नेभिगेशन
प्रदेश

पर्सामा बत्तिले सिंगारियो छठ घाट

वीरगंज, ८ कात्तिक - पर्सा जिल्लामा हिन्दु धर्मावलम्बीको आस्था, निष्ठा र कठोर व्रतको पर्व छठपूजा नजिकिँदै गर्दा तयारी तीव्र गतिमा भइरहेको छ । चार दिनसम्म मनाइने यस पर्वका लागि जिल्लाभरका नदीनाला, पोखरी र तलतलैयाहरूलाई स्थानीयवासीले सर सफाइ र आकर्षक सजावट गर्दै  ‘छठघाट’ का रूपमा तयार पारिरहेका छन् ।

सूर्यदेवको आराधना र जल–अग्नितत्वप्रतिको कृतज्ञता स्वरूप मनाइने यो पर्वलाई सामाजिक सद्भाव र छुवाछुत–जातीय विभेदविरुद्धको प्रतीकका रूपमा पनि लिइन्छ । स्थानीयहरू आफै अग्रसर भएर घाटहरू सिंगार्दै छन्, जसले यस पर्वको सामुदायिक एकता झल्काउँछ ।

तराई क्षेत्रमा छठपर्व केवल धार्मिक मात्र नभई भावनात्मक र सांस्कृतिक उत्सवका रूपमा विशेष महत्व राख्छ । अस्ताउँदो र उदीयमान सूर्यलाई अर्घ दिने परम्परासँग जोडिएको यो पर्वका लागि हाल वीरगंजका प्रमुख पोखरी र नदीघाटहरू दुलहीझै सिँगारिदै छन् ।

आकर्षक रूपमा सिँगारिदै घाटहरू

वीरगंज महानगरका घडिअर्वा पोखरी, नगवा पोखरी, छपकैया पोखरी, श्रीपुर, मुरलीपोखरी र रानीघाट लगायतका स्थानहरूमा स्थानीयवासी स्वयं सक्रिय भएर व्यवस्थापनमा जुटेका छन् । पछिल्ला वर्षहरूमा छठघाट सजावटमा प्रतिस्पर्धाझै देखिन थालेको छ ।

धार्मिक र ऐतिहासिक दृष्टिले चर्चित घडिअर्वा पोखरीमा यसवर्ष पनि भव्य ढंगको सजावट हुँदै छ । छठपूजा व्यवस्थापन समिति घडिअर्वाका अध्यक्ष रोकशकुमार साहका अनुसार दाताहरूको सहयोग र चिठ्ठामार्फत संकलित र कमबाट प्रवेशद्वारदेखि पूजास्थलसम्म आकर्षक सजावट गरिदै छ ।

भक्तजन र व्रतालुहरूको बढ्दो संख्या

छठी माताप्रति श्रद्धा र आस्था बढेसँगै वीरगंजमा व्रतालुहरूको संख्या वर्षैपिच्छे बढ्दै गएको छ । अहिले महानगर क्षेत्रमा मात्रै करिब तीन दर्जनभन्दा बढी छठघाटहरू सञ्चालनमा छन् । घडिअर्वापछि सबैभन्दा प्रसिद्ध स्थल भने आदर्शनगर स्थित स्विमिङ पुल परिसर हो, जहाँ गत १८ वर्षदेखि निरन्तर रूपमा छठपूजा हुँदै आएको छ ।

छठपूजा व्यवस्थापन समिति स्वीमिङ पुलका अध्यक्ष मुकेश कुमार वर्माका अनुसार स्थानको अभावले अन्यत्र स्थानान्तरण गर्न कठिन भएकाले यस क्षेत्रलाई विकल्पको रूपमा चयन गरिएको हो ।

सुरक्षा व्यवस्था कडा

अत्यधिक भीड हुने अनुमान गरिएको घडिअर्वा पोखरी छठघाटमा यस वर्ष विशेष सुरक्षा व्यवस्था मिलाइने भएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार शनिबार बसेको सुरक्षा समितिको बैठकले पूर्ण सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।

प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार, ‘छठका सबै घाटहरूमा प्रहरी बल परिचालन गरी जनसुरक्षामा कुनै सम्झौता हुने छैन ।’ पछिल्ला अपराधी गतिविधि र फरार अभियुक्तहरूको अवस्थालाई मध्यनजर गर्दै  सुरक्षा निकाय यस वर्ष अझ बढी सतर्क रहने तयारीमा छ ।

मौलिकता र एकताको प्रतीक

छठपर्व अब केवल तराईको पर्व मात्र नभई राष्ट्रिय चाडका रूपमा फैलिँदै गएको छ । यद्यपि, यसको मौलिकता र संस्कृतिको गहिरो अनुभूति भने तराईमै बढी देखिन्छ । यसैले हरेक वर्ष देशका विभिन्न स्थानमा बसोबास गर्ने  तराईवासीहरू यो अवसर मा आफ्नो गाउँ फर्किने परम्परा कायम राख्दै आएका छन् । 

चार दिनसम्म मनाइने यो पर्व निष्ठा, पवित्रता र प्रकृतिप्रतिको सम्मानको अद्भुत संगम हो , जसले पर्साको समाजमा पुनः एकता, सहयोग र सद्भावको सन्देश फैलाइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्