नेभिगेशन
नेपाल

निर्वाचन आयोगलाई दलहरूको प्रश्न, ‘चुनाव हुन्छ ?’

काठमाडौं, ३० असोज - राजनीतिक दलहरूले निर्वाचन आयोगलाई सोधेका छन्, ‘यही अवस्थामा चुनाव हुन सक्छ ? भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि सुरक्षा अवस्था निकै नाजुक हुँदै गैरहेको बेला दलहरूले चुनावबारे आयोगलाई प्रश्न गरेका हुन् । प्रतिनिधिसभा विघटन गरी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारले चुनाव घोषणा गरेको एक महिनापछि निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको हो ।

आयोगले विहीबार पहिलोपटक डाकेको छलफलमा नेताहरूले चुनावको वातावरण बन्न नसकेको र चुनावप्रति विश्वस्त नभएको टिप्पणी गरेका छन् । आफूहरू चुनावमा जान तयार रहेको तर, अहिलेको अवस्थामा वातावरण नहुँदा चुनाव हुन नसक्ने दाबी गरेका छन् । विहीबार छलफलका लागि पुगेका राजनीतिक दलहरूले एकै स्वरमा ‘अहिले चुनावको वातावरण छ त ?’ निर्वाचन आयोगलाई प्रश्न गरेको छलफलमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।

दलहरूले चुनावको विरोध गरेका छैनन् तर, यो त्रसित अवस्थामा चुनाव हुनेमा विश्वस्त हुन सकेका छैनन् । यही अवस्था रहिरहेमा चुनाव हुन नसक्ने देखिएको छ । किनकि राजनीतिक दल नै चुनावका लागि आश्वस्त हुन सकेका छैनन् ।

‘सबैको एउटै मुख थियो । निर्वाचनको वातावरण छ त ? निर्वाचन गर्नसक्ने आधार के छन् ?’ सबैको एउटै प्रश्न रहेको उनले बताए । नेता पाण्डेका अनुसार छलफलको क्रममा भदौ २४ मा ८ हजार कैदी जेलबाट भागेका, प्रहरीका १२ सय बन्दुक हराएका छन् । प्रहरीका पोशाक खोसिएका छन् । यस्तो त्रासपूर्ण अवस्थामा निर्वाचनको वातावरण बन्ला ? भन्ने प्रश्न गरिएको थियो ।

देशभरका प्रहरी चौकी ध्वंश भएका छन् । कुनै ठाउँमा घटना घट्यो भने प्रहरी बोलाउँदा नजिकका इष्टमित्र बोलाएर काम गर्दै गर्नु हामी साधन पाएपछि आउँछौं भन्ने जवाफ दिने गरेका छन् ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले संसद विघटनसहित आगामी फागुन २१ का लागि निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले पहिलो पटक बोलाएको हो । आयोगले राजनीतिक दलसँग कुनै परामर्श नगरी चुनावको कार्यतालिकासमेत दुई साताअघि नै सार्वजनिक गरेको थियो । आयोगले कार्यतालिका सार्वजनिक गर्दा चुनावका मुख्य सरोकारवाला दलसँग समन्वय नगरेको भन्दै आलोचनासमेत भएको थियो ।

विहीबार आयोगमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका २७ दल सहभागी रहेका थिए । आयोगले २९ वटा राजनीतिक दललाई छलफलमा बोलाएको थियो ।

दलहरूले आयोगलाई उल्टो बाटो हिँडिरहेको भन्दै टिप्पणी गरेका थिए । चुनाव घोषणा भएसँगै जिम्मा पाएपछि राजनीतिक दललाई बोलाएर छलफल गरेर मात्रै कार्यतालिका निकाल्नुपर्ने बताएका थिए । नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधिले पार्टीको बैठक चलिरहेको भन्दै आफ्ना कुरा राखेर बाहिरिएका थिए ।

निर्वाचन आयोगका कार्यकारी प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पनि दलहरूसँगको छलफलमा पूर्ण तयारीबारे कुनै कार्यक्रम पेश गर्न सकेनन् । आयोगले सामान्य तयारी गरेको नदेखिएको दलका नेताहरूले बताएका छन् ।

‘आयोगले निर्वाचन हुनेगरी कुनै कार्यक्रम पनि पेश गरेन,’ एक अर्का नेताले भने, ‘आयोगले यस अघि नै ल्याएको सामान्य कार्यतालिका बाहेक केही पनि प्रस्तुत गर्न सकेन । निर्वाचन हुनेगरी व्यवस्थित कुरा आउन सकेन ।’

दलहरूले छलफलमा सरकारलाई उपस्थित गराएर सुरक्षा निकायलाई उपस्थित गराएर निर्वाचनको सुनिश्चितता गराउनुपर्ने सुझाव दिएका थिए । कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले तिहारपछि सरकारसमेतलाई राखेर दलहरूलाई छलफलमा बोलाउने र चुनावमा सहभागी हुने वातावरण बनाइदिन आग्रहसमेत गरेका थिए ।

साना दलले निर्वाचन आयोगले पक्षपातपूर्ण काम गरेको आरोप लगाएका थिए । आयोग सरकारको पछिपछि हिँडेको र दलहरूलाई बेवास्ता गरेको आरोप लगाएका थिए । यसअघि पनि सत्तासीन ठूला दलले जे भन्यो त्यही मान्ने गरेको र साना दललाई बेवास्ता गर्ने गरिएको टिप्पणी गरेका हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका थिए ।

जेनजीका डरले सरकारले सिंहदरबारमा दलहरूलाई राखेर बैठक बोलाउन नसकेको प्रधानमन्त्री कार्कीसमक्ष बताएका थिए । ‘जेनजीका डरले सिंहदरबारमा दलहरूलाई नबोलाएको’ भन्दै प्रधानमन्त्रीलाई घेरेका थिए । जेनजी आन्दोलनकारी हो माग पूरा हुनुपर्छ । 

राजनीतिक दलहरूसँगको छलफल बेगर कसरी चुनाव हुन्छ भन्ने प्रश्न उठाएका थिए । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने, गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई निर्वाचन तयारीबारे छलफलमा बोलाएको थियो ।

छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा एमालेका उपाध्यक्ष गुरु बराल, नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत २७ दलका प्रतिनिधि छलफलमा आयोग पुगेका थिए । यता निर्वाचन आयोगका अनुसार छलफलमा कावा प्रमुख आयुक्त भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्