नेभिगेशन
दृष्टिकोण

जेन जेड र महिला र सशक्तीकरण

अहिले प्रयोगमा र चर्चामा आइरहने जेन जेड, ए आई लगायतका शब्दावली सुन्दा लाग्न सक्छ यसबारेमा केही थाहा नहुने, ज्ञान नलिने हो भने अबको समाज, विकास र प्रविधिबाट टाढा भइन्छ । सूचना र संचारको जगत भनेकै पुस्तागत परिवर्तन, विकास र त्यसबाट उपलब्ध प्रविधिको प्रयोग र त्यसको लाभ नै हो । सुनेको कुरा बुझ्ने, प्रयोगमा ल्याउने र त्यसबाट लाभ हानी थाहा पाउन सकेको कारण नै ढुंगे युगबाट आजको दिनमा आइपुगेको छ मानव सभ्यता । 

त्यही अध्ययन गर्ने क्रममा थाहा लाग्यो मानव सभ्यता विकासलाई त बेबी बुमर, जेन एक्स, मिलेनियल्स, जेन जेड गर्दै अल्फा पुस्तामा आइपुगेको बर्गीकरण गरिएको रहेछ । हामीले जिजु बाजे पुस्ताबाट अहिलेको पनाति पुस्तालाई सम्बोधन गरे जस्तै । मानव विकासक्रम, आधुनिकता र प्रविधिको प्रयोग र ज्ञानलाई जोडेर मानव मनोभावनाको विकास पनि यसले संबोधन गर्दछ । त्यसैले, भनिएको होला, जेन जेड परिवर्तन पर्खिरहेका छैनन्, उनीहरू आफैं परिवर्तन ल्याइरहेका छन् ।

बेबी बुमर पुस्ताः जन्म वर्ष सन् १९४६ – १९६४ बिचको पुस्तालाई बेबी बुमर पुस्ता भनिने रहेछ । दोस्रो विश्वयुद्धपछिको स्थायित्वको समयमा जन्मिएका पुस्ताहरू यसमा परे । परिवारमुखी, मेहनती, परम्परागत सोच भएका र पुरुषप्रधान समाजमा हुर्किनु नै यो पुस्ताको विशेषता रह्यो । जिम्मेवारी बोध, परिवारको सुरक्षा र पुरातन प्रविधिले दैनिकी चलाए । 

जेन एक्सः जन्म वर्ष सन् १९६५ – १९८० बिचको पुस्ता जेन एक्स अन्तर्गत वर्गीकरण गरिएको रहेछ । यो समयसम्म आइपुग्दा टिभी, रेडियोको विकास भैसकेकोले वैश्विक सूचनाको ज्ञान र संचार युगमा हुर्किएका पुस्ता भन्न सकिने भयो । यहाँसम्म आइपुग्दा जीवनशैलीमा स्वतन्त्रता खोज्न सक्ने पुस्तामा विकास भएको मान्नुपर्छ । यसै पुस्ताबाट महिलाहरू पनि कामकाजी बन्न थालेको पुस्ता हो र लैंगिक समानताको विषयमा सोच परिवर्तन भयो भन्दा अनुपयुक्त नहोला ।

मिलेनियल्सः जन्म वर्ष सन् १९८१ – १९९६ बिचको पुस्ता मिलेनियल्स अन्तर्गत राखिएको छ । अब यो पुस्तालाई इन्टरनेट, मोबाइल र प्रविधिमा हुर्किएको पुस्ता भन्न सकिन्छ । यो पुस्तासम्म आइपुग्दा महिला सशक्तीकरणमा जागरुकता, सामाजिक न्याय र नवप्रवर्तनप्रति आकर्षण वृद्धि भएको स्वीकार्न सकिन्छ । शिक्षितको संख्या क्रमशः बढ्दै गएर स्वरोजगार तथा उद्यमशीलता सुरु भएको युग मान्न सकिन्छ ।

जेन जेडः जन्म वर्ष सन् १९९७ – २०१२ बिचको पुस्ता जेन जेड अन्तर्गत राखिएको छ । स्मार्टफोन, सामाजिक संजाल र संचारसंग जन्मिँदा देखिनै अभ्यस्त भएको पुस्ता हो जेन जेड । लैंगिक समानता, मानसिक स्वास्थ्य, जलवायु परिवर्तनजस्ता मुद्दामा संवेदनशील हुने र त्यस अनुसारको शिक्षा एवं प्रयोगात्मक अभ्यासहरू यो समयबाट अरू विस्तार भयो । यो पुस्तालाई महिला र सबै लैंगिक पहिचानलाई समान दृष्टिकोण राख्ने पुस्ता भन्न सकिन्छ । डिजिटल एक्टिभिस्ट, आनलाइन अभियानकर्ता र परिवर्तनको आवाज हो यो पुस्ता ।

