काठमाडौं, ११ कात्तिक - नागढुंगा सुरुङमार्ग सञ्चालन गर्न तोकिएको पछिल्लो तालिका प्रभावित हुने भएको छ । सुरुङमार्गको सम्पूर्ण निर्माण कार्य पूरा भइनसकेको र सञ्चालन गर्ने निजी कम्पनीको छनोट कार्य बाँकी रहेकाले यसअघि तोकिएको समयावधिभित्र सञ्चालन गर्न असम्भव देखिएको हो ।
यसअघि अंग्रेजी नयाँ वर्ष २०२६, जनवरी १ अर्थात २०८२ पुस २७ गतेदेखि सुरुङमार्गबाट यातायात आवागमन गर्ने तालिका बनाइएको थियो । सुरुङमार्गको धादिङतर्फको पश्चिम पोर्टलको पहिरो नियन्त्रण, टोल बुथ निर्माण लगायत काम बाँकी रहेको र व्यवसायिकरूपमा सुरुङमार्ग सञ्चालन गर्ने सेवा प्रदायक निजी कम्पनी छनोट गर्न बाँकी नै रहेकाले पुसदेखि व्यवसायिकरूपमा सञ्चालन गर्न सम्भव नदेखिएको आयोजनाले जनाएको छ ।
सुरुङमार्ग सञ्चालनमा आउने अवधि २ महिना धकेलिन सक्ने उप–आयोजना निर्देशक सञ्जय पन्थीले जानकारी दिएका छन् । ‘सुरुङमार्गको मुख्य भौतिक संरचनाहरू सबै निर्माण पूरा भइसकेका छन् । दशैं अगाडि सुरुङमार्गको पश्चिमतर्फको मुखैमा ठूलो पहिरो खसेको थियो,’ उनले भने,‘यो पहिरो व्यवस्थापन तथा यसको स्थायीरूपमा नियन्त्रण गर्ने कार्य नगरी सुरुङमार्ग व्यवसायिकरूपमा सञ्चालन गर्न सकिँदैन । निजी सेवा प्रदायक कम्पनी छनोट गर्ने काम पनि बाँकी नै रहेकाले अहिलेको अवस्थामा पुस १७ मा सुरुङमार्गबाट यातायात आवागमन सुरु गर्न सकिँदैन ।’
पहिरोले पश्चिम खण्डको सडक तथा टोल बुथमा क्षति पुगेको छ । क्षतिग्रस्त सडक तथा टोलबुथ निर्माण गर्न अहिले डिजाइन बनाउने काम भइरहेको पन्थीले जानकारी दिए । सुरुङमार्ग व्यवसायिकरूपमा सञ्चालनका लागि निजी सेवा प्रदायक कम्पनीको नियुक्त हुन बाँकी छ । आयोजनाले सुरुङमार्ग सञ्चालनका लागि आवश्यक अनुमानित लागतको स्वीकृति सडक विभागमा प्रस्ताव पठाएको छ । प्रस्ताव स्वीकृत भएलगत्तै सेवा प्रदायक निजी कम्पनी छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने पनि पन्थीले बताए ।
‘नागढुंगा सुरुङमार्ग सरकारले निर्माण गरेपछि व्यवसायिकरूपमा निजी कम्पनीलाई सञ्चालन गर्न दिइनेछ । बोलपत्र आह्वानको आवश्यक सबै कागजातहरू तयार भई स्वीकृत भइसकेका छन् ।' कुनै समस्या भएन भने अबको एक साताभित्रमा सेवा प्रदायक निजी कम्पनी छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान हुने उनले बताए । नेपालमा सुरुङमार्ग सञ्चालन गरेको अनुभवी निजी कम्पनी नभएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्न लागिएको पनि उनले बताए ।
लागत पाँच अर्ब ७० करोड बढ्यो
नागढुंगा सुरुङमार्गको संरचना निर्माण गर्न १६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो । यो लागत बराबरको रकम जापान सरकारले नेपाललाई सहुलियतपूर्ण ऋण दिएको छ । सरकारकोतर्फबाट भएको साढे ६ अर्ब रुपैयाँ रुपैयाँ बराबरको लगानी जग्गा अधिग्रहण गर्दा मुआब्जा वितरणमा खर्च भइसकेको छ ।
