आफ्नो इतिहास, निष्ठा, क्षमता र अनुभवका आधारमा आफू एमालेको अध्यक्ष बन्न आफू योग्य रहेको विश्वास एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको छ । यसले ओलीको तेस्रो कार्यकालको तयारीबीच पार्टीभित्र खुला प्रतिस्पर्धा हुने संकेत दिएको छ ।
जेन–जी आन्दोलनका मुद्दाहरू मूलतः सुशासन, भ्रष्टाचारको विरोध, सामाजिक सञ्जाल स्वतन्त्रताजस्ता सही रहेको पोखरेलको स्वीकारोक्ति । तर सरकार र पार्टीले ती संकेतहरू पहिल्यै आकलन गर्न नसक्नु गम्भीर कमजोरी भएको उनको प्रष्टोक्ति छ । ‘हिजोको योगदानले आजका समस्या समाधान हुँदैन’ भन्दै नेतृत्व शैलीमै सुधार आवश्यक छ भन्ने पोखरेलको टिप्पणी ।
पोखरेलले प्रत्यक्ष रूपमा योग्य नेतृत्वले उत्तराधिकारी बनाउने बाटो खोल्नुपर्ने बताएका छन् । ओलीले लामो समय पार्टी चलाइसके, अब नेतृत्व हस्तान्तरण ‘उचित’ हुन्छ । ओली विकल्पविहीन हुन् भन्ने कथन ‘गलत भाष्य’ भएको ठहर गर्दै, प्रतिस्पर्धाबाट नेतृत्व परिवर्तन नै सही मार्ग हो भन्ने उनको विश्वास छ ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औं महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गर्दै पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धालाई एकाएक तीव्र बनाएका छन् । मंसिर २७ देखि काठमाडौंमा हुने महाधिवेशनलाई ओलीको तेस्रो कार्यकालका लागि तयारी गरिरहेका छन् भने जेनजी विद्रोहपछि कमजोर बनेको ओली नेतृत्वलाई पोखरेलले चुनौती दिने घोषणा गरेका छन् । २०७८ मा सर्वसम्मत वरिष्ठ उपाध्यक्ष बनेका पोखरेल अहिले ओलीका लागि गम्भीर प्रतिद्वन्द्वीका रूपमा उभिएका छन् ।
भदौ २३–२४ को नवपुस्ताको विद्रोहले नेपालका राजनीतिक पार्टीमा नेतृत्व परिर्वतन र व्यापक सुधारको बहस तीव्र बनाएको छ । कयौं पार्टीहरू टुटफुट भइरहेका छन् भने नयाँ पार्टी पनि दर्ता हुने क्रम जारी छ । देशको वर्तमान राजनीति, जेनजी आन्दोलनको प्रभाव, एमालेको भविष्य, कम्युनिष्ट आन्दोलनको दिशा र आगामी बाटोबारे न्यूज २४ दैनिकका प्रधानसम्पादक नवराज चालिसे र डेक्स सम्पादक महेश पाण्डेयले नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग गरेको संवाद :
छोटकरीमा तपाईंको राजनीतिक जीवनबारे बताइदिनुस् न !
म नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठित धार, खासगरी झापा संघर्षपछि गठन भएको कोर्डिनेसन केन्द्र त्यसपछि बनेको नेकपा माले र पछि एकीकृत भएको नेकपा एमाले हुँदै यो ठाउँसम्म निरन्तर, अखण्डित र अविचलित रहँदै आएको व्यक्ति हुँ । म २०३२ साल वैशाखमा भूमिगत भएँ । आफ्नो समयमा म उत्कृष्ट विद्यार्थी थिएँ । त्यही समय मैले स्वीट्जरल्याण्डको ५ वर्षेको छात्रवृत्ति पाएँ तर भूमिगत हुनुपर्ने भएपछि सबै छोडेर पार्टीमा लागेँ । मैले छात्रवृत्ति, पढाइ र करियर सबै छाडेँ । कोर्डिनेसन केन्द्रको २०३३ सालको सदस्य म, २०३५ सालमा मालेको संस्थापक सदस्य भएँ । त्यसपछि मैले विभिन्न क्षेत्रहरू मध्यतराई र लुम्बिनीमा काम गरेँ । २०४६ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको पार्टी प्रमुख थिएँ । २०४७ सालमा नेकपा एमाले बनिसकेपछि म पार्टी केन्द्रीय कार्यालयको सचिव भएँ, सचिवालयको सचिव भएँ, प्रचार विभाग प्रमुख भएँ । संगठन विभागको दुई पटक प्रमुख भए । दुईपटक निर्वाचित महासचिव रहेँ । र, अहिले वरिष्ठ उपाध्यक्ष छु ।
त्यस्तो राम्रो पढाइ र छात्रवृत्ति पाएको मान्छे, के कुराले भूमिगत हुन प्रेरित ग¥यो ?
