उद्यमी तथा व्यावसायिक पृष्ठभूमिबाट आएका लोकप्रिय युवा नेता विराजभक्त श्रेष्ठ आसन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चिह्न)का तर्फबाट काठमाडौं क्षेत्र नं. ८ को प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवार हुन् । यसअघिको आम निर्वाचनमा पनि काठमाडौं–८ नं. क्षेत्रबाटै प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका उनी केही समय युवा तथा खेलकुद मन्त्रीको भूमिकामा पनि रहे । त्यसअघि उनले बागमती प्रदेशसभाको सदस्यका रूपमा अनुभवसमेत हासिल गरेका थिए ।
विराजभक्त श्रेष्ठ सार्वजनिक मुद्दाहरूमा स्पष्ट अभिव्यक्ति दिने र संसदमा सक्रिय उपस्थिति देखाई जनचासोका विषयहरू उठान गर्ने सांसदमध्ये पर्छन् । सामाजिक सञ्जालमार्फत नागरिकसँग प्रत्यक्ष संवाद गर्न सधैं तत्पर रहने उनले सुशासन र पारदर्शिता, सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण, डिजिटल सेवामार्फत सरकारी सेवा छरितो बनाउने, युवा, खेलकुद, सामाजिक सेवा र युवा–केन्द्रित नीति निर्माणलाई प्राथमिकता दिँदै आएका छन् ।
यही फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको सेरोफेरोमा श्रेष्ठसँग गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छः
तपाईं सक्रिय राजनीतिमा आएदेखिनै मुख्यरूपमा सुशासनका मुद्दा उठाउने गर्नुभएको छ, विभिन्न पदमा पनि रहनुभयो । के अहिले सुशासन छ त ?
अहिले पनि सुशासनको अवस्था राम्रो छैन । संसद्मा र कार्यकारी पदमा हामीजस्ता परिवर्तनकारी युवाहरूको उपस्थिति ज्यादै न्यून छ । समयसापेक्ष परिवर्तन हुन नसकेका पुरातनशैलीका राजनीतिकर्मीहरूको बाहुल्य छ । उहाँहरूले अहिलेका युवा पुस्ताले के चाहिरहेका छन् भन्ने कुरा बुझ्नु भएको छैन । चुनावका बेला जथाभावी झुटा आश्वासन दिने र पदमा पुगेपछि काम नगर्ने प्रवृत्ति देखिएको छ । काम गरे पनि नगरे पनि मीठा कुरा गरेर चुनाव जितिन्छ भन्ने उहाँहरूको सोच छ । यस्तै सोच, झुटा आश्वासन र कार्यशैलीका कारण जेनजी आन्दोलन भएको हो भन्ने मेरो निष्कर्ष छ । यो आन्दोलन मुलुकका लागि एउटा कोशेढुंगा सावित हुने देखिएको छ ।
पुरातनवादीहरू बहुसंख्यक रहेको हाम्रो सरकारको नीतिनिर्माण र काम गर्ने तौरतरिका पनि पुरातनवादी भयो र युवाहरूमा असन्तुष्टि उत्कर्षमा पुगेर आन्दोलनका रूपमा विस्फोट भयो । अहिले नेपालमा बसेर आईटीको काम गर्ने युवाहरूले प्रशस्त कमाइरहेका छन् । त्यसलाई सहजीकरण गर्ने सुशासन खोजिएको छ, तर सरकारले नीति निर्माण नै गर्दैन । यस्ता थुप्रै सुधारका क्षेत्र छन् । त्यसका लागि हामीजस्ता युवाहरू विधायकी एवं कार्यकारी तहमा पुग्न आवश्यक छ । जसले युवाहरूको मनोभावना बुझेर नीति निर्माण गर्न सकोस् र छरितो कार्यशैली अपनाउन सकोस् ।
अनि पुराना राजनीतिकर्मीहरूको कुनै योगदान नै छैन भन्न खोज्नुभएको हो ?
