हरेक मानिसको सोच फरक-फरक हुन्छ । फरक हुनुको कारण ऊ उपर हुने आन्तरिक र वाह्य कार्य–प्रतिकार्यको अवस्थाको प्रभाव हो । फरक–फरक सोच भए पनि जब लाभ र हानीको कुरा आउँछ, स्वार्थसँग जोडिएकाहरूको छुट्टै समूह तयार हुन्छ र त्यही स्वार्थले मानिसलाई दायाँ–बायाँ, अगाडि–पछाडि हिँडाइरहेको हुन्छ ।
गोविन्द कुसुम
स्वार्थका अगाडि सदाचारयुक्त वास्तविकताको पक्ष ओझेलमा पर्छ । सदाचार र नैतिकताबारेको दर्शनशास्त्रले नैतिक तर्क र कार्य कारणले मूल्य–मान्यतालाई सही आकारमा परिवर्तन गर्नेतर्फ जोड दिन्छ । परिणामतः व्यक्तिमा उत्तरदायी, न्यायपूर्ण र करुणा भावयुक्त व्यवहारको विकास हुन्छ । यदि कुनै व्यक्तिले सफलता भनेको धन कमाउनु हो भन्ने विचार राख्छ र धन प्राप्त गर्नको लागि हुने–नहुने काम गर्छ भने उसका लागि धन प्राप्ति मात्र सफलताको द्योतक होला तर यथार्थमा त्यो होइन ।
सफलता भनेको समाजको उत्थान हो, राष्ट्रको समृद्धि हो । यसका लागि असल काम गर्नु हो भन्ने विचार यदि आउँछ भने विचारको त्यो एउटा पाटोबाट अर्को पाटोमा सकारात्मक परिवर्तन भएको मानिन्छ । र, यही वैचारिक परिवर्तनबाट व्यवहारमा परिवर्तन हुन्छ । ज्ञानको सिद्धान्तले हामीलाई के थाहा छ र हामीले कसरी थाहा पाउँछौँ भन्ने पक्षलाई सूक्ष्म तरिकाले व्यवस्थित ढाँचामा परीक्षण गर्दछ ।
यो परीक्षणअनुसार मानिसको सोचलाई समृद्ध बनाउने काम नयाँ ज्ञान, अनुभव र विभिन्न क्रियाकलापजन्य व्यवहारबाट हुन्छ । जब सत्यको प्रकटीकरण हुन्छ, सोचमा परिवर्तन आउँछ । जब सोचमा परिवर्तन आउँछ, तब व्यक्तिको व्यवहारमा पनि परिवर्तन देखिन्छ । सत्यको प्रकटीकरण ढिलो देखा पर्छ वर्षामा बादलले सूर्यलाई छोपेसरी ।
निराशावादी सोचले जसरी हाम्रो समाजको विभिन्न अङ्गलाई रोगी बनाएको छ, त्यो सुन्दा र बुझ्दा यस्तो लाग्छ– अब यहाँ केही हुनेवाला छैन, सबै बिग्रिसक्यो, खत्तम नै भइसक्यो । अर्थतन्त्र उठ्न सक्दैन । बेरोजगारी समस्या निराकरण हुँदैन, आदि आदि । के साँच्चै हाम्रो समाज यति निराश भइसकेको छ ? के हामीले मुलुकको उन्नतिका लागि केही गर्नै सक्दैनौँ ?
