नेभिगेशन
अन्तर्वार्ता

‘राजनीतिले अब युवाको भाषा बुझ्नैपर्छ’ : अर्जुननरसिंह केसी

  •  हामी यथास्थितिमा त्यही नीति, त्यही नेतृत्व बोकेर जनताका बीचमा जानु निरर्थकमात्र नभई आत्मघाती पनि हुन्छ    
  •  हामीले लोकतन्त्रलाई दलतन्त्रमा परिणत गर्‍यौँ । दलतन्त्रलाई नेतातन्त्रमा, नेतातन्त्रलाई गिरोहतन्त्रमा परिणत गर्‍यौं र त्यो गिरोहलाई बिचौलियाहरूले चलाए । यो नै आजको अवस्था सबैको कारण हो ।    
  •  नेपालको आजको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार, भ्रष्टाचार र भ्रष्टाचार हो । त्यसको न्यूनीकरणमा कसैको ध्यान नै गएन । चाहे त्यो पार्टी नेतृत्व होस् वा सरकार÷राज्यको बरु त्यसको संरक्षणमा बढी काम भएको देखिन्छ ।
  • अब हरेक राजनीतिक दलहरू, नेताहरू कि सुध्रिने, सच्चिने वा कि सक्किने नै हो । सुध्रिनै पर्छ, नभए सकिन्छन् ।     
  • पुरानो नेक्सस जोडेर संसद् पुनः स्थापना गरेर सरकार बनाउनेतिर लाग्ने जुन सोचाइका संकेतहरू देखिन्छन्, ती दुर्भाग्यपूर्ण हुन् ।
  • सबैभन्दा ठूलो कुरा लोकतन्त्रको कुनै विकल्प नै छैन । कोही–कसैले पनि फेरि निरंकुशताको परिकल्पना गरेको छ भने त्यो दिवा सपनामात्र हो ।
  • जेनजी विद्रोहपछिको उथलपुथलले नेपाली राजनीति आन्तरिक रूपमा अझै अस्थिर बन्दै गएको छ । प्रमुख राजनीतिक दलहरूमा नेतृत्व, नीति–दिशा र संगठनात्मक अनुशासनका विषयमा उठेका प्रश्नले टुटफुटको गति झनै तीव्र देखिन थालेको छ । सरकारको म्याण्डेटअनुसार फागुन २१ गते निर्वाचन घोषणा भइसके पनि प्रमुख दलहरू नै चुनावमा जाने कि संसद् पुनःस्थापना गर्ने भन्ने द्विविधामा देखिएका छन् । यी सबै परिवर्तित परिस्थितिबीच नेपाली कांग्रेस पनि नियमित वा विशेष महाधिवेशन, नेतृत्वको वैधता, संगठन पुनःसंरचना र जेनजी आन्दोलनले उठाएका प्रश्नहरूबारे आन्तरिक विमतिमा फसेको छ ।

देशको वर्तमान राजनीतिक संकट, जेनजीहरूका मुद्दा, कांग्रेसभित्रको अन्तरद्वन्द्व र आगामी निर्वाचन र राजनीतिकबारे न्यूज २४ दैनिकका प्रधानसम्पादक नवराज चालिसे र डेक्स सम्पादक महेश पाण्डेयले नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसँग गरेको संवाद –

जेनजी विद्रोहपछि राजनीतिक दलहरूमा ठूलो संकट देखियो । यो विद्रोहलाई कसरी विश्लेषण गर्नुभएको छ?

जेनजी हरेक पार्टीमा, हरेक घरमा छन् । तर, उनीहरूको भावनालाई समयमै सम्बोधन गर्न नसक्नु हाम्रो सबैभन्दा ठूलो कमजोरी हो । व्यक्तिगतरूपमा मेरै पनि ठूलो क्षति भयो । यही घरमा पनि तोडफोड भयो । नुवाकोट विदुरको घरमा आगो लगाएर ध्वस्तै बनाए । घर ध्वस्त पारेको भए पनि युवाहरूको यो आन्दोलनलाई मैले असजिलो मानेको छैन । अर्को पक्ष जहाँ जेनजी नवयुवा समुदाय सुशासनका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलोस् भन्ने चाहन्थे र उनीहरूको तत्कालीन माग स्वतन्त्र अभिव्यक्तिलाई कुण्ठित गर्ने खालले सामाजिक सञ्जाल प्रतिबन्धको विरोध थियो । यो सामान्य कुरा नै हो र मेरो सवालमा तपाईंहरूले रेकर्डहरूमा हेर्नुभयो भने जेन–जीहरूले नै उठान गरेका विषयहरूमा निरन्तर बोल्दै आएको छु । विदेशमा अवैध किसिमले रहेका सम्पत्तिको छानबिन गरेर राष्ट्रियकरण गरौं । आमजनमानसमा हामीजस्ता एकपटक मन्त्री भएकाहरूले घरमा हजार र पाँच सयका नोटका खातहरू राखेका छन् भन्ने भ्रम पारिएको छ, त्यसमा पनि छानबिन गरौं । र, प्राविधिक पक्षलाई केही समय गम्भीरतापूर्वक हेरेर पाँच सय र हजारका नोटहरू प्रतिबन्ध गरौं, जसले युवाहरूमा देखिएको आक्रोश कम गर्न मद्दत हुन्छ । र, चर्चित सबै भ्रष्टाचार काण्डका छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा एउटा उच्च शक्तिशाली आयोग बनाऔं भनेर भनेको छु । यी कुराहरू मैले चाहे संसद्को होस् वा सञ्चार माध्यम या पार्टी बैठकमा पनि पटक–पटक उठाएको छु । तर, कुरा के हो भने यी कुराहरू कसैले सुनेन । आमरूपबाट नवयुवा समूह भनेको खाली मतदातामात्र होइनन् । नयाँ विचार पनि हुन्, भविष्य हुन् । उनीहरूको भावना र संवेदनशीलतालाई ग्रहण गर्न नसक्दा आज यो अवस्था आयो ।