देश र जनताप्रति गम्भीर थिएँ । त्यसका लागि परिर्वतन र क्रान्ति आवश्यक छ भन्ने लागेको थियो । त्यसबेला देशव्यापी रूपमै आन्दोलनको स्थिति थियो । खासगरी भारतको नक्सलबाडी आन्दोलन, झापा विद्रोह बुझ्दै–पढ्दै अगाडि बढ्ने कोसिस गर्दै थिएँ । तिनैबाट म प्रेरित भएँ ।
भूमिगत हुन्छु भन्दा परिवारको प्रतिक्रया कस्तो थियो ?
दाजुहरू अलगअलग ठाउँमा आफ्नो पारिवारिक किसिमले बस्नुभएको थियो । मैले पिताजी र आमालाई जानकारी नदिई हिँडेँ । मेरो गतिविधिले केही चाल पाउनुभयो होला तर म हिँडेपछि त हिँडेको हिँड्यै भइयो । मैले यसबारे थुप्रै कुराहरू ‘आमा’ किताबमा लेखेको छु ।
आज नेकपा एमाले कहाँ छ ?
आजको नेकपा एमालेका दुई वटा कुरा छन् । यो निरन्तर उन्नति र प्रगतितर्फ बढिरहेको छ । सँगैमा यसले चुनौतीहरू पनि सामना गरिरहेको छ । चुनौतीहरू पनि आन्तरिक र बाह्य पक्षबाट खडा गरिएका अनेका खालका छन् । यी चुनौतीहरू सामना गर्दै एमाले अगाडि बढिरहेको छ ।
आन्तरिक र वाह्य चुनौती के रहेछन् त ?
बाह्यमा, हामी जुन भूराजनीतिक ठाउँमा रहेर देशभक्तिपूर्ण आन्दोलनलाई प्राथमिकता दिएर अगाडि बढिरहेका छौं । त्यसलाई कतिपयले नरुचाउने पनि छन् । देशभक्तिको भावना, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिँदा तिनलाई नरुचाउने शक्तिहरू छन् ।
यस्तै, आन्तिरिक चुनौतीहरूमा खासगरी कम्युनिष्टहरू र कम्युनिष्ट पार्टीलाई नरुचाउने शक्तिहरू कम्युनिष्ट संगठनहरू बलियो हुन नदिने शक्तिहरू छन् । दरबारिया र नेपाली कांग्रेसले पनि रुचाउँदैन् । अरू शक्तिहरू पनि कति छन्, खासगरी दक्षिणपन्थी धार बोकेका कम्युनिस्टहरूले रुचाउँदैनन् ।
खतरा हुन् पनि भन्नुहुन्छ तर पटकपटक उनीहरूसँगै मिलेर सरकार पनि बनाउनुहुन्छ नि ?
