नेभिगेशन
दृष्टिकोण

कांग्रेसको जिम्मेवार र परिपक्व कदम

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकलाई उत्सुकताका साथ हेरिएको थियो । संसद् विघटन हुनुअघिसम्म नेपाली कांग्रेस देशको एक प्रभावशाली दलका रूपमा रहेको थियो । अहिले पनि नेपाली कांग्रेसलाई कम आँक्न सकिने अवस्था छैन । 

जेनजी आन्दोलनमा कांग्रेसका नेता, कार्यकता तारोमा परेका थिए । सभापति देउवा आफैं घाइते अवस्थामा थिए भने पार्टीका कार्यकर्ताहरू विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानमा संलग्न थिए र सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने माग उनीहरूले राख्दै आएका थिए ।

मंगलबारको केन्द्रिय समितिको बैठकमा सभापति देउवाले पार्टी एकता र समन्वयको आवश्यकतामा जोड दिँदै कार्यवाहक सभापतिमा पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन् । अर्थात उनी अब पार्टीको कारकारीको हैसियतमा छैनन् । देउवाको यो कदमको सबैतर्फबाट स्वागत गरिएको अवस्था छ । 

किनभने जनेजी आन्दोलन र त्यसपछि बनेको माहोलले पार्टीका पुराना नेताहरूको अवकाश चाहेको थियो । कांग्रेसमा पनि देउवाले पद त्याग्नुपर्ने मागलाई प्रखर बनाइएको थियो, विशेषगरी युवा नेताहरूबाट । आजको बैठकमा देउवाद्वारा अभिव्यक्त मन्तव्यमा उनले पदप्रतिको आशक्ति राखेको देखिएन । 

उनले देशको विषम अवस्थाको हवाल दिँदै कार्यकाल लम्ब्याउनेतर्फ आफ्नो कुनै रुचि नभएको प्रष्टपार्दै पार्टीको विधानअनुसार आउँदो मंसीरमा पद त्याग्नेतर्फको संकेत गरे । पार्टी विधानअनुसार पनि अबको मंसीरमा सभापतिको कार्यकाल सकिनेछ र विशेष परिस्थिति भएको अवस्थाबाहेक हालको कार्यसमितिले निरन्तरता पाउने अवस्था छैन । 

तर, फागुनमा हुने निवार्चनको माहोल बिग्रेला कि भन्ने आशंकामा पार्टी महाधिवेशन के हुन्छ त्यो पछिका दिनमा थाहा होला । तर अहिलेलाई बैठकमा देउवाले राखेको अर्को कुरा के मननीय छ भने अब देश निर्वाचनमा जानुपर्छ, त्यसका लागि सरकारले माहोल बनाउनु पर्छ । कांग्रेसको यो निर्णयलाई परिपक्व र जिम्मेवार निर्णय मान्नुपर्छ । 

देशमा जे नहुनुपर्ने उत्पाद भयो त्यसको परिपूर्ति अब नयाँ जनादेश लिएर आउने सरकारले सम्बोधन गर्दै जानुपर्ने देखिन्छ । यद्यपि, जेनजी आन्दोलनमा मानवअधिकार हनन भएको अवस्थामा आकर्षिक हुने कानुनी कारबाहीलाई अघि बढाउँदै सुशासन कायम गरी भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मा भने मुख्यतः अन्तरिम सरकारकै हो ।

कांग्रेसको निर्णयबाट के संकेत मिलेको छ भने जेनजी आन्दोलनको सन्देशलाई कांग्रेसले केही अंशमा भए पनि आत्मसात् गरेको छ । किनभने अग्रभावमा जेजनी आन्दोलन भए पनि सर्वसाधारण जनता र आम कार्यकर्ताले सबै पार्टीको पुनर्गठनको माग यसकारण पनि गरेका थिए कि पुरातन नेतृत्वले परिवर्तनको आकांक्षालाई पुरा गर्न सकेका थिएनन् । 

यसतर्फ कांग्रेसले सकारात्मक कदम चाल्दै पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणका लागि मार्ग प्रशस्त गरेको दह्रो संकेत गरेको छ । अब यही बाटोमा अरु दलले पनि गम्भीरताका साथ लाग्नुपर्ने देखिन्छ र भयरहित वातावरणमा ताजा जनादेश लिनु नै देशको मार्गचित्र हुनुपदर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्