अल्फा पुस्ताः जन्म वर्ष सन् २०१३ – २०२५ अर्थात् अहिलेका साना बालबालिका अल्फा पुस्ता अन्तर्गत पर्दछन् । ए आई, रोबोट, युटुब, स्मार्ट उपकरणसँग हुर्किंदैछन् यो पुस्ताका बालबालिका । टचस्क्रिन र भर्चुअल शिक्षा, अनि भर्चुअल दुनियाँ उनीहरूको पहिलो अनुभव हो । लैंगिक पहिचान र सामाजिक संरचना सम्बन्धी सोच अझ खुला हुने अपेक्षा यो पुस्तासँग गर्न सकिन्छ । मिलेनियल्स अभिभावकबाट हुर्काइएका पुस्ता हुन् अल्फा पुस्ता ।

सामाजिक र प्राविधिक परिवर्तन

प्रत्येक पुस्ता फरक–फरक समयमा जन्मिन्छ र हुर्किन्छ, जहाँ समाज, प्रविधि, सोच र मूल्यहरू फरक हुन्छन् । उदाहरणका लागि, बेबी बुमर पुस्ताले रेडियो, चिठी र खेतबारी देखे । जेन जेडले मोबाइल, टिकटक, र अनलाइन शिक्षा । अर्थात् हामीले बुझेको ढुंगे युग, कृषि युगदेखि आजको आधुनिक युग बुझ्न सहज भयो कसरी फरक पुस्ताले संसारलाई फरक तरिकाले, फरक अनुभवले र फरक प्रविधिसंग बुझ्छ र व्यवहार गर्छ । यही परिवर्तनले नीति, शिक्षा र बजारको रणनीति बनाउन सजिलो भयो । कुन पुस्ताले कस्तो सोच राख्छ र सहज हुन्छ, सरकारलाई नीति बनाउन, विद्यालय र कलेजलाई पाठ्यक्रम बनाउन, बजारलाई उत्पादन बेच्न त्यस अनुसार परिवर्तन हुँदै आयो । 

जेन जेडको लागि सामाजिक सञ्जालमार्फत सन्देश दिनु उपयुक्त र सहज भयो । अल्फा पुस्ताका लागि प्रविधिमैत्री शिक्षण विधि आवश्यक देखियो । यी सबै परिवर्तनले फरक र अत्याधुनिक प्रविधिको विकाससंगै काम गर्ने शैली फरक–फरक हुने ज्ञान दिलायो । हामीले जानेकै हो पुराना पुस्ताले स्थायित्व, अनुशासन र इमानदारितालाई विश्वास गर्छन् । नयाँ पुस्ता अरू लचिलोपन, रचनात्मकता र आत्म जागरण खोज्छन् । 

त्यसैले, कार्यालय, संघसंस्था र नेतृत्वले विभिन्न पुस्तासँग काम गर्ने तरिका मिलाएर जानुपर्ने आवश्यकता देखियो । यही विकास क्रम र परिवर्तनले त लैंगिक समानता र सामाजिक चेतनामा परिवर्तन आयो । पुराना पुस्तामा महिलालाई घरमै सीमित राखिन्थ्यो भने अहिले महिलाहरू आत्मनिर्भर बन्दै परस्पर निर्भरतामा सहयोग गर्ने भएका छन् । 

अबको समयमा महिला र पुरुष मात्र होइन, सबै प्रकारका लैंगिक पहिचानलाई आत्मसात गरेर महिलाको शिक्षा, आत्मनिर्भरता र निर्णय क्षमतामा बढ्दो सोच र समर्थन रहेको छ । विश्वव्यापी अनुसन्धान र तथ्यांक विश्लेषणले के देखाएको छ भने पश्चिमी मुलुकमा विगत ५०–६० वर्षदेखि सामाजिक परिवर्तनहरू अध्ययन गर्न पुस्तागत अवधारणाको प्रयोग भइरहेको थियो । अब यो अवधारणा नेपाललगायत अन्य देशहरूमा पनि लागू हुन थालेको छ, किनभने, सामाजिक र प्राविधिक विकास अहिले वैश्विक भएको छ, एक ठाउँ या देशमा मात्र सिमित छैन ।

जेन जेड र समानताको सोच 

सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएका पुस्तालाई जेन जेड भनिने कुरा माथि पनि उल्लेख भईसकेकोले अहिलेका किशोर, किशोरी तथा युवायुवतीहरू यही पुस्तामा पर्छन् । डिजिटल युगमा जन्मिएको र प्रविधिसँगै हुर्किएको यो पुस्ताले समाजका परम्परागत सोचहरूमा चुनौती दिँदै स्वतन्त्रता, समानता र पहिचानको पक्षमा आवाज उठाइरहेको छ । 

