नेभिगेशन
अचम्मको संसार

विदेशी भाषा बोल्दा हामी फरक किन सुनिन्छौं?

तपाईँ एकभन्दा बढी भाषा बोल्नुहुन्छ भने तपाईँको स्वर सबै भाषामा उस्तै पोख्त सुनिइँदैन ।

मेरैबारे कुरा गर्दा पनि अंग्रेजी बोल्दा मेरो आवाज चर्को हुन्छ, फ्रान्सेली बोल्दा म नरम हुन्छु र असाध्यै विचार गरेर मात्र बोल्छु र स्पेनी भाषा बोल्दा अत्यन्त जीवन्त तरिकाले र छिटो छिटो बोल्छु। यस्तो लाग्छ हरेक भाषाले मेरो व्यक्तित्वको फरक फरक पक्षहरू उजागर गरिरहेको छ ।

भाषाविद् भन्छन्– यो हाम्रो टाउकाको मात्र कुरा होइन, यो त हाम्रो शरीर, मस्तिष्क र हाम्रो पहिचानको कुरा पनि हो । हरेक भाषाले हामीलाई खेल्न लगाउने ‘भूमिका’प्रति अनुकूलित गराउँछ ।

ब्राजिलको फेडरल टेक्नोलोजिकल युनिभर्सिटी अफ परानामा प्रोफेसर आना पाउला पेट्रिउ फरेइरा एङ्गलबर्ट भन्छिन्, ‘यो अभिनय गर्ने जस्तै होः हामी जुन भाषामा कुराकानी गरिरहेका छौँ, त्यही भाषा बोल्ने समुदायका विशेषता अपनाउँछौँ । हामी हामी नै हुन्छौँ, तर उस्तै हुँदैनौँ ।’

आफ्नो पीएचडी शोधका क्रममा उनले हाम्रो आवाज हामीले बोल्ने भाषा अनुसार किन बदलिन्छ र त्यो परिवर्तन वास्तविक हो कि त्यसरी हेरिएको मात्र हो भनेर अनुसन्धान गरेकी थिइन् ।

बीबीसीसँग उनले भनिन्, ‘फरक फरक भाषाका फरक फरक सांस्कृतिक ध्वनि हुन्छन् । उदाहरणका लागि, जर्मन ध्वनिमा भोकल ट्रयाक्टको पछाडिको भाग प्रयोग भएको हुन्छ त्यसले गर्दा जर्मन आवाज अलि कठोर लाग्छ । फ्रान्सेली भाषा अगाडिको भागबाट बोलिन्छ र घुमाउरो ‘भावेल’हरू प्रयोग हुन्छ त्यसकै सहयोगले फ्रेन्च बोल्नेहरूको आवाज फरक हुन्छ ।’

आवाजहरू कसरी परिवर्तन हुन्छन्?

हाम्रो आवाज र अरू मानिसहरूले हामीलाई कसरी सुन्छन् भन्ने कुरा जीवविज्ञान, संस्कृति र सन्दर्भको मिश्रणबाट आउने हो ।

आवाज भोकल फोल्ड्सबाट सुरु हुन्छ र भोकल ट्रयाक्टमा पुग्दा आवाजको तीव्रता बढ्छ । जिब्रो, ओठ र मुखको सहयोगमा आवाजले आकार लिन्छ र अन्तिममा हाम्रो बोलीको रूपमा बाहिर आउँछ ।

‘यो सबै केन्द्रीय स्नायु प्रणालीद्वारा नियन्त्रित हुन्छ र भावनाबाट प्रभावित भएको हुन्छ । यदि हामी उत्साहित या चिन्तित या दुःखी हुन्छौँ भने हाम्रो स्वर परिवर्तन हुन्छ,’ साओ पाउलो फेडेरल विश्वविद्यालयमा स्पीच थेरपिस्ट रेनाटा अजेभेडोको भनाइ छ ।