उहाँहरूको योगदान नभएको होइन तर अहिले उहाँहरूको सोच र कार्यशैली वर्तमान पुस्ताको भावना अनुरूप भएन, छिटो–छरितो काम गरेर सुशासन दिन सक्नुभएन । त्यसैले उहाँहरूले दिएको योगदानका लागि धन्यवाद भन्न सकिए पनि उहाँहरूको सोच र कार्यशैली अहिलेका युवा पुस्तालाई सम्बोधन गर्ने खालको भएन, उहाँहरूले गर्न सक्नुभएन । त्यसैले युवापुस्ता एवं परिवर्तनकारी शक्ति सत्तामा पुग्न आवश्यक ठानिएको हो ।
ठूलो आन्दोलनपछि संविधानसभाले बनाएको संविधान लागू गरिए पनि त्यसले निर्दिष्ट गरेअनुरूप नयाँ ऐन, कानून बन्न सकेनन् । पुरानै कानूनलाई टालटुल पारेर चलाउन खोजिदैछ । कतिपय पुराना ऐन नियम त वषौंदेखिको प्रयासले पनि परिमार्जन गर्न नसकेको अवस्था छ । २०८२ मा २०१२ सालको प्रहरी ऐनले निरन्तरता पाएको छ । गत भदौ २३–२४ मा भएको जेन जी आन्दोलनमा अधिकांश अवस्थामा प्रहरीले गोली चलाउनुभन्दा अघि अपनाउनुपर्ने प्रक्रियाहरू नै पूरा नगरी सिधा गोली हानेको पाइएको छ । प्रहरी ऐन अव्यावहारिक भइसकेको छ । यस्ता थुप्रै ऐनहरू बनाउन नसकेको र वर्षौं प्रयास गर्दा पनि परिमार्जन गर्न नसकेको अवस्था छ । पुरानो शैलीको काम र ऐन, नियमले विकासको गतिलाई अघि बढाउन सकेन । त्यसकारण विधायकी एवं कार्यकारीको कार्यशैलीमा व्यापक परिवर्तनको आवश्यकता छ । म त्यसका लागि म निरन्तर प्रयासमा लाग्नेछु ।
तपाईं प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र मन्त्रीजस्तो कार्यकारी पदमा पनि पुगिसक्नुभएको छ । तपाईंको काम गर्ने शैली चाहिँ के हो ?
अहिले पनि कतिपयले सांसदलाई विकासको प्रतिनिधिका रूपमा हेरिरहेका छन् तर त्यो होइन । मूलतः सांसदको भूमिका विधायकी हो । तर यसो भनेर पन्छिन पाइँदैन र म पन्छिएको पनि छैन । सांसदले मन्त्रालय र जनताका बीच पुलको काम गरेर पनि जन चाहनाअनुरूप काम गर्न सकिन्छ ।
स्थानीय कुनै पनि किसिमका समस्या मकहाँ आयो भने त्यसलाई यथाशीघ्र संबोधन गर्ने गरेको छु । मेरो क्षेत्राधिकारका कुरा संसदमा उठाउने र समस्या समाधानका लागि आवश्यक समन्वय गरी कार्यान्वयन गरिदिएको छु । जस्तोः स्वयंभूको गजुर हावाहुरीले खसालेका बेला त्यहाँका गुरुजुहरूले खबर गर्नसाथ संसद्मा समेत कुरा उठाएर त्यो गजुर पुनस्र्थापना नहुञ्जेल ६ जना प्रहरीले सुरक्षा दिने व्यवस्था मिलाएको थिएँ ।
सांसदलाई जनताले कुनै काम गराउनुपर्दा कुन पार्टीको हो भनेर पहिचान खुलाउनु पर्ने सम्बन्धित पार्टीको मानिसले सिफारिस गरेको हुनुपर्ने जस्ता समस्याहरू छन् । तर मैले यो विकृतिलाई तोडेको छु । कुनै काम लिएर कोही आएमा उसको सम्बन्धित पार्टी कुन हो नसोधी काम गर्न समन्वय गरिदिन्छु । किनकि जनप्रतिनिधि भएपछि पार्टीभन्दा माथि उठेर काम गर्नुपर्छ, आफ्नो क्षेत्रको नागरिकको कामलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता छ ।
उद्यम व्यावसाय र सामाजिक सेवामा लागिरहनुभएको मानिस कसरी राजनीतितिर आकर्षित हुनुभयो ? तपाईंका मूल मुद्दा के–के हुन् ?
