भैरहवा, ३० साउन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । पार्टी संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यसहित भैरहवामा दुई दिने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि शुरु भएको हो ।
लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला, क्षेत्र र स्थानीय तहका २५० प्रतिनिधिहरू सहभागी छन् ।
रास्वपाका केन्द्रीय सहमहामन्त्री तथा प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यले बागमती र कोशीपछि लुम्बिनीमा तेस्रो चरणको प्रदेशस्तरीय प्रशिक्षण सुरु गरिएको जानकारी दिए । ‘हामी संगठनलाई पालिकास्तरसम्म लैजाने लक्ष्यसहित अगाडि बढिरहेका छौं,’ उनले भने, ‘प्रशिक्षणको माध्यमबाट पार्टीका नीति, कार्यक्रम र दृष्टिकोणलाई तल्लो तहसम्म पुर्याउन चाहन्छौं ।’
आचार्यका अनुसार प्रशिक्षण रुपन्देही–३ मा हुने उपनिर्वाचनलाई लक्षित गरेर नभई पार्टीको दीर्घकालीन संगठन विस्तार योजनाअन्तर्गत गरिएको हो ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि रास्वपाको विचार, नीति र कार्यदिशा जनतासम्म पुर्याउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने बताए । ‘कतिपय पालिकामा अझै समिति गठन हुन बाँकी छ,’ उनले भने, ‘हाम्रो मूल उद्देश्य सबै पालिकामा संगठन बनाउने र पार्टीलाई बलियो बनाउने हो ।’
उनका अनुसार प्रशिक्षणमा केन्द्रले दिने निर्देशनबाहेक तल्लो तहका अपेक्षा र सुझाव पनि संकलन गरिनेछ । साथै, आगामी २०८४ सालको आमनिर्वाचनलाई ध्यानमा राख्दै देशभर ४ हजार सक्षम उम्मेदवार तयार गर्ने अभियान अन्तर्गत संगठन विस्तार भइरहेको उनले जनाए ।
रुपन्देही–३ को उपनिर्वाचनको सन्दर्भमा महामन्त्री बुर्लाकोटीले परिवर्तन चाहने स्वतन्त्र र समान सोच भएका व्यक्तिहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको बताए ।
प्रदेश सभापति देवराज पाठकले प्रशिक्षणमा प्रदेशका विभिन्न तहका प्रतिनिधिहरूको सहभागिता रहेको र पहिलो दिन ९ जना सम्भावित उम्मेदवारलाई सार्वजनिक रूपमा प्रस्तुत गरिएको जानकारी दिए ।
कार्यक्रमको उद्घाटन कार्यवाहक सभापति डीपी अर्यालले गरेका हुन् । पहिलो दिनको प्रशिक्षणमा महामन्त्री बुर्लाकोटी, कोषाध्यक्ष लीमा अधिकारी, केन्द्रीय सदस्य सुमना श्रेष्ठ, तोषिमा कार्की र क्रान्तिशिखा धितालले आ–आफ्ना विषयमा प्रशिक्षण दिएका थिए ।
शनिबारको सत्रमा उपसभापति स्वर्णिम वाग्लेले ‘अर्थ–राजनीतिक धार’ तथा लुम्बिनीको आर्थिक सम्भावनामाथि प्रशिक्षण दिनेछन् । प्रवक्ता मनिष झा, सहमहामन्त्री आचार्य र केन्द्रीय प्रशिक्षण विभाग सचिव कमल सुवेदीले पनि प्रशिक्षण दिने कार्यक्रम छ ।