जेनजीहरूको विद्रोह शान्तिपूर्ण थियो र म विश्वासका साथ भन्न सक्छु यो पुस्ता आफैंमा लोकतन्त्रको पक्षधर हो । किनभने अहिलेको समाज र युवा स्वतः लोकतन्त्रको पक्षधर हुन्छ, वैचारिक स्वतन्त्रता पक्षधर हुन्छन् । न्यायका पक्षधर हुन्छन् । वातावरण असन्तुलनदेखि धेरै कुरामा जानकार छ । किनभने उनीहरू डिजिटल रूपमा सूचना र ज्ञानको पहुँचमा हुन्छन् । आजको यो अवस्था पनि उनीहरूसँग भएको ज्ञान, सीप र क्षमता नचिन्दा र उनीहरूमा भएको निराशालाई सम्बोधन गर्न नसक्दाको परिणाम हो । जेन–जीले बनाएको यो सरकारले पनि पाएको म्याण्डेट भ्रष्टाचारविरुद्धको सशक्त अभियान हो । यसमा कति गरिरहेको छ, कति गर्न सक्छ भन्ने कुरामा अझै प्रतीक्षा गरौं ।

दायाँ–बायाँ, तेरामेरा, यो पक्ष, त्यो पक्ष केही नभनीकन आमरूपमा बाहिर आएका काण्डहरूमा निष्पक्ष छानबिनमा सरकार केन्द्रित हुन आवश्यक छ भने सुरक्षाको प्रत्याभूति दिनु राज्यको काम हो । र, तेस्रो काम भनेको तोकिएको समयमा निर्वाचन गर्नु हो । यी मुख्य तीन कामबाहेक यताउता लाग्ने, झिना–मसिना कामहरूमा अल्झने यो सरकारसँग फुर्सद पनि छैन र लाग्नु पनि हुँदैन । त्यसका निम्ति सरकारलाई सफलताको पनि कामना गर्छु । त्यसकारण अहिलेको परिस्थिति कस्तो भन्ने प्रश्नको जवाफमा समग्र राजनीतिलाई एउटा नयाँ बाटो देओस्, नयाँ भावधारामा राष्ट्रलाई अगाडि बढाउन एउटा नयाँ चेतना पुञ्जका रूपमा यो जेनजी आन्दोलनले प्रभावित गर्न सकोस् र हामी पार्टीभित्र पनि यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा अडिग छौं । हामी यथास्थितिमा त्यही नीति, त्यही नेतृत्व बोकेर जनताका बीचमा जानु निरर्थकमात्र नभई आत्मघाती पनि हुन्छ भन्ने मैले भनिरहेको छु, तपाईंमार्फत् पुनः दोहो¥याउँछु ।

जेनजी विद्रोहका दौरान तपाईंको व्यक्तिगत क्षति भए पनि राजनीतिक दृष्टिले हेर्दा तपाईं खुसी नै हुनुहुन्छ ?

म बेखुसी छैन । किनभने यी मैले निरन्तर भन्दै आएका कुराहरू हुन् । जेनजीले आन्दोलन गरेपछि मात्र होइन । संसद्का बैठकहरूमा मैले बोलेका कुराहरू रेकर्ड छन्, ती हेर्नुभयो भने ती छन् । सार्वजनिकरूपमा नै बोल्दा र हरेक केन्द्रीय कार्यसमितिमा पनि लिखितरूपबाट सभापतिलाई दिएको छु । म बोलें तर सबै बोलेको कुरा त बाहिर आउँदैन भनेर नै मैले हरेक कार्यसमिति बैठकमा लिखितरूपमा पनि दिएको छु । यी कुराहरू मैले छुटाएको छैन । निरन्तर मैले भन्दै आएको छु आमजनतामा निराशा छ, असन्तोष छ, अविश्वास छ । त्यो अविश्वास कुनै पनि दिन असंगठित विद्रोहका रूपमा परिणत हुनसक्छ । अझ श्रीलंका र बंगलादेशको उदाहरण दिँदै धेरैपटक संसद् र संसद्बाहिर पनि भनें तर पार्टीभित्र पनि मेरो कुरा सुनिएन । भदौ २२ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक थियो । मैले त्यो २२ गतेको बैठकमा पनि भनेको छु । श्रीलंका र बंगलादेशको कुरा त पुरानो भयो, सभापतिजी भर्खरै इण्डोनेसियामा जेनजी आन्दोलन सुरु भएको छ र देशव्यापीरूपमा कफ्र्यु जारी भएको छ । त्यो दिनसम्म त्यहाँ ११ जनाको मृत्यु भएको थियो ।