म राजनीतिमा आकर्षित हुनुभन्दा पनि यो क्षेत्रमा आउनैपर्ने बाध्यता सिर्जना भयो । यसमा मेरा मुख्य ३ वटा मुद्दा छन् । प्रमुख त सुशासन नै हो । २० वर्षको उमेरमा म उद्यमी हुन्छु भनेर काम शुरु गरेको थिएँ । तर सरकारी प्रणालीको लामो र झन्झटिलो प्रकृयाले मलाई निरास बनायो । कम्पनी दर्ता, नविकरण जस्ता कार्यमा धेरै झमेला व्यहोर्नु प¥यो । होटल बनाउँछु भनेर लाग्दा सरकारले पूर्वाधार तयार गर्न सहयोग गरेन । त्यसबेला त लोडसेडिङ पनि १८ घण्टासम्म भकाले पानीको समस्या भयो, सरकारले बाटो पनि बनाइदिएन । नेपाल बन्द धेरै हुने, पर्यटकलाई रिक्सामा राखेर एयरपोर्ट पु¥याउन जानुपर्ने समस्या भयो । सुशासन भन्ने त कुनै प्रणाली नै छैन जस्तो लाग्थ्यो । यस्तो हैरानी सबैजसो उद्यमीले पाइरहेका थिए । अनि कुशासनको अन्त्यका लागि पनि म राजनीतिमा आउन बाध्य भएँ ।
संस्कृति पनि मेरो मुख्य मुद्दा हो । करिब २१ वर्षको उमेरमा म पर्यटन व्यावसायी भएर काम गर्न थालेपछि संस्कृतिप्रति मोह जाग्यो । मैले पर्यटकलाई स्वयंभू घुमाउन लाँदा उनीहरूले स्वयंभूको प्रशंसा गरेको सुनेपछि मैले त्यसको महŒव बुझें । मेरो देश कति धनी रहेछ भन्ने कुरा थाहा पाएँ । तर त्यसको संरक्षण व्यवस्थापनमा उचित ध्यान नपुगेको महसुस गरें । स्वयंभू विश्वसम्पदा सूचीमा परेको तर त्यसको मापदण्डअनुसार कार्य नभएकाले मापदण्डअनुसार नै व्यवस्थापन गर्नका लागि संसद्मा कुरा उठाउनु मैले आफ्नो दायित्व सम्झें ।
अर्को महत्वपूर्ण मुद्दा प्रकृति पनि हो । हामी नेपालीको धर्म, संस्कृति, संस्कार प्रायः सबै प्रकृतिसँग जोडिएका छन् । त्यसका लागि नदी सफा हुनुपर्छ, वनजंगल र वन्यजन्तुको संरक्षण गर्नुपर्छ र गाउँसहरका बस्तीहरूमा पनि हरियाली प्रवर्धन हुनुपर्छ भन्ने मेरो बुझाइ हो । सांस्कृतिक, धार्मिकलगायत अन्य संस्कारका लागि नदीको स्वच्छता एवं प्राकृतिकपन आवश्यक छ । तर, ढलका रूपमा नदी बगेको छ । प्रकृतिको संरक्षण नगरे भविष्यका पुस्ताले मौलिक प्रकृति देख्न नपाउने भइसके । हाम्रो पुस्ताका केटाकेटीलाई नदी कस्तो हुन्छ भनेर कहाँ देखाउन लाने ? के विष्णुमति प्राकृतिक हिसाबले साँच्चिकै नदी जस्तो छ त ? त्यसैले हामी पछिका पुस्ताको लागि नै पनि प्राकृतिक सम्पदाको संरक्षण आवश्यक ठानें । त्यसका लागि नीतिगत तहमा पुग्न आवश्यक देखेर म राजनीतितिर लागेको हो ।
राजनीतिकर्मीको भूमिकामा आएपछि आफ्नो क्षेत्रमा के–कस्ता काम गर्नुभयो त ?
