नेभिगेशन
प्रदेश

परेवा बेचेर मन्दिरले कमायो दुई लाख

रौतहट, २९ असोज - रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक स्थल पौराई ब्रह्मस्थान मन्दिरले परेवा बिक्रीबाट आर्थिक वर्ष २०८१-८२ मा रु. २ लाख १ हजार ९६५ आम्दानी गरेको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरू भाकल पूरा भएपछि परेवा, बोका, हाँस, कुखुरा आदि चढाउने परम्परा अनुसार परेवाको बलि दिने गर्छन् । 

पछिल्ला वर्षहरूमा धेरै भक्तजनले मन्दिरमै परेवा किनेर चढाउने गरेकाले, पौराई ब्रह्मस्थान निर्माण सुधार संघले व्यवस्थितरूपमा परेवा बिक्री वितरण गर्दै आएको छ । संघका अध्यक्ष रामशरण तिमल्सिनाका अनुसार, अघिल्लो वर्ष (२०८०-८१) मा परेवा बिक्रीबाट ५७ हजार ५०० रुपैयाँ आम्दानी भएकोमा, यो वर्ष आम्दानी झण्डै चारगुणा बढेको छ ।

उनका अनुसार, मन्दिर परिसरमा बनाइएका साना खोरहरू हटाएर ठूला र व्यवस्थित परेवा खोर निर्माण गरी परेवा पालन विस्तार गर्ने योजना रहेको छ । ‘यो कार्य सफल भएमा मन्दिरको आयआर्जनमा थप योगदान पुग्नेछ,’ उनले भने ।

स्थानीय लक्ष्मण न्यौपानेले परेवा बलिको परम्परामा आएको परिवर्तनबारे बताउँदै भने, ‘पहिला परेवा काटेर बलि दिने चलन थियो, तर अहिले धेरैजसो भक्तजनहरूले परेवा उडाएर देवीलाई समर्पण गर्ने गरेका छन् । हामी पनि भक्तजनलाई नकाटी उडाउन प्रेरित गर्दै आएका छौं ।’ 

पौराइ ब्रह्मस्थान मन्दिर नेपालको पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुर राणासँग जोडिएको ऐतिहासिक किम्वदन्तीमा आधारित छ । कथन अनुसार, शिकार खेल्न आएका बेला उनका सैनिकहरू हात्ती र घोडासहित हराएपछि, सपनामा देवीले मन्दिर निर्माणको आदेश दिएको विश्वास गरिएको छ । सोही अनुसार जङ्गबहादुरले मन्दिर निर्माण गराएको र त्यसपछि हराएका सैनिकहरू फिर्ता भएको जनविश्वास छ ।

विशेषगरी शनिबार, सोमबार, नवरात्री तथा श्रावण महिनामा मन्दिरमा भक्तजनहरूको ठूलो घुइँचो लाग्ने गर्दछ । भारतका सीमावर्ती क्षेत्रबाट समेत दर्शनार्थी आउने गरेका छन् । संघले परेवा बिक्रीबाट भएको आम्दानी मन्दिरको संरचना विकास र व्यवस्थापनमा खर्च गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्