आमरूपमा युवाहरूमा भएको असन्तुष्टि र अनावश्यकरूपमा त्यहाँका सांसदहरूको सेवासुविधा बढाउनु आन्दोलनको कारण भएको समेत मैले भनेको थिएँ । यस्तै हाम्रोमा पनि सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको तलबभत्ता तोक्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त प्रमुख भई नै हाल्यो । यी कुरा जे–जसरी आएका थिए त्यो आगोमा घिउ थप्ने काम भएको थियो । मैले बैठकमै भोलिदेखि जेनजीहरूले प्रदर्शन घोषणा गरेका छन् । उनीहरूका माग अहिले नै सम्बोधन गर्ने गरी सर्वदलीय राष्ट्रिय सरकारका निम्ति हामी सरकारबाट फिर्ता हुने निर्णय गरौं र तत्काल सामाजिक सञ्जाल खुला गर्ने काम गरांै भनेको छु । यसरी बैठकमा मैले आमजनतामा असन्तुष्टि छ भन्दा सभापतिले केको असन्तुष्टि, सामाजिक सञ्जालमा त भनिरहन्छन्, हामी जहाँ जाँदा पनि हजारौं मानिसहरू जम्मा भएकै छन् भन्नुभएपछि मैले त्यही बैठकमा सिटौलाजीलाई देखाउँदै भनेको छु– सिटौलाजी तपार्इं तत्कालीन समयमा गृहमन्त्री हुनुहुन्थ्यो । राजाको समयमा माओवादीको उद्गम थलो रोल्पा, पोखरा र नेपालगञ्जमा राजालाई स्वागत गर्नेहरूको भिडको क्लिप एकपटक हाम्रो सभापतिलाई देखाइदिनुस् । कहाँ गए तिनीहरू ? यो असन्तुष्टिले कुन किसिमको असंगठित रूप लिन्छ त्यसबारे गम्भीर हुनुपर्छ भनेर मैले सभापतिलाई प्रष्ट भनेको छु ।

तर, म अन्तिम निर्णयकर्ता त होइन तर मैले विचारको अभिव्यक्तिलाई कहीँ पनि खुम्च्याएको छैन र मैले जे देखें निरन्तर भन्दै आइरहेको छु ।

म अहिले पनि के भन्छु भने, चेन्जिङ सिफ्टिङ सोसल डाइनामिजम भन्छन् नि, यसमा सामाजिक कुरा मात्रै पर्दैन । यसमा त देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, अन्तर्राष्ट्रिय परिवेश, स्वतन्त्र प्रेस, सामाजिक सञ्जाल र सार्वजनिक धारणालगायत सबै कुराहरूलाई राज्य र राजनीतिक दलका नेताहरूले पनि सम्बोधन गर्नुपर्छ । यसमा राज्य असफल भयो र राजनीतिक दलका नेताहरूले त मतलब नै राखेनन् । उनीहरू आफू अघि बसेका जति देख्यो त्यति नै पर्याप्त हो भन्ने ठान्यो ।

हामीले लोकतन्त्रलाई दलतन्त्रमा परिणत ग¥यांै । दलतन्त्रलाई नेतातन्त्रमा, नेतातन्त्रलाई गिरोहतन्त्रमा परिणत ग¥यौं र त्यो गिरोहलाई बिचौलियाहरूले चलाए । यो नै आजको अवस्था सबैको कारण हो । त्यसैको परिणाम हो र यो कहिले हुन्छ भन्ने मात्रै हो तर यस्तो हुन्छ, यो आउँछ भन्नेमा म निश्चित नै थिएँ । अब हाम्रो महाधिवेशन हुँदैछ, मैले महाधिवेशनमा केन्द्रीय कार्यसमिति बैठकमा लेखेर दिएका कुराहरूको दस्तावेज नै बनाएर बाँड्ने सोचेको छु ।

नेपालको आजको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । त्यसको न्यूनीकरणमा कसैको ध्यान नै गएन । चाहे त्यो पार्टी नेतृत्व होस् वा सरकार÷राज्यको बरु त्यसको संरक्षणमा बढी काम भएको देखिन्छ । असन्तुष्टि र आक्रोश चरममा पुग्यो र २३ गते कलिला युवाहरूमाथि जुन किसिमको हमला भयो त्यो त दुखद्मात्र होइन निन्दनीय र खेदजनक नै थियो । अनि २४ गते त्यसमा अराजक र स्वार्थ समूहहरू प्रवेश गरेर देशको धरोहर सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतमात्र नभएर ठूलठूला औद्योगिक प्रतिष्ठान, निजी सम्पत्ति पनि ध्वस्त गरियो । यो चाहिँ नेपालको इतिहासमै नभएको घटना जे भएको छ यसको छानबिन गर्नुपर्ने अहिलेको जेनजी सरकारको अर्को मुख्य जिम्मेवारी हो । मलाई यसमा जेनजीको हात छ भन्नेमा पटक्कै लाग्दैन ।

अब को छन्, कसले के–के गर्‍यो भन्ने कुरा प्रहरीले आयोगमा दिएका प्रतिवेदनहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन र प्रकाशन गरेका डकुमेन्टहरू हेर्दा पनि यसको वास्तविकता र यथार्थता पत्ता लगाउनुपर्नेछ भने अर्कोतिर समग्र राजनीतिक दलहरूले जेन–जी आन्दोलनले सुरु गरेको नयाँ विश्व दृष्टिकोण नयाँ विचार र नयाँ चेतना जुन दिन खोजेको छ राष्ट्रलाई त्यसलाई डो¥याएर जाने र त्यसलाई सम्बोधन गर्दै, उनीहरूलाई पनि समेट्दै जानुपर्ने अहिलेको आवश्यकता छ । हरेक पार्टीभित्र नीतिगतरूपले, नेतृत्वगतरूपले  र व्यवस्थापकीय दृष्टिकोणले आमूल परिवर्तन हुन सकेन भने अर्को अनिष्ट निम्तिने खतरा छ देशमा ।

पार्टीभित्र तपाईंले भनेजस्तो संकटहरू देख्ने, वैचारिकरूपमा प्रष्ट भएर आफ्नो कुरा राख्दै खबरदारी गर्नेहरू छायाँमा परेको र उनीहरूको कुरा नेतृत्वमा निर्णायक भूमिकामा रहेकाहरूले नदेख्ने प्रवृत्ति सबै पार्टीमा देखिन्छ । सत्तामा, शक्तिमा रहेकाहरू आँखैअगाडिको खतरा, संकट किन देख्दैनन् ?