बीसौँ शताब्दीका अस्तित्ववादी विचारक जाँ–पाल सात्र्रेका अनुसार मानिसको स्वतन्त्रताका साथै जिम्मेवारी पनि हुन्छन् । स्वतन्त्रता उपभोग गर्दा जिम्मेवारी बोध हुनैपर्छ र उक्त जिम्मेवारी पूरा गर्नुपर्छ । केही गर्नै सकिन्न भन्ने सोच्नु उसको स्वतन्त्रता हो तर त्यसले समाज र समूहलाई कस्तो नकारात्मक प्रभाव पार्छ भन्ने बारेमा जिम्मेवार हुनुपर्छ ।
निज दार्शनिकको उपरोक्त विचारलाई सिरानी राखेर विश्लेषण गर्ने हो भने नकारात्मक सोचले नकारात्मक व्यवहार देखाउँछ, जसले गर्दा सिङ्गो संस्था वा समाज नकारात्मक हिसाबले प्रभावित हुन्छ । परिणामतः व्यक्तिको ऊर्जा घट्छ, गलत सोच आउँछ र आफैँ हारेको जस्तो देखिन्छ । यदि हामीले यो ठाउँमा केही पनि हुन्न, केही गर्नै सकिन्न भन्ने विचार मनमा राखेर हिँडिरह्यौँ र सोहीअनुसारको कार्य गर्दै गयौँ भने, त्यसले स्वदेश र विदेश सबैतिर हाम्रो मुलुक र समाजको छविलाई धुमिल बनाउनेबाहेक केही गर्दैन ।
जर्मन दार्शनिक इमान्युयल कान्टले सही सोचका लागि नैतिक कर्तव्य पूरा गर्नुपर्नेमा विशेष व्याख्या गरेका छन् । वास्तवमा नैतिकताको आधार कर्तव्य पालनासँग सम्बन्धित हुन्छ, न कि व्यक्तिगत लाभ र भावनासँग । यदि झुटो बोल्नु सार्वभौम सत्य हुने हो भने ‘सत्य’ भन्ने विषय नै रहने थिएन ।
त्यसो हो भने, के नकारात्मक सोचको आधार झुट हो ? सबै नकारात्मक सोचका पछाडि झुटले खेती गरिरहेको छ भन्ने होइन । कतिपय विषयमा झुट लुकेको हुन्छ । विषयवस्तुको गहिराइमा गएर सत्यतथ्यको वैज्ञानिक अध्ययन–विश्लेषण नगरी कुनै उद्देश्य पूरा गर्ने प्रयोजनका लागि नकारात्मक भाष्य निर्माण गरेर कुनै व्यक्ति वा तत्व सामाजिक सञ्जालभित्र प्रवेश गर्छ भने त्यहाँ क्रमशः सत्य ओझेलमा पर्छ र सामाजिक चेत एकोहोरो हुनगई दिमागमा नकारात्मक धारणाले घर बनाउँछ ।
नाजी जर्मनीका प्रोपोगाण्डा मन्त्री जोसेफ गोबेल्सले एउटा झुटलाई पटकपटक सत्य हो सत्य हो भनिरह्यो भने त्यो झुट पनि सत्य हुन्छ भनेझैँ आजको कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को युगमा असत्यलाई सत्य वा सत्यलाई असत्य गराउने धेरै मेहेनत गर्नु पर्दैन ।
नकारात्मक भाव किन ?
दिमागमा नकारात्मक भाव आउने कारणमध्ये पहिलो कारण त बाइलोजिकल सर्भाइभल इन्स्टिन्क्ट नै हो, जसले भय र त्रासबाट बच्न सदैव सतर्क रहनुपर्छ भन्ने मानसिकतालाई दिमागभित्र बसाएको हुन्छ र नकारात्मक भाव सिर्जनागरेको हुन्छ । नकारात्मक सोचले व्यक्तिलाई दिशा निर्देश गरेको हुन्छ । फलतः म खतरामा पर्छु, अमुक व्यक्ति खतरनाक छ जस्ता मनोभाव उठ्छन् ।