हाम्रो राजनैतिक इतिहासको एउटा वास्तविकता के हो भने, सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टी र उदार पुँजीवादको पक्षमा उभिएको नेपाली कांग्रेस मिल्दा र सहकार्य गर्दा परिवर्तनको राजनीतिक इतिहासमा ठूला परिवर्तनहरू पनि सम्भव भएका छन् । यिनीहरूको दुई आयामिक सम्बन्ध छ । यिनीहरू कहिले सहकार्य गर्छन्, सहकार्यको पाटो पनि छ । प्रतिस्पर्धा र प्रतिद्वन्द्विताको पाटो पनि छ । सहकार्य गरेर ऐतिहासिक उपलब्धिहरू प्राप्त भएका छन् । जस्तो, राणविरोधी आन्दोलन । राजा महेन्द्रले संसद् विघटन गरेर निर्दलीय र निरंकुश व्यवस्था लादेपछि पञ्चायत विरोधी आन्दोलन । ०३६ सालको जनमत संग्रह । ०४६ सालको जनआन्दोलन वा ०६२÷०६३ को आन्दोलन । संविधान निमार्णसम्मको कुरा । यी सहकार्यको पाटो पनि छ । मुलुक संकटमा पर्दा मिलेका पनि छन् र ऐतिहासिक उपलब्धिहरू पनि प्राप्त गरेका छन् ।
यी दुईबीच प्रतिद्वन्द्विता पनि छ । अस्वस्थ्य सम्बन्ध पनि छ । जस्तो, कांग्रेस पार्टीकै सभापति प्रधानमन्त्री भएको बेला २००८ सालमा नेपाल कम्युनिस्ट पार्टीमा प्रतिबन्ध लाग्यो । पछि पनि राजा र मेरो घाँटीसँगै जोडिएको छ भन्दै कम्युनिष्टहरूलाई एक्लाइयो पनि । तर सहकार्य गर्दा मुलुकले सकारात्मक उपलब्धि पनि प्राप्त गरेको छ ।
जेनजी विद्रोह हुनु र त्यस पछाडिको अवस्थाको एउटा कारण एमाले र नेपाली कांग्रेस मिलेर सरकारमा जानु पनि हो भनेर कयौंले भन्छन् नि ?
२०८१ साल असारमा कांग्रेस र एमालेको सरकार त्यसरी बन्नु त्यसको समीक्षा होला । कति उचित थियो, कति अनुचित थियो भनेर बहस हुनसक्छ । ०८१ सालको यो सहकार्यमा हामीले के तर्क गरेका थियौं भने मुलुक संकटमा गयो, राजनीतिक अस्थितरता बढ्दै गयो । यसलाई रोक्नका लागि दुई प्रमुख पार्टीहरू एक ठाउँ भयो भने यो म्याजिक नम्बरवालाहरूको जुन चलखेल थियो त्यो त हुँदैन भन्ने सोचले उन्नति प्रगति धेरै नगरे पनि डिटोरियट हुनबाट रोक्न सकिन्छ भन्ने सोचाइले गरेको हो । तर उद्देश्य राम्रो थियो ।
गत भदौ २३ र २४ गते देशमा जे–जस्ता घटना घटे, त्यसका कारणहरू के–के हुन् भन्ने लाग्छ ?
यसका दुईवटा पाटाहरू छन्, आन्तरिक र बाह्य । ग्लोबल÷रिजनल राजनीति, भूराजनीतिक अवस्थासँग गाँजिएका पक्षहरू पनि छन् । विश्व व्यवस्था जसरी बदलिँदैछ, त्यसको रिफ्लेक्सन छ । त्यसले अनुकूलता कसरी पायो त भन्दा हाम्रो अस्थिरता, सुशासन स्थापना हुन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, पछिल्लो समय सामाजिक सञ्जाललाई व्यवस्थित नियमन त गर्नुपथ्र्यो तर अदालतले फैसला गरिसके पनि कानून बनाएर संसद्बाट पास गर्ने प्रक्रियामा गरेको भए एउटा कुरा हुन्थ्यो । गुर्नपर्ने सही कुरा भए पनि गर्ने तरिका नपुगेको । त्यसकारणले यस्ता कुराहरूलाई एकत्रित गरेर बाह्य शक्तिहरू जो नेपालको भूमिमा वा यो भूमिलाई आधार बनाएर खेल्न खोज्दैथियो, त्यसले क्यापिटलाइज ग¥यो । आमरूपमा जुन असन्तुष्टि र नकरात्मकता थियो, त्यो जबरदस्त रूपमा देखियो ।
तपाईंको पार्टीका अध्यक्षले यो विद्रोहको चर्को आलोचना गरिरहनुभएको छ । तपाईंले जेनजी विद्रोहलाई जायज मान्नुहुन्छ ?
