नेभिगेशन
नेपाल

टीओडी मिटरको रिपोर्टबिना २६ उद्योगले बक्यौता नतिर्ने

काठमाडौं, १ कात्तिक - नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरको प्रिमियमसहितको विद्युत् महसुल बक्यौता तिर्न दिएको २१ दिनको समयसीमा सकिन लाग्दा २६ उद्योगका सञ्चालकले नतिर्ने अडान राखेका छन् । 

शनिबारसम्म ९ उद्योगले प्राधिकरणका सम्बन्धित वितरण केन्द्रको सम्पर्कमा आई किस्ताबन्दीमा विद्युत् महसुल बक्यौता तिर्न सुरु गरेका छन् । तर धेरै विद्युत् बक्यौता भएका उद्योगका सञ्चालकहरूले देशमा लोडसेडिङ भएका बेला प्रिमियम दरको महसुल लाग्ने मापदण्डभित्र रहेर विद्युत् उपयोग गर्न नपाएको दाबी गर्दै नतिर्ने अडान राखेका हुन् ।

उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई पत्र लेखी विद्युत् प्राधिकरणले प्रमाण दिएमात्र विद्युत् बक्यौता तिर्ने बताएका छन् । ‘हाम्रो माग भनेको महसुलमा छुट दिलाइ पाऊँ भन्ने होइन । उद्योग सञ्चालनको लागि ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् प्रदान गरिएको तथ्यको प्रमाण दिएर ४० अर्ब रुपैयाँसम्म भए पनि हामी तिर्न तयार छौं,’ उद्योगीले प्रधानमन्त्री कार्कीलाई लेखेको पत्रमा भनिएको छ ।

उद्योगीहरूले विद्युत् प्राधिकरणले टाइम अफ डे (टीओडी) मिटरको डाटा दिएर त्यसमा भएको प्रमाणका आधारमा मात्रै विद्युत् बक्यौता तिर्ने तर, तथ्यांकबिना नै विद्युत् महसुलको बिल पठाएर पैसा मागे तिर्न नसकिने उनीहरूको भनाइ छ । ‘हामीले विद्युत् प्राधिकरणले टीओडी मिटरबमोजिमको सर्त पूरा गरेमा महसुल बक्यौता रकम सबै तिर्ने हाम्रो विगतदेखिकै प्रतिबद्धता हो,’ उद्योगीको पत्रमा भनिएको छ ।

प्रिमियम दरको महसुल लाग्ने मापदण्डभित्र रहेर विद्युत् खपत गरेको प्रमाण विद्युत् प्राधिकरणले नदिए बक्यौता तिर्न नसकिने र जबर्जस्ती असुल गर्न खोजिएमा उद्योगको तालाचाबी सरकारलाई बुझाउने चेतावनी पनि उनीहरूले दिएका छन् । 

प्रधानमन्त्री कार्कीलाई पत्र लेख्ने उद्योगहरूमा जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक, निगाले सिमेन्ट, सोनापुर मिनरल्स एन्ड आयल्स, त्रिवेणी स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अशोक स्टिल, मारुती सिमेन्ट, अर्घाखाँची सिमेन्ट, हुलास स्टिल, शिवम् सिमेन्ट, हामा आइरन, कसमस सिमेन्ट, घराना फुड्स, गोयन्का फुड्स, एभरेस्ट रोलिङ, एसआर फुड्स, एसआर स्टिल, सिद्धार्थ पेट, श्याम प्लास्टिक, पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक र भलबारी चामल उद्योग छन् । 

विद्युत् प्राधिकरण सञ्चालक समितिले ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत् महसुल उठाउने निर्णय गरे लगत्ती असोज १२ गते सार्वजनिक सूचना जारी गरी २१ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको थियो ।

विद्युत् प्राधिकरणले उद्योगीलाई तिर्न दिएको समय सीमा कात्तिक २ गते सकिँदैछ । यो अवधिभित्र महसुल बक्यौता भुक्तानी नगरे अटेर गर्ने उद्योगको लाइन काट्ने भनिसकेको छ । विद्युत् प्राधिकरणका अनुसार अहिलेसम्म ९ वटा उद्योग मात्रै किस्ताबन्दीमा विद्युत्को बाँकी बक्यौता तिर्न सम्पर्क आएका छन् । सम्पर्कमा आई महसुल बक्यौता तिर्न सुरु गरेका बाहेकका उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको तयारी छ ।

विद्युत् प्राधिकरणका अनुसार उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्म उपयोग गरेको डेडिकेटेड फिडर र ट्रंक लाइनमार्फतको विद्युत् महसुल बक्यौता रकम बुझाउन बाँकी छ । उद्योगीले तिर्नुपर्ने विद्युत् बक्यौता रकम २६ अर्ब बढी पुगिसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्