विगतका दुःखदायी घटनाले पनि मानिसमा जीवन यस्तै हो केही हुँदैन, वा देशले केही गर्दैन वा सरकारले कामै गर्दैन भन्ने विचार जगाउँछ । माओवादी द्वन्द्वपछि पीडितहरूमा यसप्रकारको भावना रहेको बुझ्न सकिन्छ । सामाजिक सञ्जाल र सञ्चारको क्षेत्रका प्लेटफर्महरूमा प्रस्तुत गरिने अनधिकृत विचारले समेत नकारात्मकता पैदा गराउँछ । मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले व्यक्ति र समूहलाई असत्यलाई सत्य मानेर हिँड्नुपर्ने वातावरण तयार पार्ने गर्छ । मिसइन्फर्मेसन भन्दा डिसइन्फर्मेसन ज्यादै खतरनाक हुन्छ ।
बीसौं शताब्दिको सत्तरीको दशकमा केजीवीले ‘डिसइन्फर्मेसन’ को माध्यमबाट भारतीय काँग्रेसका एक जना उपल्लो तहका उदीयमान नेताको राजनीति नै समाप्त पारेको थियो । एउटा यस्तो नक्कली पत्रपत्रिकामा छापियो, जसले ती राजनीतिक नेताद्वारा पाकिस्तानबाट पैसा लिएको भनिएको थियो । यसले गर्दा ती नेताले संसदीय चुनाव हारेका समेत थिए । नकारात्मक भावले नकारात्मक भाष्य निर्माण गर्न सहयोग गर्छ ।
नकारात्मक भाष्यले सही बाटोमा हिँडिरहेकोलाई दिग्भ्रमित बनाउँछ । परिणामतः उसले बाटो बिराउँछ । यस परिप्रेक्ष्यमा हेर्दा समूह वा व्यक्तिमा नकारात्मक भाव सिर्जना गर्ने गराउने काममा जे जति दृश्य र अदृश्य कारक र कर्ताहरू हुन्छन्, तिनीहरूको क्रियाकलापलाई उत्साहित पार्ने काम नैतिक कार्य हुन सक्दैन । नकारात्मक सोचको यो एउटा पक्ष हो, जुन आजको समाजमा फैलिँदै गएको छ ।
दोस्रो पक्ष हो व्यक्तिमा देखिने त्यसप्रकारको नकारात्मक सोच जुन अवसाद, निराशा, हतासा वा उदासीका कारणले आउँछ । यसप्रकारको अवसाद मूलतः एकप्रकारको रोग हो, जसको उपचार गर्न सकिन्छ र त्यसप्रकारको अवसादबाट निजाद पाउन सकिन्छ । यदि समय छँदै उपचार भएन भने, व्यक्तिमा आत्महत्या गर्ने विन्दुसम्म पुग्ने डर रहन्छ । अहिलेको विषय दोस्रो प्रकारको नकारात्मक सोचका बारेमा लेख्नु होइन । पहिलो प्रकारको नकारात्मक भावका बारेमा चर्चा चलाउनु हो ।
कर्मचारीतन्त्रलाई हेर्ने दृष्टिकोण
कर्मचारीउपर आम मानिसको धारणा सकारात्मकभन्दा पनि नकारात्मक बढी भएको पाइन्छ । कर्मचारी सबै घुस्याहा हुन् भन्ने पूर्वनिर्धारित मानसिकताले सेवाग्राहीलाई प्रभावित गरेको छ । के साँच्चै सबै कर्मचारी घुस्याहा हुन्छन् ? पटक्कै होइन, कर्मचारीहरू जो सार्वजनिक सेवा प्रवाहको अग्रपङ्तिमा बसेर सेवा प्रदान गर्ने जिम्मेवारी बोकका हुन्छन् । उनीहरू मध्येका केहीले व्यावसायिक सदाचार र नैतिकतालाई बिर्सेर घुस लिने वा समयमा काम नगरिदिने, दुःख दिने, तुरुन्तै हुने कामका लागि पनि भोलि आउनुस् भन्नेजस्ता व्यवहारले आम सेवाग्राहीहरूले कर्मचारीलाई घुस्याहाको रूपमा देख्ने गर्छन् ।
यसरी व्यवसायिक नैतिकतालाई छोडेर बेइमानीपूर्ण काम गर्दा सिङ्गो कर्मचारीतन्त्र बद्नाम हुने गर्दछ । भ्रष्टाचार परिणाम हो, कारण धेरै छन् । त्यसका बारेमा बेग्लै बहसको आवश्यकता हुन्छ । वास्तवमा कर्मचारीहरू जनताका सेवक हुन् । जनताले तिरेको करबाट पारिश्रमिक लिनेहरू सबै जनताका सेवक हुने भएकोले सिङ्गो कर्मचारी मात्र होइन, अन्य क्षेत्रमा बसेर राज्यको कोषबाट पारिश्रमिक लिनेहरू सबैको कानुनी र नैतिक कर्तव्य हो, आम नागरिकको सेवा र सुविधाका लागि दिलैदेखि काम गर्नु ।
यसरी काम गर्दा जहिले पनि आफ्नो व्यावसायिक सदाचारितालाई मनमा राखेर, सकारात्मक सोच लिएर काम सम्पादन गर्नु जरुरी छ । यहाँनेर सोच परिवर्तनको विषय पनि उठ्छ । सदाचार र नैतिकता निष्ठा र मूल्यजस्ता विषय कर्मचारीतन्त्रको संस्कार बन्नु जरुरी छ ।
त्यसैमा पनि प्रशासनिक विधिशास्त्रीय हिसाबले कर्मचारीतन्त्रले असल शासन स्थापित गर्ने, सङ्घीय प्रणालीप्रति जनविश्वास बढाउने, नागरिकको सुरक्षा र अधिकारको संरक्षण गर्ने र राजनीतिक तथा विषयगत संस्थाहरूउपर नागरिकहरूको विश्वसनीयता बृध्दिगर्नेजस्ता कामहरू गर्नुपर्छ, गरिरहेको हुन्छ । यसमा कर्मचारीहरूकै क्रियाशीलता प्रमुख तत्व हुनेहुँदा आफ्नो सोचलाई सदाचार र नैतिकताको माध्यमबाट उम्दारूपमा नागरिकहरूले महसुस गर्नेगरी व्यवहारमा रूपान्तरण गर्नु जरुरी छ ।
जसरी कर्मचारीको व्यवहार र पेसागत सदाचारबारे बरोबर प्रश्न उठाइने गरिन्छ, त्यसबाट सिङ्गो कर्मचारीतन्त्रले आफ्नो समीक्षा र मूल्याङ्कन आफैँले गर्नुपर्ने स्थितिलाई उजागर गरेको छ । अर्कातिर कर्मचारीका पनि आफ्नै गुनासाहरू रहेको सुन्न र बुझ्न पाइन्छ । कर्मचारीलाई मूलतः राजनीतिक दबाबमा काम गर्नुपर्ने स्थितिले कर्मचारीको कार्यसम्पादन चाहेजस्तो हुनसकेको छैन । राजनीतिक नेताहरूको दबाब सङ्घमा मात्रै होइन स्थानीय र प्रदेश तहमा पनि उत्तिकै रहेकोले जसरी हुन्छ जागिर जोगाएर काम गर्नुपर्छ भन्ने मानसिकता धेरै कर्मचारीहरूमा रहेको छ ।
कर्मचारी ट्रेड युनियनदेखि नेतालाई खुसी बनाउन सकिएमा मात्र आफ्नो वृत्तिविकास सुनिश्चित हुने विश्वासमा काम गर्ने कर्मचारीहरूको कमी छैन । सबै कर्मचारी यस्तै छन् भन्ने होइन । दबाबको बेवास्ता गरेर काम गर्ने कर्मचारीहरू धेरै छन् । उनीहरूबारे खासै चर्चा हुँदैन । कारण चर्चा त नकारात्मक पक्षको विषयमा धेरै हुन्छ ।
सायद, राजनीतिक नेता वा मन्त्रीले कर्मचारीले हामीलाई सहयोग गरेनन् भन्ने जुन सोच उनीहरूमा छ, त्यसको पछाडि दबाबलाई पन्छाएर काम गर्ने कर्मचारीहरूको कारणले हुनसक्छ । जे होस, एउटा प्रष्ट कुरा के हो भने, सकारात्मक सोचको विकास कर्मचारीका साथै शासकीय मामिला हेर्ने राजनीतिक, प्रशासनिक, प्राविधिक लगायतका सबैको सन्दर्भमा उत्तिकै रुपमा हुनु आवश्यक रहेको छ ।