपक भट्ट तिनै विचौलिया हुन्, जसको सेटिङमा केपी ओली नेतृत्वमा सरकार बन्यो । भ्रष्टाचारका लागि तीन नीतिगत निर्णय गराए, एक सय जना भन्दाबढी कर्मचारी आफ्नो सेटिङमा राखे ।’ यसबीचमा उनले १० खर्ब गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी जेनजी अलायन्सले गरेको छ । 

‘तथ्यहरूले भन्छ, उनले यसबिचमा करिब १० खर्ब गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेका छन् । उनीमाथि छानविन गरेर कारबाही नगरिएसम्म हामी नेपाली नवयुवाहरूले खोजेको परिवर्तन र रुपान्तरण असम्भव छ’ उजुरीमा उल्लेख छ ।

उजुरीमा भट्टले सबै ठूला सरकारी काम आफैले गर्ने  गरेको, एक दशकमा ६६ वटा ठूला ब्यापार र ठेक्का आफ्नो हातमा लिएको आरोप जेनजी अलायन्सको छ । डेडिकेटेड र ट्रंकलाइनअन्तर्गत बक्यौता विद्युत महसुल नतिर्ने  गरी योजना निर्माण गरेको आरोप पनि अलायन्सले उनीमाथि लगाएको छ । कोरोना महामारीका बेला अनियमितता गरेको, माथिल्लो त्रिशुली–३ ए जलविद्युत् आयोजनामा चलखेल गरेको लगायतका आरोप पनि उजुरीमा छ ।

जेनजी अलायन्सले भट्टको सबै गैरकानुनी सम्पत्ति जफत गरेर पुनर्निर्माणका लागि प्रयोग गर्नुपर्ने भन्दै अख्तियारमा उजुरी दर्ता गरेको हो । यो उजुरी प्रधानमन्त्री सुशिला कार्की, अर्थ मन्त्रालय, सन्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, गृहमन्त्रालय र नेपाल प्रहरीलाई बोधार्थ दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्