केपी ओलीले कुन प्रसंगमा भन्नुभो, त्यो नबुझी यसको सोलोडोलो उत्तर दिन सकिँदैन । जे मुद्दा जेनजीहरूका तर्फबाट आन्दोलनअगाडि उठाइएको थियो, ती मुद्दाहरू जायज थिए । सुशासनको कुरा, भ्रष्टाचार नियन्त्रण र समाजिक सञ्जाल माथिको प्रतिबन्ध फुकुवा लगायतका माग नजायज हुनै सक्दैनन् । हामीहरू पनि त्यही मुद्दाहरू लिएर अगाडि बढिरहेका थियौं तर युवाहरूले त्यो प्रभावकारी ढंगले नभएको ठाने । उनीहरूले उठाएका मुद्दामा कुनै समस्या छैन । तर, २३ गतेको १२–१ बजेतिर उनीहरूले नै हाम्रो आन्दोलनमा घुसपैठ भइसकेको छ, अब फर्किनुपर्छ भनेर व्यक्तव्य निकाले अनि भोलिपल्टको त कुरै नगरौं । २४ गते त सबै प्यारालाइज्ड हुने अवस्था भयो । त्यसकारण यसको विवेचना गर्नुपर्छ ।
जेनजीले उठाएका मुद्दा हाम्रा पनि थिए भन्नुभयो, दुई शक्तिशाली पार्टीहरू सरकारमा थिए । युवाका ती मुद्दा, असन्तुष्टि र २४ गतेको घटनाको आकलन गर्न सक्नु भएन नि ?
मैले जतिसुकै वकालत गरे पनि परिणामले आकलन नभएको देखायो । आकलन गर्नुपर्ने कुरालाई गम्भीरताका साथ लिइएनछ ।
किन त्यस्तो भयो ?
यो त हामी आफूभित्रको आन्तरिक कमजोरी हो ।
त्यसको अर्थ हाम्रो सरकार र पार्टीहरू असफल भए भन्ने पनि हो ?
असफल होइन, राम्रो कुरा गर्न खोज्दाखोज्दै पनि जुन किसिमको परिणाम आयो, त्यसले कमजोरी देखायो । मैले जस्तोसुकै तर्क गरे पनि, तथ्य राख्न खोजे पनि त्यसको के अर्थ हुन्छ र ? परिणामले त अयोग्य देखायो ।
नवपुस्ताले तपाईंहरूको पुस्तालाई असफल भनिरहेको छ, स्वीकार्नुहुन्छ ?
उहाँहरूले निरपेक्षरूपमा जे भन्नुहुन्छ, त्यस्तो होइन । गौरवशाली इतिहास भविष्यको मार्गचित्र र त्यो मार्गचित्र प्राप्त गर्न सक्ने संगठनात्मक सामथ्र्य र कार्यक्रम बोकेको शक्तिहरूलाई तिमीहरूको भविष्य छैन भन्ने कुरा कसरी हुन्छ ? हरेक संगठन गतिमा बाँचेको हुन्छ । हो, हाम्रो गतिसँग मिलेर जाने कुरामा बेलाबेलामा कमी कमजोरी भएको हुनसक्छ । ती कमजोरीको परिणाम हामीले भोग्न परेको हुन सक्छ ।
यो कमजोरी सांगठनिक वा नीतिगत नै हो कि व्यक्तिगत बढी भयो ?
यसमा नीति छुट्टै र व्यक्ति छुट्टै भन्ने हुँदैन । कहिलेकाहीँ सम्पूर्ण नीति सम्पूर्ण व्यक्ति, व्यक्तिले प्रतिनिधित्व नगरिरहेको पनि हुन सक्छ । अहिले समग्रतामा यत्ति बुझौं कि कमजोरीहरू देखिए । कमजोरीमा शक्तिहरूले खेल्ने मौका पाए ।
यो कमजोरी र खतरा अबका दिनमा कति छ ?
अबका दिनमा पनि छ । हामीले ढंग पु¥याएनौं, हामीले सावधानी अपनाएनौं, आफ्नो पार्टी संगठनलाई व्यवस्थापन गरेनौं, नीति–विधि र व्यवहारमा आफूलाई सुधार गरेनौं भने हिजोको कथा हालेर मात्रै वर्तमानको जिन्दगी चल्दैन । हिजो मैले यस्तो गरेको थिएँ, म जेल बसेको थिएँ, म भूमितग हिँड्याथेँ, यातनाहरू सहेँ, मेरो योगदान छ, मैले घर त्यागेँ, निर्वासित भएँ भनेर, महिमा मण्डन गरेर आजका समस्या समाधान हुँदैन । विगतका कुरा प्रेरणाका प्रसंग बन्न सक्छन् । वर्तमानको जिन्दगीलाई बाटो देखाउने कुरा हुन सक्दैन । आजको आवश्यकता के हो ? आम जनताको चासो, युवाहरूको चासो देशको चासो के हो ? त्यसमा केन्द्रित भएर हामीले उपाय निकाल्यौं, हामी अगाडि बढ्छौँ ।
जेनजी विद्रोहको दुई महिना बढी भयो । आजका पार्टी र नेतृत्व हेरेर यी–यी संकेतहरू हुन् हामी सच्चिँदैछौं भनेर भन्न सक्ने केही आधारहरू छन् ?