ठेकेदार कम्पनीको क्षतिपूर्ति दाबी, स्थानीयको अवरोधले निर्माण अवधि लम्बिएको लगायत कारणले लागत थपिने देखिएको पन्थीले बताए । उनका अनुसार सुरुङमार्ग निर्माण सम्पन्न गर्नका लागि पाँच अर्ब ७० करोड रुपैयाँ बराबरको लागत थपिएको छ । थपिएको लागत बराबरको सहुलियतपूर्ण ऋण जापान सरकारले दिँदैछ । जापान सरकारले दिने सहुलियतपूर्ण ऋण केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ ।
ठेक्का सम्झौताको म्याद तेस्रो पटक थपिँदै
जापानको आज्मा एन्डो कर्पोरेशन कम्पनीले २०७६ कात्तिक ४ गतेदेखि सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार ठेकेदार कम्पनीले नागढुंगा सुरुङमार्ग २०८० साल वैशाख १३ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने थियो । तर, ठेकेदार कम्पनीले दोस्रो पटक थपिएको म्याद सकिँदा समेत अहिलेसम्म सुरुङमार्ग निर्माण सम्पन्न गरी हस्तान्तरण गर्न सकेको छैन । नागढुंगा सुरुङमार्ग निर्माण गर्न गरिएको ठेक्का सम्झौताको दोस्रो पटक थपिएको म्याद कात्तिक ८ गते सकिएको छ । दोस्रो पटक थपिएको म्याद सकिँदा सुरुङमार्गको करिब ९७ प्रतिशत निर्माण मात्रै पूरा भएको छ ।
बाँकी काम सम्पन्न गर्न तेस्रो पटक म्याद थप गर्ने तयारी भइरहेको छ । ठेकेदार कम्पनीले तेस्रो पटक म्याद थपको प्रस्ताव गरिसकेको छ । तर, उसलाई कति म्याद थप गर्ने भन्ने पहिरो व्यवस्थापन तथा क्षतिग्रस्त भागको पुनर्निर्माण गर्न तयार गर्नुपर्ने डिजाइन बनेपछि मात्रै म्याद थप गरिने पन्थीले बताए । उनका अनुसार म्याद थप गर्न करिब १ महिनाको समय लाग्ने देखिन्छ । ठेकेदार कम्पनीले आयोजनासँग डिजाइन मागेको छ ।
परामर्शदाता कम्पनीले डिजाइन बनाइरहेकाले यो तयार भएपछि ठेकेदारलाई ६ महिनाको म्याद थप गर्न सकिने उनको भनाइ छ । ‘अब सुरुङमार्गको बाँकी काम सम्पन्न गरी सञ्चालन गरेर सरकारलाई हस्तान्तरण गर्न बढीमा ६ महिना म्याद थप गर्न सकिन्छ,’ उनले भने ।
यो तालिकाभित्र सुरुङमार्ग सम्पन्न हुन नसकेपछि एक वर्षका लागि २०८१ साल बैशाख १३ गतेसम्म्को म्याद थप गरियो । यो अवधिमा पनि सुरुङमार्ग निर्माण सम्पन्न हुन सकेन र पुनः दोस्रो पटक २०८२ साल कात्तिक ८ गतेसम्मका लागि म्याद थपिएको थियो । ठेकेदार कम्पनीले यो अवधिमा पनि आयोजनाको मुख्य संरचनाबाहेकको केही काम गर्न बाँकी नै छ । केही काम बाँकी रहेकाले अहिले तेस्रो पटक म्याद थप गर्ने प्रक्रियामा रहेको आयोजनाले जनाएको छ ।
