जनकपुरधाम, ३० साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नयाँ शक्ति भनेर दाबी गर्नेहरूले जनतामा भ्रम सिर्जना गरिरहेको आरोप लगाएका छन् । जनकपुरधाममा शुक्रबार मधेश प्रदेश प्रहरीको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनी नयाँ दलहरूमाथि खनिए । नयाँ शक्ति भनेर दाबी गर्नेहरूको देशमा केही योगदान नरहेको दाबी पनि उनले गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै नयाँ भनिएका दलले देशमा अराजकता मच्चाउन भ्रम छरिरहेको बताए ।
‘केही तत्व देशमा अराजकता फैलाउन, मच्चाउन, कुदिरा'ख्या छन् । आम जनतालाई नयाँ शक्ति हौं भनेर भ्रममा पारिरा'ख्या छन्,’ उनले भने, ‘भर्खर खोलेका पार्टी, भवितव्यले खुलेका पार्टी, नयाँ त हुने नै भए । जसको कुनै योगदान छैन ।’ जसको आफ्नो योगदान हुन्न उसलाई देशको र व्यवस्थाको माया पनि नहुने उनले बताए । नयाँ पार्टीतर्फ संकेत गर्दै उनीहरूलाई वर्तमान व्यवस्था अत्यन्तै अप्रिय लागेको उनले बताए । यो व्यवस्था रहिरहने तर केही सुदृढ गरिने उनले उल्लेख गरे ।
‘हामीले संघर्ष गरेका छौं, त्याग गरेका छौ, बलिदान गरेका छौं आजको स्थितिमा पुग्नका लागि । सहिद र अंगभंग भएका छन् मान्छेहरू । धेरैले शहादत प्राप्त गरेका छन्,’ उनले भने । प्रधानमन्त्री ओलीले संघर्षका दिनमा कोही भूमिगत भएको, कोही जेलनेल व्यहोरेको र लामो संघर्षबाट अहिलेको लोकतन्त्र आएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘ठूलो क्षतिबाट डेमोक्रेसी ल्याइएको हो, अन्धकार युगबाट देशलाई आजको दिनमा ल्याइएको हो । त्यस कारण जसले संघर्ष गरेर आए उसलाई माया छ, जोगाउन चाहन्छन्,’ प्रधानमन्त्री ओलीले भने । जसले संघर्ष गरेको होइन, जसले यो दिन आउन दिन खोजेका थिएनन् उनीहरूले लोकतन्त्र भत्काउन चाहेको पनि उनले बताए ।
विभिन्न्न माग राखेर रास्वा र राप्रपाले लामो समयदेखि संसद बैठक बहिष्कार गर्दै आएका छन् । संसदले उक्त विषयलाई ध्यानकर्षण भएको देखाएको छैन । न त सत्ताधारी दलहरूले दुवै दललाई बोलाएर सोधेको छ । दुवै दलले आफ्ना असन्तुष्टिलाई सरकारले नजअन्दाज गरिरहेको बताइरहेका बेला ओलीले भने त्यसलाई मिहिन तवरले हेरिरहेको संकेत गरे ।
उनले भने, ‘उनीहरू देशलाई बरबादी बनाउन चाहन्छन् । ती संसदमा आए झैं गर्छन्, हाजिर गर्छन्, भत्ता पड्काउँछन्, अनि बाहिर जान्छन् ।’ प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेको संयुक्त सरकारले सुशासन र विकासलाई अघि बढाउन लागिपरेको दाबी गरे । उनले राष्ट्रलाई सुशासनको दिशामा अगाडि बढाउन विनाझन्झट सेवा सुविधा उपलब्ध गराउने अभिभारा सरकारले बोकेको बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि नयाँ संकल्पका साथ सरकार अगाडि बढिरहेको उनको भनाइ थियो । मधेश प्रदेश प्रहरीलाई सम्बोधन गर्दै उनले प्रहरीले आफ्नो कर्तव्यनिष्ठ व्यवहार, अपराध, अनुसन्धानलगायत लागूऔषध निन्त्रण तथा देशलाई बर्बादीतर्फ धकेल्ने तत्वतर्फ विशेष सजग र सर्तक हुन जरुरी रहेको बताए । प्रधानमन्त्री ओलीले शुक्रबार नै धनुषाको मनहरपुरमा हँसपुर खरिहानी सिमगरी सडकको एक कार्यक्रम बीच शिलान्यास गरेका छन् ।