नेभिगेशन
प्रदेश

नोटबन्दी गरिए निर्वाचन केही हदसम्म स्वच्छ हुन्छ : सीके राउत

सप्तरी, ९ कातिक - जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले निर्वाचनअघि नोटबन्दी गरे केही हदसम्म निर्वाचन स्वच्छ हुने बताएका छन् ।

सप्तरीको राजविराजमा आइतबार पत्रकार भेटघाटमा राउतले अहिले निर्वाचन अघि सरकारले नोटबन्दी गरे परिवर्तन देखिने बताएका हुन् । उनले नोटबन्दीले नयाँ युवाहरूलाई आश्वस्त गर्ने बताउँदै उनले यस्तो कदममा आफ्नो पार्टीले पनि सघाउने बताए ।

‘नेपाली अर्थतन्त्रमा अनौपचारिक तरिकाबाट पैसाको प्रवाह बढी भइरहेको छ, त्यही भएर डिमोनिटाइजेसन गरियो भने पुरै नभएपनि निर्वाचन केही हदसम्म स्वच्छ हुन्छ,’ उनले भने, ‘यो प्रस्ताव कसैले राख्छ भने त्यसमा हाम्रो समर्थन हुन्छ ।’

जनता समाजवादी पार्टी नेपालसँग जनमत पार्टीको कुनै द्वन्द नरहेको बताउँदै उनले आवश्यकता परे सहकार्य गर्न तयार रहेको बताए । माथिल्लो स्तरमा एकअर्का पार्टीसँग राजनीतिक एजेन्डामासँगै छलफल हुने गरेकाले धरातलमा काम गर्ने कार्यकर्तालाई पनि एकअर्का पार्टी कार्यकर्ताबीच विवाद नगर्न आग्रह गरे । जेनजी आन्दोलनको सोच सकारात्मक रहे पनि उनीहरूसँग रोड म्याप नरहेको राउतले टिप्पणी गरे । के गर्न खोजेको भन्नेमा जेनजीले आफै अन्यौलतामा रहेको उनले बताए ।

संसद् विघटन कानूनसम्मत नरहेपनि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा गराउनुपर्ने उनको धारणा छ । पुनः प्रतिनिधि सभा कायम गरिए आन्दोलनकारीको मनोभावनामा ठेस लाग्ने उनले भने । ताजा चुनावी म्यानडेडको लागि समयमै निर्वाचन गराउनुपर्ने बताएका छन् ।

ह्वाटस्याप र फेसबुकबाट प्रभावित युवाहरूले संघीयता नचाहिने भन्ने गरेको प्रति पनि उनले चिन्ता व्यक्त गरे । लहैलहैमा संघीयता विरोध नगरि विचार अध्ययन गरेर तर्कसँग कुरा गर्न समेत उनले आग्रह गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्