यो दुर्भाग्य हो । थोरै पनि दूरदृष्टि, अलि परसम्मको सोच राजनीतिक नेतृत्वमा हुनु जरुरी नै छ । त्यो नभएकै हो । यसमा म कसैलाई व्यक्तिगतरूपमा यही दोषी भनेर भन्दिनँ । त्यो दोषको सहभागी म पनि छु । तर, जे सत्य हो, त्यो सत्यलाई नलुकाइकन धेरैचोटि यो असंगठित विद्रोह हुनसक्छ भनेर अहिले पनि हामीले समयमै यो सम्बोधन गर्न सकेनौं भने देशमा बहुपक्षीय बहुआयामिक द्वन्द्व र मुलुक गृहयुद्धतिर अघि बढ्छ कि भन्ने गम्भीर दुर्घटनाका संकेतहरू मैले देखेको छु । त्यसकारणले निर्वाचनलाई केन्द्रबिन्दु बनाएर जानुपर्ने एकातिर छ भने सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व हो । 

नेतृत्वले किन देख्दैन भन्नेमा मैले मेरो पार्टीमा वर्षौंदेखि भन्दै आइरहेको छु, केन्द्रीय कार्यसमितिको सबै रेकर्ड नहुन सक्छ भनेर नै मैले सबै लिखित दस्तावेजकै रूपमा प्रस्तुत गरेको छु । तर, संसद्मा बोलेको सबै कुरा त रेकर्डमा जीवित छँदैछ नि ।

यो आन्दोलनपछि राजनीति पार्टी र शीर्ष नेताहरूका गतिविधिहरू हेर्दा अझै पनि नचेतेका बरु नसुध्रिने संकेत देखिएका छन् । हाम्रो गल्ती, कमजोरीका कारण यो भयो भनेको, माफी मागेको र अब सच्चिने भन्ने कुरा त नेताहरूबाट, पार्टीहरूबाट सुनिएको छैन । एमालेले संसद् पुनः स्थापना भनिरहेको छ, नेपाली कांग्रेस पनि ठूलो अलमलमा देखिन्छ नि ?

हाम्रो महामन्त्रीले गल्तीहरूलाई सार्वजनिक रूपबाट स्वीकार गर्नुभएको छ । तर, एउटा महामन्त्री र अर्का मेरा मित्र शेखर कोइरालालाई अहिले हामी बसेको यही कोठामा कैयांैपटक भनेको छु । यी विचारहरूलाई भन्नेमात्र होइन जताततै सन्तुलनमात्र राख्न खोजेर हुँदैन, यो विचारलाई प्रष्टरूपमा केन्द्रीय कार्यसमितिमा राखेर, असहमति जनाएर कार्यकर्ताहरूलाई भन्नुपर्छ भनेर नभनेको होइन । उहाँहरूले त्यसबेला अनसुना गर्नुभयो । हामी पनि जिम्मेवार छौं । हामीले भन्यौं मात्र गर्न त केही सकेनौं नि ।

यसैकारण नवपुस्ताले तपाईंहरू असफल नेता र राजनीतिज्ञ भनेर भनिरहेको छ । राजनीतिमा तपाईंहरूको पुस्ता असफल पुस्ता भन्ने आरोप स्वीकार्नुहुन्छ ?

म स्वीकार्छु  । हामी असफल नै हौँ । सत्य देख्दादेख्दै केही गर्न सकिएन । मैले यत्रो भनें, बोलिरहें तर सिन्को पनि भाँच्न सकिनँ । संसद्मा भनें, पार्टी बैठकमा भनें तर नेतृत्वमा अलिकति पनि कुनै प्रभाव परेन । मलाई दुःख पनि यही नै छ, मेरो समकालीन साथी पनि हो पार्टी सभापति । यसले किन सधैं यही भनिरहेको छ, एकपटक बसेर छलफल गरौं भनेर भन्नुभएन, मैले पनि सकिनँ । मैले चौधौं महाधिवेशनमा महामन्त्री र सभापति दुवैलाई राखेर भनेको नै हुँ, उहाँहरूले पनि अनसुना गर्नुभएको थियो तर आज आएर महामन्त्रीले स्वीकार गर्नुभयो, त्यसमा म खुसी छु । गल्ती भएकै हुन् । हामीले पनि बोल्यौं मात्रै तर त्यसलाई पनि प्रभावकारीरूपमा जनतामाझ पु¥याउने काम हुन सकेन । ठीक छ, बहुमतको निर्णय त मानांैला तर असहमति दर्ज गरेको भए रेकर्ड त हुन्थ्यो नि । त्यो त कहीँ भएन । त्यसकारण हामी असफल हौं ।

यो असफलतालाई सफलतातर्फ उन्मुख गराउनका लागि यो परिवर्तित मानसिक मनोदशा जुन छ त्यो र जेनजीहरूका मागलाई सम्बोधन गर्ने गरेर पार्टीलाई आमूल परिवर्तन नीतिगतरूपले, नेतृत्वगत रूपले, कार्यशैलीको दृष्टिकोणले र भ्रष्टाचारविरोधी सशक्त अभियन्ताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्छ कांग्रेस भनेर हामी लागेका छौं । हेरौं कसरी जान्छ ?

