नेभिगेशन
नेपाल

आगजनीको क्षति विवरण पठाउन आग्रह

काठमाडौं । भदौ २३ र २४ को जेनजी पुस्ताको प्रदर्शनमा घटेका भौतिक एवं मानवीय क्षतिबारे सत्यतथ्य पत्ता लगाउन बनेको जाँचबुझ आयोगले क्षतिको विवरण आफै पठाउन आग्रह गरेको छ । शुक्रबार बसेको आयोगको वैठकले सरकारी, निजी कार्यालय, भवनमा भएको क्षतिको विवरण नपठाएको भए पठाउन पुनः आग्रह गरेको हो ।

साथसाथै सरकारका सचिव गोकर्णमणि दुवाडीलाई उपत्यका छोड्न नपाउने निर्णय फुकुवा गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी ओली शर्मालगायत पाँचजनालाई एकैपटकमा उपत्यका छोड्न रोक लगाउँदै यस अघि गरेको निर्णय एकजनालाई मात्रै फुकुवा गरेको हो । 

जेनजी आन्दोलनको क्रममा दुवाडी गृह मन्त्रालयको सचिव रहेका थिए । उनी छानबिनको दायरामा रहेकाले बयानका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भन्दै सात दिनका लागि उपत्यका बाहिर जान पाउने गरी निर्णय गरेको हो । दुवाडी विदेश भने जान पाउने छैनन् । 

उनलाई सार्वजनिक संरचनाको पुननिर्माण योजना तयार गर्न गठित समितिको संयोजकको हैसियतले आन्दोलनको क्रममा भएका क्षति मूल्यांकनका लागि सातै प्रदेशमा स्थलगत अवलोकन गर्नुपर्ने भएकाले फुकुवा गरिएको स्पष्ट पारेको छ ।

आयोगले ‘सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालय, उद्योग व्यवसाय, व्यापारिक संस्था, राजनीतिक दल, विभिन्न कार्यालय, व्यक्तिगत सम्पत्ति हानी नोक्सानीमा भएको क्षतिको विवरण पठाउन आग्रह,’ गरेको छ । यस अघि पनि आग्रह गरेको र विवरण पठाउन बाँकी रहेको भएमा पठाउन भनेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्