वीरगंज, ९ कात्तिक - लोकआस्था र पवित्रताको पर्व छठ सुरु भइसकेको छ, तर वीरगंजको रानीघाट क्षेत्र हुँदै बग्ने सिर्सिया नदीको फोहोर र दुर्गन्धले यस वर्ष पनि व्रतालुहरूलाई दुःखको सामना गर्न बाध्य बनाएको छ । नदी किनारका उद्योगहरूको बेइमानी र स्थानीय प्रशासनको कमजोरीका कारण एक समय निर्मल बग्ने सिर्सिया आज नाला र ढलमा परिणत भएको छ ।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि छठ पर्वका अवसरमा नदीमा प्रशोधित पानी मिसाउने प्रशासनिक निर्देशन दिइएको थियो । तर, उद्योगहरूले निर्देशनलाई बेवास्ता गर्दै आफ्ना फोहोर रासायनिक पदार्थहरू सिधै नदीमा बगाएको स्थानीयको आरोप छ । फलस्वरूप, व्रतालुहरू फोहोर र कालो पानीमै सूर्य अर्घ दिन बाध्य भएका छन् ।
बाराको जितपुर–सिमरा उपमहानगरपालिकाको रामवनबाट सुरु भएको सिर्सिया नदी वीरगंज आइपुग्दा कालो र दुर्गन्धित बन्ने गर्छ । दशकौंदेखि चल्दै आएका उद्योग–कलकारखानाबाट निस्किने फोहोर र रासायनिक पदार्थले पवित्र नदीको रूप नै बिगारेको हो । स्थानीय वृद्ध–वृद्धा भन्छन्, ‘एक समय यो नदीको पानीले घाउ खटिरा निको हुन्थ्यो, अहिले त छालामा दाग पर्छ ।’
अहिले सिर्सिया नदी ढल र अतिक्रमणको चपेटामा मात्र छैन, बरु त्यसको फोहोर नियन्त्रण गर्ने प्रयास पनि नौकरशाहीको फाइलमा सीमित छ । सडकदेखि सदनसम्म पटक–पटक आवाज उठे पनि न उद्योग सुध्रिएका छन्, न नदीको रूप फिर्ता आएको छ । छठ पर्वमा महिलाहरू नदीमा पसेर सूर्यलाई अर्घ दिने चलन छ ।
यही कारण यो पर्वलाई ‘शुद्धता र पवित्रताको पर्व’ मानिन्छ । तर अहिलेको प्रदूषित पानीले व्रतालु महिलामा छालाजन्य रोगको डर बढाएको छ । रानीघाट छठ व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राठौर भन्छन्, ‘केहीदिन अघिसम्म सफा देखिएको नदी शनिबार रातिदेखि कालो र दुर्गन्धित बन्यो । पवित्र पर्वको बेला पनि नदी यस्तो हुनु उद्योगको अटेरीपन र प्रशासनको कमजोरीको परिणाम हो ।’
महानगरका अधिकारीहरूले नदीको अवस्था सुधार्ने आश्वासन दिए पनि, व्यवहारमा केही भएको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने, ‘हामीले उद्योगहरूलाई अनुगमन गरिरहेका छौं । छठपछि पुनः बैठक बसेर चेतावनी दिनेछौं ।’
केहीसमय अघी मात्रै वीरगंज महानगरपालिकामा सिर्सिया नदी सफाइ तथा संरक्षण सम्बन्धि बैठकमा सम्बन्धित सबै निकायले पुनः अनुगमन गर्ने र दोषी देखिए कारवाही गर्ने चेतावनी दिँदै उद्योगहरूलाई सचेत गराएको थियो । तर उद्योगहरूले प्रशासनको चेतावनी र निर्देशनलाई लत्याउदै मनोमानी गरिरहेको छ । यसले स्थानीय प्रशासनको क्षमतामाथि गम्भीर प्रश्न गरेको छ । स्थानीय बासिन्दा भन्छन्, ‘चेतावनी मात्रले नदी सफा हुँदैन ।’
यसैबीच, सिर्सिया नदी प्रदूषणको विषय सार्वजनिक भएपछि वीरगंज महानगरपालिकाले सफाइ अभियान तीव्र पारेको जनाएको छ । मेयर राजेशमान सिंहले पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरूलाई बोरिङमार्फत प्रशोधित पानी नदीमा मिसाउन निर्देशन दिएका छन् । दशैंताका आएको बाढीले नदी केही हदसम्म सफा भएको थियो ।
तर, त्यस अवसरमा उद्योगहरूले सहकार्य गरेका भए नदी अझै स्वच्छ बन्न सक्थ्यो । स्थानीयहरू सोध्छन् - ‘धार्मिक र सामाजिक कार्यमा करोडौं खर्च गर्ने उद्योगहरूले आस्था र निष्ठाको पर्व छठमा मानवताको सानो परिचय किन देखाउन सकेनन् ?’