विगत ८ वर्षमा जवाफदेही र पारदर्शिताका लागि मैले गरेका काम आफ्नो वेबसाइटमा पनि राख्ने गरेको छु । हेर्दा धेरै कुरा थाहा हुन्छ । सांसद भएपछि सबै जिम्मेवारी लिनुपर्छ भन्ने कतिपय नागरिकको अपेक्षा हुन्छ । तर व्यवहारमा त्यस्तो नहुने रहेछ । किनकि बीचमा स्थानीय सरकार, प्रदेश सरकार पनि छ । तर यो भन्दैमा सांसदलाई पन्छिने छूट छैन । त्यसैले वर्षको एकपटक सार्वजनिक सुनवाइ गर्ने र वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने गरेका छौं ।
स्वयंभूको जंगलको उजाड भएको स्थानमा जाली राखेर वृक्षारोपण गर्ने कार्य, नागार्जुनमा पहिरो व्यवस्थापन, विष्णुमति नदीको किनारामा पार्क तथा हरियाली विस्तार कार्यमा स्थानीय तहसँगको समन्वयमा काम भएका छन् । नदी स्वच्छ राख्न मुहानसम्म गएर अध्ययन गरिसकेका छौं । यसक्रममा विष्णुमतीमा हानीकारक औद्योगिक रसायन (मर्करी) मिसिएको पत्ता लगाएका छौं । अब त्यसलाई रोक्न प्रयत्न गर्ने छौं । नदीमा ढल नमिसियोस्, स्वच्छ नदी बगोस् भनेर दुवैतिर छुट्टै ढल निकासका लागि पाइप बिच्छाइसकिएको छ । अब त्यसलाई प्रणालीमा जोडेर नदी सफारूपमा बगाउनका लागि प्रयास जारी राखेको छु ।
चागलमा वर्षामा सधैंजसो डुबान पथ्र्यो । पछि स्थानीय निकायसँग समन्वय गरेर त्यहाँको निकास चाहिँ ठूलो बनाइदियौं, अहिले त्यो समस्या हटेको छ । आफ्नो क्षेत्रमा बाटोको समस्या हुँदा पनि सडक विभागसँग समन्वय गरेर काम गराइएको छ । यस्ता कार्य थुप्रैतिर गरिएको छ । जनताले उठाएका समस्या समाधान गर्न सांसदको कार्यकारी भूमिका नभए पनि विधायकी हैसियतले आफूअन्तर्गतका वडाहरूसँग समन्वय गरी विकास निर्माणका कार्यमा पहल गरिदिने र समस्या समाधान गर्न प्रयत्न गर्ने गरेको छु ।
सांसद विकास कोष खारेज भइसकेको अवस्थामा आफ्नो क्षेत्रको विकास निर्माण कार्य गर्न अप्ठ्यारो भएको छ कि ?
विकास निर्माणमा सांसदको भूमिका सीमित छ । क्षेत्रगत हिसाबले सांसद विकास कोष खारेज भइसकेपछि क्षेत्रमा आम मानिसले जुन कुरा माग गर्छन्, त्यो कुरा पूरा गर्न प्रयत्न गरेको छु । विजेश्वरी मन्दिर परिसरमा अरू आवश्यक संरचना बनाउने विभिन्न निकायबाट प्रस्ताव हुँदा मन्दिर नै कुरुप हुने स्थिति आएकोमा त्यसो हुन नदिन गुरुयोजना बनाई ३ करोड रुपैयाँ बजेट पनि छुट्याइएको छ । अब जसले जे बनाउन चाहे पनि त्यो गुरु योजनाअन्तर्गत मात्र गर्न पाइन्छ । स्थानीयबाट जे माग भएको छ, त्यो पूरा गर्नेतिर लाग्ने गरेको छु । कङ्क अजिमा र डल्लु जोड्ने झोलुंगे पुल सर्वसाधारण हिँड्ने बाटो मात्र नभई सांस्कृतिक हिसाबले पनि गुँला बाजा बजाउँदै हिँड्ने एक प्रमुख बाटो हो । त्यसका लागि पनि ३ करोड छुट्याइएको हो । विभिन्न सामुदायिक स्कुलको स्तरोन्नतिका लागि पनि बजेट छुट्याइएको छ । आम मानिसले भेला भएर गरेका मागहरूलाई उच्च प्राथमिकतासाथ सम्बोधन गर्न म सधैं तत्पर छु ।
प्रतिनिधिसभाको सदस्यमा पुनः निर्वाचित हुनका लागि हाल जनतासँग मत माग्न घरदैलो गर्दै हिँड्नुभएको छ, मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