तीन अर्ब २० करोड क्षतिपूर्ति दाबी सुरुङमार्ग निर्माणको काम गरिरहेको ठेकेदार कम्पनीले विविध कारण देखाएर ३ अर्ब २० करोड रुपैयाँ बढीको क्षतिपूर्ति दाबी गरेको छ । ठेकेदार कम्पनीले स्थानीयले गरेको अवरोध, कोभिड–१९ महामारी लगायत विविध कारणले सुरुङमार्गको निर्माण अवधि लम्बिएको कारण देखाउँदै क्षतिपूर्ति दाबी गरेको हो ।
सुरुङ खन्न सुरु गर्नुपर्ने समयमा समेत अनुमान गरेकोभन्दा फरक ढंगले खन्नु परेको भन्दै पनि उसले क्षतिपूर्ति दाबी गरेको छ । ठेकेदार कम्पनीले नियमअनुसार क्षतिपूर्ति दाबी गरेपनि उसले मागे जति नै दिने आधार नभएको पन्थीले बताए । उनका अनुसार ठेकेदारले क्षतिपूर्ति पाउने भए पनि मागेको जति नै पाउने अवस्था छैन । अमेरिकी डलरको मूल्यवृद्धिको दर पाउने कुरा ठेक्का सम्झौतामा नै उल्लेख भएकाले थप क्षतिपूर्ति दाबी गर्न नपाउने पनि उनले बताए ।
आयोजना अन्तर्गत मुख्य र रेस्क्यु गरी २ सुरुङमार्ग निर्माण गरिएको छ । धादिङको सिस्नेरीबाट सुरु भएको यो सुरुङमार्ग काठमाडौंको नागढुंगामा निस्कन्छ । सवारी आवागमन हुने मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ । मुख्य सुरुङ २०८१ वैशाख ३ गते खनेर सकिएको थियो । २.५५७ किलोमिटर लामो रेस्क्यु सुरुङ २०८० साउन २२ गते खनेर सकिएको थियो । अहिले सुरुङमार्गमा ‘फिनिसिङ लेभल’ पेन्टिङ, ट्राफिक सिग्नल राख्ने लगायत थोरै काम मात्र बाँकी छन् ।
९७ प्रतिशत पूरा भइसकेको सुरुङमार्गबाट दशैंमा नै सवारी साधन चलाएर परीक्षण गर्ने चर्चा भएपनि यसका लागि अझै समय लाग्ने देखिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट दशैंमा सुरुङमार्गमा सवारी साधन चलाउन सकिन्छ भने समन्वय गर्न भनिएको भएपनि ठेकेदार कम्पनीले सुरक्षाको कारणले सम्वभ नहुने भनेपछि परीक्षण गर्न सकिएको थिएन । सुरुङमार्ग व्यवसायिकरूपमा सञ्चालन गर्न सवारी आवागमनका लागि लाग्ने शुल्क तोकिसकिएको छ ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारको गत साउन २६ गतेको मन्त्रीपरिषद बैठकले सडक बोर्ड नेपालले प्रस्ताव गरेको सवारी साधनको शुल्क स्वीकृत गरिसकेको छ । सुरुङमार्ग भएर आवत–जावत गर्ने सवारी साधनका लागि फरक–फरक शुल्क तोकिएको छ । जस अन्तर्गत काठमाडौतर्फ आउने कार र भ्यानले ६५ तिर्नुपर्ने छ भने काठमाडौबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तिरे पुग्नेछ । मिनी बस–ट्रक र ट्रिपरले काठमाडौतर्फ आउँदा १ सय १५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने छ ।
बस र ट्रकका लागि काठमाडौं छिर्दा २ सय ६० रुपैयाँ तथा बाहिर जाँदाका लागि २ सय रुपैयाँ शुल्क तोकिएको छ । ठूला ट्रक तथा हेभी सवारी (लरी) साधनका लागि काठमाडौं आउँदा ६ सय रुपैयाँ तथा जाँदा २ सय ५० रुपैयाँ शुल्क तोकिएको छ । नागढुंगा–सिस्ने खोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ गत चैत २५ गते जारी गरिएको छ ।