त्यसमाथि शिक्षा, स्थान र संस्कृतिले पनि आवाजमा प्रभाव पारेका हुन्छन् ।

‘हरेक भाषाको आफ्नो विशेष आवाज हुन्छ । उदाहरणका लागि अंग्रेजीमा ‘फोनिम्स’ हुन्छ जुन पोर्चुगीजमा हुँदैन,’ अजेभेडो भन्छिन् ।

छन्दशास्त्र – लय, सुर र रागको प्रवृत्ति पनि फरक फरक हुन्छ ।

‘इटालियन डिनर टेबलमा आवाजको तह जापानीभन्दा धेरै नै चर्को हुने गर्छ । एउटै संस्कृतिमा व्यक्तित्वले पनि आवाजमा फरक पार्छ – कति छिटो छिटो हामी बोल्छौँ, कति कुरा हामी व्यक्त गर्छौं हामी कस्तो हाउभाउ प्रयोग गर्छौँ, त्यसमा हामीले अँगालोको संस्कृतिको ठूलो प्रभाव हुने गरेको छ,’ अजेभेडोको तर्क छ ।

हाम्रो आवाजले सन्दर्भ र सांस्कृतिक पहिचानबाट पनि आकार लिने एङ्गलबर्ट बताउँछिन् ।

‘जब हामी कुनै विदेशी भाषा बोल्छौँ त्यो कुनै विशेष सन्दर्भमा बोलिरहेका हुन्छौँ र त्यसले हामी कस्तो बोल्छौँ भन्नेमा प्रभाव पारेको हुन्छ,’ उनी भन्छिन्, ‘जस्तो कि म खासगरी कामको सन्दर्भमा अंग्रेजी बोल्छु, त्यसैले मैले त्यस्तो ध्वनि प्रयोग गर्छु जुन मेरो परिवारसँगको कुरा गर्ने भाषामा प्रयोग गर्दिनँ । उद्देश्य, परिस्थिति र सामाजिक भूमिकाले पनि हामी कस्तो सुनिन्छौं, त्यो तय गर्छ ।’

यो परीक्षण गर्न उनले अमेरिकामा पोर्चुगिज र अंग्रेजी बोलिरहेका ब्रजिलियनहरूका आवाज रेकर्ड गरिन् । उनीहरूले लेखहरू पढेको र बोलेको पनि कैद गरिन् । त्यो बेला उनले फरक स्पष्ट देखिन् । पोर्चुगिज बोल्ने सहभागीहरू– खासगरी महिलाहरूले आफ्नो आवाजलाई नरम बनाएर बोल्थे । अंग्रेजीमा उनीहरूको आवाज कम चर्को थियो तर मजबुत थियो । केही महिलाले वाक्यको अन्त्यमा लगभग खासखुस गरेको जस्तो पनि थपेर बोलेका थिए, जुन अक्सर अमेरिकी अंग्रेजीमा सुनिन्छ ।

त्यसपछि उनले त्यो रेकर्डिङलाई दोभासे श्रोताहरूलाई सुनाइन्, उनीहरूले आवाजमा आएको परिवर्तनलाई बारम्बार खुट्याए । उनीहरूले आवाजलाई उँचो, गहिरो, नरम र ठोसका रूपमा वर्णन गरे ।

तर उनले व्यक्तित्वको गुणमा पनि जोड दिए । कोही बोल्दा उत्साहित हुन्छ, कोही सङ्कोच मान्ने पनि हुन्छन् र कोही आत्मविश्वासी र असुरक्षित पनि हुन्छन् । तिनले बोलीमा फरकपना आउने गर्छ ।

एङ्गलबर्टका लागि परिवर्तन व्यक्तिपरक भन्दा अन्य केही पनि भएको प्रमाणित भयो ।

त्यो परिवर्तन नाप्न सकिन्थ्यो, थाहा पाउन सकिन्थ्यो र सांस्कृतिक रूपमा प्रभावित देखिन्थयो । उनको ब्रजिली द्विभाषीय समूहले आफ्नो अंग्रेजी आवाजलाई अमेरिकी वक्ताहरूसँग जोडिएको गुणसँग मेल खाने गरी मिलाउन सक्छन् – गहिरो, बलियो र आफ्नो कुरामा जोड दिने ।