यो सरकार जस्तो बाटोबाट बन्यो, त्यसमा जतिसुकै आवश्यकताले बने पनि, आन्दोलनको बलमा बन्यो भने पनि असंवैधानिक हो । एकातिर संविधानकै सपथ लिएको छ अर्कोतिर त्यसैलाई उल्लंघन गरेको छ । प्रधानमन्त्री बन्ने कुरा मात्र होइन, अरू कतिपय हर्कतहरू संविधानसँग मेल नखाने छन् । संसद् विघटन असंवैधानिक हो । सार्वभौम जनताले निर्वाचित गरेको प्रतिनिधि संस्थालाई विघटन गरिएको छ । र, सुरुमै विवादको थुप्रोमा यसको जन्म भएको छ ।
पार्टीहरू सुधारका संकेतहरू के–के हुन् ?
स्वभाविकरूपले आत्मसमीक्षाको क्रम चलिराख्या छन् । कोही लिप सर्भिस गर्छन् । हामीले गल्ती ग¥यौं भन्ने तर त्यो गल्ती नसुधार्ने । हामी कम्युनिष्टहरू चाहिँ गम्भीर छलफल आत्मसमीक्षा गर्छाैं ।
तात्कालीन नेतृत्व जिम्मेवार हो ?
स्वाभाविकरूपले हामी सबै नेतृत्वमा थियौं । हाम्रो अध्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो । सबभन्दा अपजसको भाग उहाँलाई हो र जश हो भने पनि ठूलो भाग उहाँलाई हो ।
तर उहाँका अभिव्यक्तिमा त त्यो देखिँदैन नि ?
दोष यसको मात्र हो भन्नेहरूलाई जवाफ दिने सिलसिलामा भन्नुभएको होला । जो सुकै नेता होस्, जुनसुकै पार्टी होस्, भएका कामहरूको आत्मसमीक्षा गर्नुपर्छ । आत्मसमीक्षाले भविष्यको मार्ग तय गर्छ । समीक्षा गरिएन भने बाटो देखिने काम पनि हुँदैन ।
एमालेले समीक्षा कहिलेसम्म गरिसक्छ ?
समीक्षा भनेको चट्ट संक्रान्ति वा पूर्णिमामा गर्ने भन्ने हुँदैन नि !
त्यही भएर समस्या भयो नि ! तपाईंहरू समीक्षामा छांै भन्नुहुन्छ । समीक्षा भनेपछि जवाफ नै दिनुपरेन । महिनौंसम्म समीक्षा चल्ने पनि हुन्छ ?
हामी समीक्षामा छौं । समीक्षा भनेको महाधिवेशनको थलो हो । महाधिवेशन हामी आयोजना गर्दैछौं, हामी गर्छौं ।
महाधिवेशनमा आउनुभन्दा पहिले संसद् पुनःस्थापना कि चुनाव ?
सबैभन्दा पहिले त असंवैधानिक काम भयो, त्यो असंवैधानिक काम सच्याउनु प¥यो । संसद् पुनः स्थापना गर्नुप¥यो । त्यो कसरी गर्ने भन्ने छलफल गर्नुप¥यो । जनेजीहरूले के संसद् विघटन गर्ने माग राखेका थिए र ? सरकार विघटनको माग त जेनजीहरूको थिएन । त्यसैले त्यो असंवैधानिक कामलाई सच्याउनुप¥यो । दोस्रो कुरा, अहिलेका प्रतिगमनकारी कामहरूलाई रोक्नुप¥यो । जेनजीहरूका मागहरू पनि के के सम्बोधन गर्ने हो भन्ने कुरा त संवैधानिक बाटोबाट जानुप¥यो । कुनै अमूक जेनजीको प्रतिनिधि हूँ भन्नेले यो हटाऊ, प्रत्यक्ष कार्यकारी बनाऊ भनेर हुँदैन । त्यसका लागि संविधान संशोधन गर्नुप¥यो । संशोधन गर्न पनि संवैधानिक बाटोबाट गर्नुप¥यो । अनि सर्वपक्षीय सरकार बनाउनु प¥यो । त्यसमा जेनजीका प्रतिनिधिहरू पनि आउन सक्छन् । संसद् पुनःस्थापना भएपछि संविधान संशोधन हुन्छ । संविधान संशोधन गरेपछि चुनाव गर्नुप¥यो । त्यसैले अबको स्टेप भनेको सबैभन्दा पहिले संसद् पुनःस्थापना हो ।
एमालेले संसद् पुनःस्थापना भन्ने अनि अरू पार्टी र जेनजी चुनावमा जाऊँ भन्ने, कुरा त मिलेन न नि ?