यसबीचमा नयाँ–नयाँ दलहरू पनि दर्ता भइरहेका छन्, त्यहाँ पनि आजका पार्टीमा भएका संकटहरू देखिएलान् । आफ्नै, अन्य राजनीतिक दल र नेताहरूका गतिविधि हेर्दा केही सुधारका संकेतहरू देख्नुभएको छ ?

अब हरेक राजनीतिक दलहरू, नेताहरू कि सुध्रिने, सच्चिने वा कि सक्किने नै हो । सुध्रिनै पर्छ, नभए सकिन्छन् नि ।

तपाईंले समयलाई सम्बोधन गर्न सक्नुभएन भने समयलाई जसले चिन्छ, समयले पनि उसैलाई साथ दिन्छ । नेपालको इतिहासमा कांग्रेसले नेतृत्व नगरेको कुनै परिवर्तन नै छैन । यस्तो पार्टीका विरुद्धमा परिवर्तनका लागि अर्कोले प्रदर्शन गर्‍यो भने यो कुरालाई विश्लेषण गर्ने कि नगर्ने ? अहिलेको यो जेनजी आन्दोलन सरकारमै रहेको कांग्रेसका विरुद्ध हो कि होइन ? संसदमा यो एक नम्बर पार्टी हो । अनि सरकारका विरुद्ध भएको आन्दोलन नै हाम्रोविरुद्ध भएको आन्दोलनका रूपमा लिनुपर्दैन ? अहिलेसम्म परिवर्तन, प्रगति, जनताको भावनाको संवाहक रहेको र त्यही भएर २००७ सालदेखि निरन्तर आफूलाई यो देशको इतिहासको युगान्तकारी परिवर्तनमा उभ्याइराख्यो । पाँचवटा संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्यो तर आज त्यही पार्टी किन यथास्थितिवादी पार्टीको प्रतिनिधिका रूपमा जनताले चिन्न थाले । त्यही पार्टी सुशासन होइन, भ्रष्टाचारको संरक्षणका रूपमा चिन्न थाले ? यो सब धोइपखाली गर्नुपर्दैन ? यति गर्न सक्दैनौं, गरेनौँ भने त हामी सक्किने बाटोमा जान्छांै भन्ने मैले बुझेको छु ।

कांग्रेसलाई यथास्थितिवादी जस्तो मात्रै भन्नुभयो । तर, एमालेले संसद् पुनःस्थापना भनिरहेको छ । अब कांग्रेसले पनि त्यही लाइन समात्छ र यो पनि प्रगिगामी शक्ति हुँदैछ भन्छन् नि ? अबको कांग्रेसको राजनीतिक लाइन के हो ?

होइन, हामीले निर्वाचनमा जान्छौं भन्ने नै निर्णय गर्छौं भन्ने मलाई लाग्छ । पहिले पनि हाम्रो कार्यवाहक सभापतिले निर्वाचनमै जाने भन्नुभएको नै हो । तर, के छ भने चुनावमा जाने निर्णय र नियमित महाधिवेशन वा विशेष अधिवेशन सँगसँगै गर्नुपर्छ भन्ने हामी नै हौं । त्यसकारण निर्वाचनमा जाने कुरामा कुनै किन्तु, परन्तु छैन । जनताको बीचमा जाने कुरामा जे परिणाम आए पनि नेपाली कांग्रेस तयार नै छ । तयार हुनुपर्छ र हाम्रो त्यही निर्णय हुन्छ । अब हामी सुधारिएर जान्छौं वा जस्ता–त्यस्तै जान्छौं त्यो बाँकी छ ।

नयाँ दलहरूको कुरा गर्दा त्यहाँ पनि यही संकट, प्रवृत्तिको देखिने तपाईंले शंका गर्नुभए पनि उनीहरू अनटेस्टेड हुनाले त्यो ठाउँ बाँकी छ । उनीहरूलाई मौका छ तर हामीलाई त्यो छैन नि । हामीले आफ्ना गल्ती कमजोरीहरूलाई अझै पनि नसुधार्ने ? सार्वजनिक रूपमा हामीले यो गल्ती गरेकै हौं । अब गर्दैनौं भन्न नसक्ने । प्रजातन्त्रको उद्गम थलो र संरक्षक पनि नेपाली कांग्रेस हो । र, भोलि आउने राष्ट्रिय संकटहरूलाई पनि कांग्रेसले मात्रै निवारण गर्न सक्छ, किनभने कांग्रेस अहिलेसम्म संकटमोचक पार्टीका रूपमा स्थापित छ र अब पनि हुनुपर्छ ।

चुनावमा जान्छौं त भन्नुभयो तर तपाईंले भनेका कैयौं कुराहरू पार्टीभित्र नसुनिएका, नेतृत्वले नमानेको पनि भन्नुभएको छ । यसपटक पनि नेतृत्वले तपाईंलगायतको चुनावमा जाने कुरा अनदेखा गरे, संसद् पुनःस्थापनाको निर्णय ग¥यो भने ?

संसद् पुनःस्थापनाको अभियानमा हस्ताक्षर गर भन्यो भने मैले गर्दिनँ भनेर मेरो कुरा प्रष्ट भनेको छु । यो पार्टीभित्र बसेपछि मैले यति धेरै असहमति थियो भनेर भनें नि । असहमति हुन्छ, असहमति जनाउन सकिन्छ तर त्यसलाई अस्वीकार गरेर अलग हुन सकिँदैन । दलगत व्यवस्थाले यसलाई अनुशासन भने पनि, एक दृष्टिकोणले सीमा भन्नुभए पनि यसलाई हामीले बुझ्नुपर्छ । सँगै म फेरि के भन्छु भने हामी जुन बाटो हिँडिरहेका थियौं त्यो गलत बाटो नै थियो । त्यो बाटोबाट सच्चिन हामीलाई जेनजी आन्दोलनले प्रभावकारीरूपबाट घचघच्याएको छ । यत्रो हुँदा अब पनि सुतेको बहाना ग¥यौं भने सुत्यासुत्यै हुन्छौं ।

यो हाम्रोमा मात्र होइन हरेक पार्टीका लागि हो । हरेक पार्टीले, नेतृत्वले व्यक्तिमा पनि लागू हुन्छ यो कुरा, समयको गतिलाई सम्बोधन गर्न सक्नुपर्छ । हिजोको परिस्थिति त आज छैन नि ।

यहाँ पार्टीभित्रका केही र बाहिरका मानिसहरूले पनि यो संकटको संकेत गरिरहेकै थिए तर नेतृत्वले किन त्यो अनदेखा वा बुझ्न सकेनन् ?

अहंकारी प्रवृत्ति, निरंकुशतावादी र सबैका विचारलाई सुनेर, के हो भनेर निर्णय नगरी गिरोह प्रभावित र त्यो गिरोह बिचौलिया प्रभावित भएका कारण यस्तो भयो । अनि त्यसले भ्रष्टाचारका सीमा, अन्य कुरा कताकता पुर्‍यायो ।


के कांग्रेस टुटफुट हुँदैछ ?

होइन, कांग्रेस टुट्दैन । हामी टुट्न दिँदैनौँ । तर, कांग्रेसको नियमित अधिवेशन समयको प्राथमिकता हो । चारवर्षे म्याद मंसिरमा सकिन्छ । कि मंसिरमै नियमित अधिवेशन गरौं । कांग्रेसको विधानले स्पष्ट व्याख्या गरेको ४० प्रतिशतभन्दा माथि महाधिवेशनका सदस्यहरूले हस्ताक्षर गरेर माग गरेपछि त्यो गर्नैपर्छ, यो वैधानिक दायित्व नै हो । विशेष महाधिवेशनमा जानुपर्छ । त्यसैले यो विशेष महाधिवेशन पार्टी टुटाउने भन्ने जुन धारणा आएको छ त्यो अपव्याख्या हो । विशेष अधिवेशन अवैधानिक भन्ने पनि अपव्याख्या हो । २०१४ सालमा विशेष अधिवेशनबाटै बीपी कोइराला अध्यक्ष हुनुभएको हो । नेपाली कांग्रेसको विधानले नै व्यवस्था गरेको हो । हामी चाहन्छौं नियमित अधिवेशन होस् भनेर, त्यो इच्छाशक्ति भयो भने गर्न पनि सकिन्छ । २०६२ सालमा माओवादी सशस्त्र द्वन्द्वको चरममा थियो । राजाको प्रत्यक्ष शासन थियो । त्यस्तो बेलामा ४० दिनमा हामीले अधिवेशन गरेका छौं । अहिले पनि त्यो समय हामीसँग छ । हैन इच्छा भएन, यही अहिले तानतुन गरेर भित्रको त्यही पुरानो नेक्सस जोडेर संसद् पुनः स्थापना गरेर सरकार बनाउनेतिर लाग्ने जुन सोचाइका संकेतहरू देखिन्छन्, ती दुर्भाग्यपूर्ण हुन् ।

तर, पार्टीभित्र ठूलो द्वन्द्व त देखियो नि ?

लोकतान्त्रिक पार्टीभित्र द्वन्द्व त हुन्छ नि । द्वन्द्व नभएको पनि लोकतान्त्रिक पार्टी हुन्छ र ? वाद प्रतिवाद र संवादको प्रक्रिया अनि विचारमा संघर्ष, तिक्तता र कटुताका बीचमा जे निस्किन्छ त्यही नै लोकतन्त्रको सुन्दर पक्ष हो ।

पुराना सबै पार्टीमा टुटफुट तीव्र भयो, कोही बाँकी रहेनन् । कांग्रेसमा त्यो सम्भावना ?

मैले त्यो सम्भावना देख्दिनँ । हामी कहीं न कहीं त्यो मिलनबिन्दुमा पुग्छौँ भन्ने लाग्छ । अब कसैले अहंकार नै गरेर बस्यो भने त अहंकारका परिणामहरू धेरै भएका छन् ।

कांग्रेस शुभचिन्तक, कार्यकर्ताहरूलाई सन्देश दिएर भन्नुपर्दा कति प्रतिशत फुटको सम्भावना छ ?

प्रतिशतमा भन्दा मैले अहिले त पाँच प्रतिशत पनि देख्दिनँ ।

मतलब, ४–५ प्रतिशत भए पनि झिनो सम्भावना चाहिँ छ ?

म त्यति पनि देख्दिनँ । भनेपछि त्यति पनि छैन भनेर ठान्नुस् न ।

तर, पार्टी पदाधिकारीहरूले आ–आफ्नै किसिमले बोलिरहनुभएको छ । महामन्त्रीले गल्तीहरू पनि गनेरै भन्नुभयो नि ?

कसले के भन्नुभयो भन्दा म असहमत हुन सकुँला तर अपमान गर्दिनँ । हरेकको व्यक्तिगत विचार हो, आफ्नो आफ्नो हुन्छ । मलाई त्यसमा कुनै टिप्पणी गर्नु छैन । म विशुद्ध लोकतान्त्रिक विचार र व्यवहारमा विश्वास गर्छु । तर, महामन्त्रीको कुरा सुन्दा उहाँले जुन गल्तीहरू गनेर देखाउनुभयो त्यो मैले मेरा दुवै मित्रहरूसँग यही कोठामा बसेर धेरैचोटि भनेको कुरा हो । होला ८० प्रतिशत शेरबहादुरजीसँग होला, २० प्रतिशतले मात्रै भए पनि हाम्रो यसमा असहमति छ है भनेर हामी भनौँ भनेर मैले भनेको छु । उहाँहरूले गर्नुभयो, मानियो तर हाम्रो असहमति त थियो, छ भनेर भनेको छु । तर, अहिले हाम्रो महामन्त्रीले गल्ती स्वीकार गर्नुभयो, म उहाँको यस कुरामा प्रशंसा गर्छु । त्यो सुरुदेखि नै गर्न सकेको भए कति राम्रो हुने थियो भन्ने लागेको थियो । दुवैजना शेरबहादुरजी र रामचन्द्रजी मेरा समकालीन हुन्, उहाँहरू मेरो नेता होइन तर नेतृत्व गर्छु भनेर लाग्नुभएको छ, ल राम्रो गर्नुस् भनेर साथ दिन लागेको हुँ । तर, मेरो कुरा नसुने पनि महामन्त्रीले यो कुरा भनेपछि बल्ल ठीक ट्र्याकमा आउनुभयो है भन्ने मानें ।

फेरि शेरबहादुर देउवा नै सक्रिय भएर आउने कुरा पनि सुनिएको छ नि ?

ठीक छ त । मैले त द्वन्द्वलाई राजनीतिको अपरिहार्य पक्ष भनेर मानेको छु ।  सक्रिय भएर जाऔं न । नियमित महाधिवेशन गरौं, त्यसमा जो नेतृत्व छानिएर आउला फेरि उहाँ नै सक्रिय भएर आउनुहोला, उहाँले भनेको मान्छे आउला, त्यो त हामीले मानेकै छौं नि । विशेष अधिवेशन गरौं, त्यसले पनि तय गर्ला । महाधिवेशनले जसलाई छानेर नेतृत्व बनाउँछ, त्यो त सबैले मान्नैपर्छ । हामी त्यसमा सधैं तयार नै त छौँ । यहाँ त फरक मत हुनासाथ पार्टी टुट्छ भन्छन्, कसरी टुट्छ ? ८० प्रतिशतले हामीले भनेको कहिल्यै नसुन्दा पनि हामीले अहिलेसम्म मान्दै आएका होइनांै र ? निर्णय भयो अब के गर्ने आफ्नो कुरा भन्ने तर निर्णय मान्ने । भोलि हुने महाधिवेशन, विशेष महाधिवेशनको बहुमतलाई मानौं न भइहाल्यो नि । केको फुट्ने, केको टुक्रिने ? अब महाधिवेशन पनि नगर्ने, यसलाई तान्न खोज्ने हो भने त्यो आत्मघाती हुन्छ ।

यसको अर्थ बरु कांग्रेस सकिन्छ तर टुट्दैन ?

हामी टुक्रिन चाहिँ टुक्रिन्नौं ।

बरु सकिन्छौं ?

सकिने कुरा त कहाँ भनेको छु र ? सकिनु त हुँदै हुँदैन नि । यो देशमा जुन–जुन समय नेपाली कांग्रेस कमजोर भएको छ देशमा लोकतन्त्र कमजोर भएको छ । त्यसकारण नेपाली कांग्रेस सक्किने त कुरै नसोचौं ।

पछिल्लो समयमा आन्तरिक राजनीतिमात्र नभई भूराजनीतिकरूपमा पनि कांग्रेस कमजोर देखियो नि ?

दोस्रो विश्वयुद्धपछि विश्व व्यवस्थामा आमूल परिवर्तन आएको छ । अब त्यो पुरानो विश्व परिवेश छैन । हिजो रुस र अमेरिकाको युद्धमा संघर्षको केन्द्रमा युरोप थियो । हामीलाई कहिलेकाहीँ बाछिटा पथ्र्यो, खास त्यस्तो असर पर्दैनथ्यो । अहिले चीन र अमेरिकाको द्वन्द्वको प्रत्यक्ष भूभागमा हामी छौँ । हिजो रुस–अमेरिकाको युद्धमा चीन रुसभन्दा अलग थियो । तर, अहिले चीन र रुस एक ठाउँमा छन् । अमेरिका र चीनको द्वन्द्व थलो र विश्वको दोस्रो र चौथो शक्तिको द्वन्द्व थलो हामी भएका छौं । यो परिवर्तनमा भूराजनीति र अन्तर्राष्ट्रिय व्यवस्थापनमा हामी पार्टीहरू र सरकार कहाँ–कहाँ चुक्यो, सरकार कति सन्तुलित हुन सक्यो, त्यो पक्कै विश्लेषण गर्नुपर्ने पक्ष हो । म अहिले यो नै त भन्दिनँ तर विश्लेषण गर्नुपर्ने पक्ष हो ।

संसद्मा पहिलो र दोस्रो पार्टी मिलेर बनाएको सरकार वा एमालेसँगको सहकार्यलाई ठूलो भूल मान्नुहुन्छ ?

