नेभिगेशन
खेलकुद

यु–१९ टोलीलाई गरियो बिदा

भैरहवा । युएईमा हुने एसिया क्वालिफायर क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टीमलाई बिदाइ गरिएको छ । आइतबार बिहान रुपन्देही क्रिकेट संघले खेलाडी र प्रशिक्षकलाई भैरहवामा आयोजित एक समारोहबीच बिदाइ गरेको हो । यु–१९ का ३० जना खेलाडीले पछिल्लो १५ दिन सिद्धार्थ क्रिकेट रंगशालामा प्रशिक्षण लिएका थिए । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा युएईमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टीम घोषणा गर्दैछ । प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम छनोट भइसके पनि क्यानले अझै आधिकारिक घोषणा नगरेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले बताए । एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० तारिखसम्म युएईमा एसिया क्वालिफायर हुँदैछ । बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक श्रेष्ठले छोटो समयमा भए पनि राम्रो रंगशालामा प्रशिक्षण लिइएको बताए । उनले आफूहरूको लक्ष्य एसिया कपका लागि छनोट हुने मात्र नभई क्वालिफायरमा विजेता बन्ने रहेको जनाए । यसका लागि खेलाडीहरू उच्च बनोमलमा रहेको उनको भनाइ छ ।

बिदाइ कार्यक्रममा पञ्चकन्या समूहका उपाध्यक्ष तथा वरिष्ठ उद्योगपति ध्रुवकुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका संस्थापक प्रेमकुमार सेन्चुरी, कार्यसमिति सदस्य प्रथम पराजुली लगायतले बोल्दै उच्च बनोबलका साथ प्रदर्शन गरेर छनोट खेलको विजेता बन्न शुभकामना दिए । उनीहरूले कुनै समय क्रिकेटमा भविष्य छैन भन्ने दिन रहेको स्मरण गर्दै अहिले क्रिकेट खेल सबैको मनमा बसेको बताए । उनीहरूले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको बताउँदै राम्रो खेल्ने खेलाडीको भविष्य उज्ज्वल रहेको जनाए ।

पशिक्षणका क्रममा ३० जना खेलाडीहरूको छुट्टाछुट्टै टीम बनाएर आन्तरिक प्रतिस्पर्धा समेत गराइएको थियो । उनीहरूबाट उत्कृष्ट प्रदर्शन गर्ने, अनुभव लगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट गरिएको जनाइएको छ ।

यसैबीच एसिया क्वालिफायरमा विजेता बने यु–१९ टीमलाई एक लाख १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा संघका अध्यक्ष हरिबहादुर थापाले गरेका छन् । यस्तै, पञ्चकन्या समूहले पनि विजेता बने टीमलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्