नेभिगेशन
नेपाल

सरकारलाई मन्त्री छान्नै सकस

काठमाडौं, ९ कात्तिक - जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई पूर्णता दिन निकै कठिन देखिएको छ । सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले डेढ महिनासम्म मन्त्रीमण्डललाई तेस्रोपटकमा पनि पूर्णता दिन नसक्दा सातवटा मन्त्रालय प्रधानमन्त्रीकै जिम्मेवारीमा राखिएका छन् ।

आइतबार दुईजना नयाँ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा गौतम र युवा तथा खेलकूद मन्त्रीमा बब्लु गुप्तालाई जिम्मेवारी दिइएको छ । योसँगै अन्तरिम सरकारमा १० जना मन्त्री बनेका छन् । प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव तोकिएको छ । सरकारले चुनावको वातावरण बनाउनेमा ध्यान नदिएको टिप्पणी हुन थालेका छन् ।

चुनावका लागि पहिलोपटक राजनीतिक दलसँग गतसाता सरकारले छलफल गरेको थियो । राजनीतिक दलहरू चुनावका लागि सुरक्षाको वातावरण नभएको बताउँदै आएका छन् । परराष्ट्र, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति तथा नागरिक उड्डयन, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री कार्कीको जिम्मेवारीमा छन् ।

बालुवाटार स्रोतका अनुसार महत्वपूर्ण दुई मन्त्रालय परराष्ट्र र रक्षा प्रधानमन्त्री कार्कीले आफै सम्हाल्ने योजना बनाएकी छन् । नेपाली सेनासँग सरोकार राख्ने रक्षा र कूटनीति सम्बन्धी परराष्ट्र मन्त्रालय भएकाले आफूले विश्वास गर्न सक्ने मान्छेले अस्विकार गर्दा आफूले नै राख्ने सोचमा रहेको बताइएको छ । कार्कीले मन्त्री पदका लागि अफर गरेका व्यक्तिले अस्विकार गर्ने र स्वीकार गरेकाहरू विवादित बन्ने गरेका कारण पनि महत्वपूर्ण केही मन्त्रालयको नेतृत्व खाली छन् । मन्त्री छान्दा सामाजिक सञ्जालमा चर्चित अनुहारहरूलाई प्राथमिकता दिने नीतिले समस्या देखिएको हो ।

भदौ २७ गते प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएकी कार्कीले ११ सदस्यीय सानो मन्त्रीमण्डल बनाउने बताएकी थिइन् । उनले भनेबमोजिम मन्त्रीमण्डल गठनमा निकै सकस देखिएको छ । किनकि मन्त्रीमा छानिएका व्यक्ति विवादित बन्दा तेस्रोपटक पनि पूर्णता पाउन सकेन ।

प्रधानमन्त्री कार्कीले शनिबार बेलुकी राष्ट्रपतिकहाँ चारजना डा. सुधा शर्मा, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता मन्त्री पदमा नाम सिफारिस गरेकी थिइन् । मन्त्री बन्नेहरूको नाम सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा विवाद शुरु भएको थियो । विवादित बनेका दुई जना श्रेष्ठ र सुनारको नाम काटेर शर्मा र गुप्ता मन्त्रीको शपथ लिएका हुन् । सुनार विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका र उनी प्रहरीको सूचीमा फरार अभियुक्त भएको खुलेको थियो । उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुर मुद्दामा काभ्रेपलान्चोलक जिल्ला अदालतले पक्राउका लागि गत साउन ५ मा अनुमति दिएको थियो । त्यो विषय सामाजिक सञ्जालमै प्रकाशित भएको थियो ।

श्रेष्ठलाई शुरुमा पर्यटन मन्त्रालयका लागि सुनिश्चित गरिएको थियो । पछि उनको नाम भूमिसुधार मन्त्रालयका लागि सारिएको थियो । उनले अर्को मन्त्रालय फेरेको जानकारी पाएपछि मन्त्रीको शपथ लिन श्रेष्ठले अस्वीकार गरेको बताइएको छ । यस अघि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा. संगीता मिश्रालाई मन्त्रीमा सिफारिस गरिएको थियो । भ्रष्टाचारको कसुरमा अनुसन्धानमा परेका व्यक्तिलाई सरकारले मन्त्री बनाउन छनोट गर्दा विवादित बनेको थियो । उक्त जानकारी पाएपछि कार्कीले मिश्रालाई मन्त्री बन्नबाट रोकेकी थिइन् । मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरिसकेको छ ।

कार्कीले शुरुमा मन्त्रिमण्डलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाससहित तीनवटा मन्त्रालय कुलमान घिसिङलाई र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएकी थिइन । दोस्रोपटकको मन्त्रिपरिषद् विस्तारपछि अर्याललाई गृह मन्त्रालयको मात्रै जिम्मेवारी दिइएको हो ।

दोस्रो चरणमा असोज ६ गते प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल विस्तार गरेकी थिइन् । सर्वोच्च अदालतका पूर्व न्यायाधीश अनिलकुमार सिन्हालाई तीनवटा मन्त्रालयको जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति, कानून न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण दिइएको थियो । महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियारलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी दिइएको थियो । स्वास्थ्य मन्त्रीमा मिश्राको नाम रद्द गरिएको थियो । 

‘काम गरेर देखाउँछौं’

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम पदभार ग्रहण गर्दै जेनजी आन्दोलनका घाइते तथा प्रभावितको लागि निःशुल्क मनोसामाजिक परामर्श गर्ने पहिलो निर्णय गरेकी छन् । आफूले विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्शका बारेमा छलफल गरी काम गर्ने बताएकी छन् । उनी पूर्वस्वास्थ्य सचिवसमेत हुन् । गौतम तत्कालीन स्वास्थ्यमन्त्रीहरू प्रदीप पौडेल, गगन थापाको सल्लाहकारका रुपमा काम गरेकी थिइन् ।

साथसाथै नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय र मातहतका सबै निकायका बैठकको प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गरेका छन् । आइतबार मन्त्रालयमा पदभार सम्हाल्दै गुप्ताले पहिलो निर्णयमा युवा तथा खेलकूद मन्त्रालय साथै यस मातहतका निकायका बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले बोलेर भन्दा काम गरेर देखाउनेसमेत बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्