यसमा त मैले सरकार बनाउने समयमात्र होइन चुनावमा मिलेर जाने कुरामा पनि, मैले बरु सरकारमा मिलौँला तर जनताको बीचमा यसरी जानुहुँदैन भनेर लिखित दस्तावेज नै प्रस्तुत गरेको छु । नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कुनै पार्टीको बैशाखी टेकेर जनताको बीचमा जानु अनुचितमात्रै नभई खेदजनक हो भनेर लेखेको छु । म त्यो सबै सार्वजनिक गर्ने तयारीमा पनि छु ।

बैठकमा महामन्त्री गगन थापाले सभापतिलाई यो तपाइँहरूको निजी कम्पनी हो भनेर भन्नु नै भएको हो । मैले पनि ड्राफ्ट के हो भन्दा उहाँले हिजै सही गरिसकेको भन्नुभयो । पहिले नै सहमति गरेर आएको भए के बैठक बोलाएको भनेर भनेको त हो तर केही गर्न सकेन । विचारमा प्रष्टता नभएको होइन तर कार्यमा आँट नभएको हो हाम्रो । गठबन्धनमा पनि हामी आज को भोलि को प्रधानमन्त्री हुने भन्नेमा केन्द्रित भयौं । आमजनभावना के छ भन्नेमा हामी पटक्कै सचेत भएनौँ । आलोपालो गर्ने भन्दै दुई ठूला दल मिलेर चलाएपछि कसले रोक्न सक्छ भन्ने भयो र जसरी चलाए पनि चुपचाप लागेर बसियो । तब पो सरकारमा हामी पनि थियौं र जेनजी आन्दोलन हाम्रो पनि विरोध हो, हामीले भूल स्वीकार्नुपर्छ भनेको नि ।

नवपुस्ताले र अन्य पुरानै दल, कतिपय नेताहरूले पनि व्यवस्थामाथि प्रश्न उठाउँदै प्रत्यक्ष कार्यकारीको माग गरिरहेका छन् । यसबारे तपाईंको धारणा के छ ?

अहिले सबैभन्दा ठूलो कुरा लोकतन्त्रको कुनै विकल्प नै छैन । कोही–कसैले पनि फेरि निरंकुशताको परिकल्पना गरेको छ भने त्यो दिवा सपनामात्र हो । जेनजी आन्दोलनले नै कसैको निरंकुशता, मनपरी, अहंकारलार्ई नस्वीकार्ने, देशले सहन्न भन्ने त देखाएको छ नि । संविधानमा धेरै कुराहरूमा सुधार गर्नुपर्नेछ । लोकतन्त्रका मुलभूत कुराहरूलाई, मौलिकतालाई जीवन्त राख्दै सबै पक्षलाई समेटेर जसरी जान सकिन्छ त्यसरी जानुपर्छ । यथास्थितिको संविधानबाट अब आउने दिनको सम्बोधन गर्न सकिँदैन । 

कसैको कहिले पनि बहुमत नआउने संविधानमा परिवर्तनको आवश्यकता छैन ? यही संविधानको बनावट हो भने सुशासन र भ्रष्टाचार नियन्त्रण कहिले पनि हुँदैन । दुई–तीनवटा मिलेर सरकार बनाउँछन्, सुशासनका लागि केही काम गर्न खोज्दा अर्को ल म बाहिरिन्छु भन्न थाल्छ । अनि सरकार टुट्नुभन्दा त भ्रष्टाचार कारबाहीलाई रोक्नु नै वेश हुन्छ । अहिलेसम्म यसरी नै चलेको छ नि । यो व्यवस्थाका बारेमा इफ बट केही नभनी समावेशी प्रजातन्त्र हो भनेर लाग्ने मान्छे म आफैं हुँ । यो राजनीतिक अस्थिरतालाई मेटाउने कुराहरू संविधानमा नसोची हुँदैन ।

सरकारका र अन्य राजनीति गतिविधि हेर्दा के तोकिएको समयमा निर्वाचन होला ?

हुनैपर्छ । भएन भने लोकतन्त्रलाई जीवित राख्नका लागि संसद् पुनःस्थापनाको आन्दोलनलाई जबरजस्त गरेर लैजानुपर्छ । निर्वाचन नै गर्नुपर्छ, निर्वाचन भएन भने भ्याकुममा त देश रहन सक्दैन । हामी संकटमा नै छौं । अहिले बहुपक्षीय युद्धउन्मुख देखिन्छ । त्यसका निम्ति समग्र राष्ट्रिय एकता जसको नेतृत्व कांग्रेसले गरोस् र त्यस्तो नेतृत्व कांग्रेसमा आओस् भन्ने मेरो इच्छा हो । यथास्थितिको नेतृत्व परिवर्तन भयो भने अहिलेभन्दा अलिकति कुरा त सुन्लान् नि ।

निर्वाचनको कुरामा सरकारले सुरक्षाको प्रत्याभूति गर्नुपर्छ । हजारौं अपराधी र हतियारहरू बाहिर छन्, यसमा सरकार गम्भीर हुनुपर्छ । आँटेपछि सक्ने मान्छे नै हो भनेर प्रधानमन्त्रीलाई मैले चिनेको छु । अब अहिले उहाँका पनि सीमा के–कति छन् । सरकारका मिसन धेरै छँदै छैनन्– पहिलो, भ्रष्टाचार नियन्त्रण । दोस्रो भदौ २३ र २४ गतेको छानबिब र वास्तविकता पत्ता लगाएर कानुनी कारबाही । तेस्रो, शान्ति–सुरक्षाको प्रत्याभूति र तोकिएको मितिमा निर्वाचन । यसमा अलमल नगरी सरकार अगाडि बढ्नुपर्छ, बढ्न सकोस् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्