नेभिगेशन
प्रदेश

स्थानीय तहमा बढ्दो अविश्वास

६ महिनामा छैन एउटै उजुरी

महोत्तरी । महोत्तरीका सरकारी तथा स्थानीय तहका कार्यालयहरूमा गुनासो, सुझाव, उजुरी पेटिका पहिले पनि झुण्डिन्थे, अहिले पनि झुण्डिरहेका छन् । अहिले भने ती प्रयोगविहीन बनेका छन् ।

कार्यालयहरूमा राखिएका ती गुनासो पेटिकामा नागरिकले कुनै गुनासो, सुझाव वा उजुरी राख्दैनन् । कार्यालयहरूले पनि ती उजुरी पेटिका खोल्ने जाँगर चलाउँदैनन् ।

मूलतः सरकारी सेवा प्रवाहप्रति गुनासो र असहजतालाई सम्बोधन गर्न नागरिकले दिने सुझाव र सरकारी सेवा प्रवाह वा सेवाप्रदान गर्ने कर्मचारीमा देखिएको त्रुटिउपर उजुरी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उजुरी पेटिका राखिए पनि सर्वसाधारणले आफ्नो प्रतिक्रिया लेखेर सहजै उजुरी पेटिकामा राख्दैनन् ।

उजुरी पेटिका पर्खालमा झुन्डिएको अवस्थामा मात्र देखिन्छ । पेटिकाहरू कतै खिया लागेको, माकुराको जालोले छोपिएको, टुटेफुटेकोजस्ता कारणले सर्वसाधारणले उजुरी हाल्न हिच्किचाउने गरेका छन् ।

प्रक्रिया पूरा गर्नकै लागि अधिकांश निकायमा पेटिका राखिने गरेकाले सर्वसाधारणको चासो कम हुँदै गएको छ । कतिपय कार्यालयहरूमा त सर्वसाधारणले सहजै देख्ने स्थानमा पनि नरहेको देखिन्छ ।

विगतमा सरकारी कार्यालयहरूले सरकारप्रति जनविश्वास बढाउन, सरकारी कार्यालयमा हुने ढिलासुस्ती, अनियमितता तथा सुधारको लागि उजुरी पेटिका राख्ने र आएका उजुरीहरूको उचित सम्बोधन गर्ने गरेका थिए । अहिले भने उजुरी पेटिका नै बिमार भएको र कार्यालयहरूले समेत त्यस तर्फ ध्यान केन्द्रित नगरेको स्थानीयको गुनासो छ ।

स्थानीय संजीत पाठक भन्छन्, ‘समयसँगै प्रविधिको विकासले गर्दा पनि सरकारी सेवा प्रवाहप्रति नागरिकले समाजिक सञ्जालमार्फत गुनासो गर्ने चलन बढेको छ । त्यसैले यस्ता उजुरीपेटिकाको प्रयोग न्यून वा पूर्णतः बन्द भएको हुनसक्छ ।’

त्यसो त समाजिक सञ्जालमार्फत गरिएका गुनासो त कतिपय अवस्थामा सम्बोधन वा अनुसन्धान तथा कारवाही गरिँदैनन् । कतिपय अवस्थामा विषय तोकेरै वा गोप्य उजुरीसमेत गर्नुपर्ने खण्डमा उजुरी पेटिका उपयुक्त हुन्छ । पाठक भन्छन्, ‘सुशासन सुदृढ पार्न सरकारी कार्यालयहरूमा सेवाग्राहीको गुनासो सुन्न पेटिका भए गोप्य उजुरीहरू गर्न सजिलो हुन्छ ।’

गोपनीयताका विषयमा समेत कार्यालयहरू संवेदनशील हुनुपर्ने पाठक बताउँछन् । नयाँ नयाँ प्रविधि आएसँगै कार्यालयहरू प्रविधिमैत्री हुनुपर्ने नै हो तर समाज प्रविधिअनुकूल ढल्न नपाएका कारण पनि पेटिका नै उपयुक्त हुने महोत्तरीका स्थानीय आशुतोष झा बताउँछन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीमै पछिल्ला छ महिनामा उजुरी पेटिकामा एउटा पनि गुनासो वा उजुरी नपरेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी संजय कुमार पोखरेल बताउँछन् । यस्तै सूचनाको हक प्रयोग गरी तथ्यांक माग्नेहरू नभएको पोखरेलले बताए ।

नागरिक प्रविधिमैत्री हुँदै जाँदा सरकारी सेवाप्रवाह पनि प्रविधिमैत्री हुँदै जानु सकारात्मक हो । तर त्यससँगै गुनासो गर्ने प्रविधि पनि सहज, गोपनीयता र सुरक्षित राख्ने सुनिश्चितता हुनुपर्ने झा बताउँछन् ।

विद्युतीय गुनासो पेटिका, हेल्लो सरकारजस्ता माध्यमप्रति जनतालाई जागरूक बनाउनु र उजुरी गर्न नागरिक स्वंय पनि सचेत र जागरूक हुनु आवश्यक रहेको झाको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश