सप्तरी, ३० असोज - दशैं सकिएसँगै तिहार नजिकिँदै गर्दा सप्तरीका सीमा नाकाबाट दैनिकरूपमा एक करोड रुपैयाँभन्दा बढी नेपाली रकम भारतीय बजारतर्फ गइरहेको छ । खुला सीमा, सस्तो मूल्य र नेपाली रुपैयाँमै किनमेल गर्न पाइने सुविधाका कारण नेपाली उपभोक्ताहरू भारतीय बजारतर्फ आकर्षित भइरहेका छन् ।
विशेषगरी सप्तरीको पूर्वी नाका तिलाठी हुँदै भारतको कुनौली बजारमा दैनिक तीन हजारभन्दा बढी नेपाली उपभोक्ता किनमेलका लागि पुग्ने गरेको स्थानीयको भनाइ छ । करिब ३०० भन्दा बढी पसल रहेको उक्त बजार नेपाली ग्राहकले खचाखच भरिने गर्छ । 
स्थानीय उपभोक्ता वैद्यनाथ यादव भन्छन्, ‘समान सस्तो पाइन्छ, महिनामा तीन–चार पटक जान्छु, कम्तीमा १२–१५ हजार रुपैयाँ खर्च हुन्छ । नेपालमा त्यही सामान महँगो पर्छ ।’ उनले भारतीय बजारमा नेपाली रुपैयाँमै सामान किनमेल गर्न सकिने भएकाले सहजता भएको बताए ।
राम नारायण झा भन्छन्, ‘दैनिक दुई–तीन हजार बढी मान्छे तिलाठी नाकाबाट कुनौली बजार जान्छन् । औसतमा दुई हजार खर्च गरे पनि ६० लाख रुपैयाँभन्दा बढी दैनिक सो बजारमा पुग्छ । चाडपर्वको बेलामा यो रकम करोड नाघ्छ ।’
अन्य नाकाबाट पनि लाखौंको कारोबार तिलाठी मात्र नभई सप्तरीका अन्य सीमा नाका सखडा, बेल्ही, बनैनियाँ, पातोलगायत दर्जनौं ठाउँबाट पनि नेपाली उपभोक्ता भारतीय बजारमा किनमेलका लागि जाने गरेका छन् । यी नाकाबाट पनि दैनिक लाखौं रुपैयाँ बराबरको नेपाली मुद्रा भारत पुग्ने गरेको छ ।
अवैधरूपमा फर्कने पैसा भारतीय बजारमा नेपाली रुपैयाँ स्वीकृत नभएपछि ती रकम फेरि अवैध रूपमा नेपाल फर्काउने गरिन्छ । स्रोतका अनुसार व्यक्तिहरूलाई कमीशन दिएर दुई–तीन लाख रुपैयाँ झोलामा हालेर नेपाल पठाउने गरिएको छ । यस्ता अवैध गतिविधिहरू बेला–बेला सीमामा फेला परे पनि नियन्त्रणमा आउन सकेका छैनन् ।
राजविराज भन्सार कार्यालयका अनुसार पछिल्ला दुई आर्थिक वर्ष (२०८०/८१ र ८१/८२) मा स्रोत नखुलेको २२ लाख ६५ हजार रुपैयाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीले जफत गरिसकेका छन् । तीमध्ये तीन वटा मुद्दामा प्रमाण नपुगेपछि र कम जफत भइसकेको र दुई मुद्दा प्रक्रियामा रहेको जानकारी कार्यालयका सूचना अधिकारी विजय कुमार साहले दिएका छन् ।
कमजोर नियमन र खुला सीमा विशेषज्ञहरूका अनुसार मुख्य नाकाभन्दा पनि अनौपचारिक र साना नाकाबाट यस्तो कारोबार बढी हुने गरेको छ । तर नियामक निकायहरू अझै पर्याप्त सक्रिय नभएको कारण सीमा क्षेत्रमा हुने यस्ता आर्थिक गतिविधि नियन्त्रण बाहिर गइरहेका छन् । यस्तो अवस्थाले नेपाली बजार र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने खतरा छ ।