जनतासँग पहिलेदेखि नै मेरो राम्रो घुलमिल छ । स्थानीय बासिन्दाले नै हाम्रो टोलमा आइदिनु प¥यो भन्नुहुन्छ । इन्द«जात्रालगायत स्थानीय सांस्कृतिक कार्यक्रममा गएर बाजा पनि बजाइदिन्छु । स्थानीय मानिसका सांस्कृतिक, धार्मिक र अन्य कार्यक्रममा उहाँहरूसरह नै सरिक हुने गर्छु । म स्थानीय मानिसको कुरा सुन्दछु र त्यसलाई सम्बोधन गर्ने प्रयास गर्छु । नियमित रुपमा आफ्नो क्षेत्रमा म पुगिरहने भएकाले र अघिल्लो कार्यकालमा स्थानीय बासिन्दाको मनोभावना बमोजिम कार्य गरिदिएकाले उहाँहरूले मलाई सकारात्मकरूपमा लिने गर्नुभएको छ । घरदैलो कार्यक्रममा जाँदा स्थानीय बासिन्दाले धेरै सहयोग, माया, ममता देखाएकाले म धेरै नै उत्साहित भएको छु । त्यसकारणले पनि म यो चुनाव जित्नेमा विश्वस्त छु ।
आफू प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएमा काठमाडौ क्षेत्र नं. ८ मा आफूले गर्ने कार्यबारे केही प्रतिबद्धताहरू छन् कि ?
सांसदको हैसियतमा मैले गर्ने प्रमुख काम भनेको नीति निर्माण नै हो । त्यसअनुसार मैले विधेयकहरूमा संशोधन हाल्ने, विधेयकलाई गतिशीलता दिने कुरामा सक्रियतापूर्वक कार्य गरेको छु र भविष्यमा अझ बढी परिपक्वता साथ त्यसमा भूमिका निर्वाह गर्ने मेरो प्रतिबद्धता छ ।
सांस्कृतिक सम्पदाको संरक्षण, प्रवर्धन गर्न सके त्यो आर्थिक उन्नतिका लागि ठूलो स्रोत बन्छ । त्यसकारणले पनि विश्वसम्पदा सूचिमा परेको स्वयंभू, काठमाडौं दरबार स्क्वायर र यस क्षेत्रका अन्य सम्पदाहरूको संरक्षण, प्राकृतिक स्रोत–साधनको संरक्षण र संवर्धनका लागि म सांसद भए पनि नभए पनि लागिरहने मेरो प्रतिबद्धता छ ।
अर्को चाहिँ सुशासन नै मेरो प्राथमिकता हो । यसलाई सुधार गर्न सके सबैतिर सुधार हुँदै आउनेछ भन्ने मेरो विश्वास छ । उद्यमशीलतामा लाग्न खोज्दा मैले जस्तो दुःख अरूले भोग्न नपरोस् भनेर छिटोछरितो प्रणालीको विकास विगतमा मेरो प्राथमिकतामा परेको थियो र यसलाई भविष्यमा पनि निरन्तरता दिनेछु ।
बदलिएको वर्तमान राजनीतिक पृष्ठभूमिमा रास्वपालाई नै भोट किन दिनुपर्छ भन्ने लाग्छ ?
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगको राजनीतिक दलको ऐनभित्र बसेर सबै कुरा पालना गरेको छ । यस्तो पालना गर्ने रास्वमा एकमात्र पार्टी हो । हामीले प्रणालीभित्र बसेर काम गर्ने कुरालाई उच्च महŒव दिएका छौं । जनताको चाहना र सहभागितामा देशको विकासको गति बढाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । त्यसैले पनि हाम्रो नारा ‘अबको निकास, सहभागितामूलक विकास’ भन्ने रहेको छ । परिवर्तनलाई अंगीकार गर्दै नयाँ सोच र कार्यशैली अपनाउँदै सुशासन दिने र भ्रष्टचारमुक्त प्रणालीको विकासलाई प्राथमिकता दिने पार्टी रास्वपा नै हो । यस पार्टीमा धेरै युवा विशेषज्ञहरू र परिवर्तन, सुशासन र विकासलाई प्राथमिकता दिने मानिसहरूको सहभागिता छ । हामी कुरालाई होइन, कामलाई प्राथमिकता दिन्छौं । त्यसैले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनुपर्छ भन्ने मेरो अनुरोध हो ।