विशेषतः महिला सशक्तिकरणका सवालमा जेन जेडको भूमिका उल्लेखनीय हुँदै गएको छ ।
जेन जेडको विशेषता भनेकै डिजिटल माध्यम, फेसबुक, टिकटक, इन्स्टाग्राममा सक्रिय रहने हुँदा ती विभिन्न माध्यमबाट आउने सूचना र ज्ञानलाई प्रयोगमा ल्याउंदै लैंगिक समानता, लैंगिक तथा यौनिक अल्पसंख्यक अधिकार, जलवायु न्याय, र मानसिक स्वास्थ्यका विषयमा समेत सचेत रहेको छ । आफ्ना विचार स्पष्ट रूपमा राख्न सक्ने र अन्यायको विरोध गर्न पछि नहट्ने पुस्ता हो यो । 

सामाजिक अभियान, बहस र आन्दोलनहरूमा भाग लिने जुझारु पुस्ता मानिन्छ जेन जेडलाई । महिला सशक्तीकरणमा जेन जेडको योगदान महत्त्वपूर्ण रहेको छ । हरेक महिलाका आवाज उठाउने साहस राख्दै, यौन हिंसा, बालविवाह, घरेलु हिंसा जस्ता विषयहरूमा युवतीहरूले खुलस्त बोल्न थालेका छन् । शिक्षा र सीपमा पहुँच बढेको छ । 

युवतीहरू प्राविधिक शिक्षा, विज्ञान, प्रविधि, नेतृत्व र उद्यमशीलता जस्ता क्षेत्रमा आकर्षित भइरहेका छन् । आफ्नै आवाजमा बोल्ने, कमाउने र निर्णय गर्न चाहने अभ्यास बढ्दो छ । समानता र विविधताको सम्मान गरिन्छ। जेन जेड महिला केवल महिला भएर होइन, समान नागरिक भएर बाँच्न चाहन्छन् । जात, वर्ग, लैंगिकता, क्षमता आदिका आधारमा भेदभाव गर्न अस्वीकार गर्छन् । त्यसो त समाज र मानसिकता सजिलै परिवर्तन हुँदैन र चुनौतीहरूको पनि सामना गर्नुपर्ने हुन्छ । 

जेन जेड पुस्ताका चुनौतीहरू 

आत्मसंकोच र चिन्ताः जेन जेड पुस्ता धेरै समय मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालमा बिताउँछन् । अरूले के ग¥यो र मैले त्यो गर्न सकेको छैन जस्ता कुरा र कामले, अरूकै पोष्टले उनीहरूमा आत्मसंकोच, तुलना गर्ने प्रवृत्ति, एक्लोपन, चिन्ता, र डिप्रेशन बढाउने खतरा हुनसक्छ । सामाजिक सोचसँग संघर्ष गर्नुपरेको हुन्छ । सोचेजस्तो वातावरण र सहयोग प्राप्त नहुन सक्छ । 

आत्मविश्वासको कमीः हरेक सूचना र ज्ञान डिजिटल माध्यमबाट मात्र पर्याप्त नहुन सक्छ । पहुँच र मार्गदर्शन दुबै जरूरी रहन्छ परिवर्तन र विकासको लागि । कतिपय ज्ञान व्यवहारिक र आफ्ना अग्रजका अनुभवबाट प्राप्त हुन्छन् । त्यसैले उनीहरूमा रहेका सबै जानकारीले पहुँच वा आत्मविश्वास बढाउन सक्दैनन् । 

सतही सचेतनाः सामाजिक सञ्जालमै सीमित सचेतना कहिलेकाहीँ सतही हुन्छ । किनभने, समाजमा पारिवारिक, धार्मिक, सांस्कृतिक दबाबहरू र धारणाहरू अझै बाँकी छन् । ग्रामीण क्षेत्रका जेन जेड युवतीहरूलाई अझै शिक्षा, स्वरोजगार, यौन तथा प्रजनन स्वास्थ्यको जानकारी कम छ । 

चाहेर पनि विविध भूगोल, परिस्थिति र मानसिक धारणाको कारण सोचेजस्तो गहिराइमा परिवर्तन आउन बाँकि नै छ । त्यसैले, भन्न सकिन्छ जेन जेड महिलाहरू केवल भविष्यका होइनन्, अहिलेका परिवर्तनका वाहक हुन् । उनीहरूलाई सही शिक्षा, अवसर, मार्गदर्शन र सुरक्षित वातावरण प्रदान गरियो भने, समाजमा लैंगिक समानता र महिला सशक्तिकरण नीतिमा, व्यवहारमा र जीवनशैलीमा साकार हुन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण