नेभिगेशन
प्रदेश

किराले नष्ट भए सुन्तला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसानहरू सुन्तला उत्पादन घटेपछि चिन्तित छन् । विगतमा लाखौंको आम्दानी दिलाउने सुन्तला खेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको छ । किसानका १६ वर्षे लगानी र मिहिनेत विनाश हुँदै जाँदा स्थानीयको मनमा भविष्यप्रति गहिरो निराशा छाएको छ ।

साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका कृषक भोजबहादुर कार्कीलाई सुन्तला र जुनारखेतीले विगतमा राम्रो आम्दानी दिएको थियो । तर पछिल्ला केही वर्षहरूमा उत्पादन कम हुँदै गएको छ । फल झर्ने, कीरा प्रकोप र रोगले गर्दा अहिले बजारसम्म ल्याउन पनि मुस्किल भइरहेको छ । २०६६ सालदेखि सुन्तला खेती गर्दै आएका उनले विगतमा सुन्तला बिक्रीबाट सात लाखसम्म आम्दानी गर्ने गरेका थिए । तर यसवर्ष झरेका फल र कीराले गर्दा बजार लैजान नपाएपछि सुन्तला उत्पादनबाट उनको आम्दानी शून्य जस्तै भएको छ ।

लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले पनि सुन्तला बेचेर केही वर्षअघि लाखौंको आम्दानी गर्दै आएका थिए । तर अहिले कार्कीले लगाएको सुन्तलाको बोट रोग र संक्रमणका कारण कमजोर हुँदै गएका छन् । फल बाक्लै लागे पनि किराले खाएर झर्ने गरेको उनको गुनासो छ ।

लामिडाँडामा सुरुमा ३ घरधुरीले सुन्तला रोप्ने अभियान थालेका थिए । अहिले हरेकजसो घरमा १५ देखि ५० बोटसम्म सुन्तला छन् । तर सबै किसानले लगाएको सुन्तलामा उस्तै समस्या छ । मौसमी प्रकोपबाट सुरु भएको क्षति अहिले ‘किरा–रोग’ को ठूलो महामारी बनेको छ । असिनाले फूल नष्ट गर्नेदेखि वर्षातले असर पारेको छ भने पहिला जस्तो पानी पनि नपर्ने र परी हालेमा पनि ठूलो पर्ने समस्या छ । यो बदलिएको मौसमपछि उत्पादनमा नकारात्मक प्रभाव परेको किसान धनबहादुर तामाङ बताउँछन् ।

रोग–कीराले संक्रमित फलहरू माटोमै सड्न नदिने गरी खाल्डो खनेर गाड्नुपर्ने कृषि प्राविधिकहरूको सुझाव छ । झरेका फलका लार्भा माटोभित्र गई अर्को वर्ष झनै ठूलो प्रकोप ल्याउन सक्ने लार्भालाई माटोमै सड्न दिन नहुने प्राविधिकहरू बताउँछन् । रोग र कीराको प्रकोप नियन्त्रण गर्न समय लाग्ने जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारी बताउँछन् ।

सुन्तला रोग पहिचानका लागि प्रभावित बगैंचाबाट नमूना संकलन गर्न कुनै सरकारी निकायले पहल गरेका छैनन् । नमूना परीक्षण, रोग पहिचान, उपचार उपायबारे नार्क र कृषि प्राविधिकहरू गाउँमै आएर नमूना परीक्षण गरिदिन किसानहरूको माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार