सप्तरी । राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अब अनलाइनमार्फतै मतदाता नामावली दर्ता गराउन सक्ने सुविधा आएसँगै सप्तरीको निर्वाचन कार्यालयमा सेवाग्राहीको चाप उल्लेख्यरूपमा घटेको छ ।
असोज ८ गते जारी गरिएको मतदाता नामावली अध्यादेश २०८२ आएपछि केही समय निर्वाचन कार्यालयहरूमा सेवाग्राहीको भीड देखिएको थियो । तर, राष्ट्रिय परिचयपत्र नम्बर भएकोले अब अनलाइनमै दर्ता गर्न मिल्ने प्रणाली लागु भएपछि त्यो भीड कम हुँदै गएको छ ।
२०७९ मा निर्वाचित प्रतिनिधि सभाको कार्यकाल पूरा हुनुअघि नै आगामी फागुन २१ गते आम निर्वाचनको वातावरण बनेपछि देशभरै मतदाता नामावली दर्ताबारे चासो बढेको छ । विशेषतः जेनजी आन्दोलन सक्रिय बनेपछि पनि नयाँ मतदाता जोडिन उत्साहित देखिन थालेका छन् ।
पहिले आयोगको वेबसाइटबाट प्रि–इनरोलमेन्ट मात्र गर्न सकिने, त्यसपछि बायोमेट्रिक र फोटो खिचाउन अनिवार्यरूपमा कार्यालय जानुपर्ने व्यवस्था थियो । तर नयाँ प्रणाली लागू भएपछि नागरिकले आवश्यक सबै विवरण आफ्नै मोबाइल वा कम्प्युटरबाट भरेर पूर्णरूपमा दर्ता प्रक्रिया पूरा गर्न सक्ने भएका छन् ।
सप्तरी निर्वाचन कार्यालयका प्रमुख रमेश जोशीका अनुसार अनलाइन प्रणाली लागु भएपछि कार्यालयको दैनिकी निकै सहज भएको छ ।
‘अनलाइन दर्ता खुल्दैजाँदा कार्यालयमा भिड घटेको छ । नागरिकहरूलाई घरमै बसेर दर्ता गर्न सजिलो भएको छ,’ जोशीले बताए ।
दर्ता भएका मतदाता संख्या वृद्धि
कात्तिक ३० गतेसम्मको समयसीमामा सप्तरीमा १० हजार सात सय ८१ जना नयाँ मतदाता दर्ता भएका छन् । नयाँ मतदातामध्ये पाँच हजार सात सय ६२ पुरुष र पाँच हजार १९ महिला रहेका छन् । सप्तरी बाहिरका जिल्लाबाट आएका ३० पुरुष र १० महिला समेत यहाँ दर्ता भएका छन् ।
दर्ता गर्न आउनेमध्ये नवयुवा, रोजगारीका कारण पहिले दर्ता गर्न नपाएका र अब देशको नेतृत्व परिवर्तनमा आफूले पनि योगदान दिन चाहने नागरिकको सहभागिता उल्लेख्य छ ।
३५ वर्ष पुगेपछि पहिलोपटक मतदाता नामावली दर्ता गराउन आएका बैजु यादव भन्छन्, ‘पहिले कामको सिलसिलामा बाहिर हुँदा दर्ता गर्न पाइन्थ्यो । अब नेतृत्व परिवर्तनमा आफ्नो मतको महत्व ठूलो भएकाले दर्ता गराएँ ।’
यस्तै नयाँ मतदाता लालु कुमारले देशमा बढ्दो भ्रष्टाचार, घुसखोरी र कुशासनका कारण नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता जनाए । ‘पुराना नेताले देशलाई यही ठाउँमा पुर्याए । अब नयाँ पुस्तालाई मौका दिनुपर्छ,’ उनले बताए ।
सप्तरीमा ४ निर्वाचन क्षेत्र, ४ लाखभन्दा बढी मतदाता
सप्तरीमा प्रतिनिधि सभाका ४ निर्वाचन क्षेत्र छन् । जिल्लामा हाल ४ लाख १८ हजार ७८२ जना मतदाता दर्ता भइसकेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै मंसिर ५ गतेसम्म नामावली दर्ता प्रक्रिया निरन्तर चलिरहेको छ ।
अनलाइन प्रणालीले मतदाता दर्ता सहज बनाएको, नागरिकको समय र खर्च दुबै जोगिएको, र निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण थप खुला भएको स्थानीयहरूले बताउँदै आएका छन् ।