यद्यपि उनको भनाइ छः यो तुलनात्मक रूपमा कम अध्ययन गरिएको क्षेत्र हो र मानिसहरू दोस्रो भाषामा लय स्वर र अभिव्यक्तिलाई मानिसहरूले कसरी लिन्छन् भन्ने जस्ता कैयौँ प्रश्न अहिले पनि बाँकी नै छन् ।

दुई भाषामा बोल्दै भएको हुर्काइ

एक भन्दा बढी भाषा बोल्दै हुर्किएका मानिसहरूमा फरक भाषामा केही फरक आवाज निस्किन्छ ।

एङ्गलबर्टको तर्क छः दुई भाषीको परिभाषा फरक फरक हुन्छ । उनी भन्छिन्, ‘उदाहरणका लागि सन् १९९० को दशकको अध्ययनबाट क्याटलन स्पेनिश दुई भाषीबीच आवाजमा परिवर्तन कम देखिन्छ तर त्यसमा पनि एउटा भाषा प्रमुख हुन्छ – त्यो भाषा जसमा उनीहरू अधिक आत्मविश्वास धमहसुस गर्छन् ।’

जसले दोस्रो भाषा किशोरावस्थामा वा वयस्क भएपछि सिक्छन् उनीहरूमा सुरुवाती दिनमा ठूलो फरक देखिन्छ ।

‘जतिबेला तपाईँ नयाँ भाषा सिक्न सुरु मात्र गर्नुभएको हुन्छ त्यतिबेला लय, सुर र स्वरमा ठूलै फरक पनि देखिन्छ । जब दखल बढ्दै जान्छ र सजिलो हुन थाल्छ अनि ती फरकपन पनि खुम्चिँदै जान्छन्,’ अजेभेडो भन्छिन् ।

सन्दर्भले पनि उत्तिकै महत्व राख्छ । ‘जति तपाईँको अनुभव बढ्दै जान्छ अनुकूलन त्यति नै स्वाभाविक बन्दै जान्छ र नयाँ भाषामा तपाईँको ‘अर्को संस्करण’लाई आत्मविश्वासी र प्रखर बन्न सजिलो बन्दै जान्छ,’ उनको भनाइ छ ।

व्याकरण र शब्दावलीभन्दा बढी

कुनै भाषा सिक्नु भनेको शब्दहरू र नियम जान्नु मात्र कदापि होइन ।

मानिसहरूसँग वास्तविक वार्तालाप र सोही भाषा मातृभाषा हुनेहरूलाई सुन्नु र त्यो संस्कृतिसँग सङ्गीत फिल्म र साहित्यमार्फत् सक्रिय हुनुबाट भाषामा दखल बढ्दै जान्छ र एउटा भाषाबाट अर्कोमा जाँदा हुने परिवर्तनलाई सहज बनाइदिन्छ ।

अजेभेडो भन्छिन्, ‘जति धेरै हामी सांस्कृतिक रूपमा डुब्छौँ उनी नै त्यो भाषाको लय र ध्वनि अपनाउन पुग्छौँ, चाहे त्यो भाषण, साहित्य, खाना वा सङ्गीतको माध्यमबाट किन नहोस् ।’

उनी बोलाइको सूक्ष्म विवरणमा ध्यान दिनुको महत्वमा जोड दिन्छिन् । ‘कयौँ लयात्मक र अभिव्यक्तिका तौर तरिका औपचारिक कक्षामा पढाइन्नन् । तर तिनले हामी कति फररर बोल्छौँ र बुझिने गरी बोल्छौँ भन्नेमा ठूलो फरक पार्छन् ।’

जहाँसम्म उच्चारण फरक हुने कुरा छ, त्यो पूर्ण रूपमा जानेँ भन्ने हुँदैन र त्यो ठीकै पनि छ । ‘तपाईँ त्यसलाई नरम बनाउन सक्नुहुन्छ तर तपाईँको उच्चारणको तरिका तपाईँको एक हिस्सा पनि हो, त्यो तपाईँको पृष्ठभूमि र पहिचानको प्रतिविम्ब हो,’ अजेभेडो भन्छिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्