हामी चुनावबाट कहाँ अलग छौं ? हामी पनि चुनाव भन्दैछौं । मैले त स्टेप बताएको हुँ । अझ ‘अर्ली इलेक्सन’ भनेको छु ।
अहिले तोकिएकै मितिमा ?
त्यही मितिमा हुन सक्छ वा मिति फरक पनि हुनसक्छ । त्यो त राजनीतिक निर्णय गरेर गर्नुपर्ने कुरा हो । चारवटा कुरा मैले फेरि दोहो¥याउँछु – संसद् पुनःस्थापना, संविधान संशोधन, सर्वपक्षीय सरकार र अर्ली इलेक्सन । यसरी गएमात्रै समाधानको बाटो हुन्छ । मेलो मिल्छ । अर्को बाटो गए मुलुक द्वन्द्वमा जान्छ । हामी त्यो बाटो चाहदैनौं । त्यसैले सही बाटोमा आउनुप¥यो । सबै पक्ष यही बाटोमा आउनुपर्छ । विभिन्न पक्षसँग आवश्यकताअनुसार हामी संवाद पनि गर्छौं ।
अब एमालेको महाधिवेशनतिर लागौं । तपाईंका लागि यो महाधिवेशन केही विशेष छ कि ?
महाधिवेशनमा नीतिमा छलफल हुन्छ । विधिमा र नेतृत्वमा छलफल हुन्छ । महाधिवेशनका शाश्वत एजेण्डाहरू यिनै हुन् । हाम्रो विधान महाधिवेशनमा पहिले हामीले दुईवटा अभ्यास ग¥यौं । विधान महाधिवेशन छुट्टै गर्ने किनभने त्यहाँ नीति विधिको छलफल हुन्छ । यता राष्ट्रिय महाधिवेशनमा नेतृत्व मात्रै चयन हुन्छ । यसो गर्नुको तर्क के थियो भन्दा विधि र नीति चाहिँ नेतृत्व छनोट गर्ने तनावभन्दा अलग रहेर गर्न सकियोस् । दुईवटा महाधिवेशन गर्नु आवश्यक छैन जस्तो लाग्दैछ । किनभने १०औं महाधिवेशन भन्दा पहिले गरेको विधान महाधिवेशनले विधानमा जेजे सुधार गरेको थियो, राष्ट्रिय महाधिवेशनमा हामीले हेरफेर ग¥यौं विगतमा पनि । यसको अर्थ त्यो कार्यान्वयन गर्न त कठिन हुने रहेछ । यस्तो बेलामा दुइटा गर्नु हुँदैन भन्ने हो । खैर, यसपालि हामीले विधान महाधिवेशन गरिसक्यौं, अब राष्ट्रिय महाधिवेशन हुन्छ । त्यसमा विधान महाधिवेशनले निकालेका निष्कर्षहरू राजनीतिक अवस्था पनि त आनको तान परिवर्तन भयो । भनेपछि हामीले हिजोको भन्दा नयाँ कार्यदिशा तय गर्नुप¥यो । परिस्थिति बद्लियो । अब परिस्थितिबारे छलफल गर्नुप¥यो । नयाँ निष्कर्ष, निचोडहरू निकाल्नु प¥यो । दोस्रो कुरा, संगठनात्मक व्यवस्थापन पनि नयाँ ढंगले गर्नुप¥यो । विधान संशोधनमा पनि कतिपय कुराहरू हेरफेर गर्नुपर्ने हुन सक्छ । यी सबै कुराहरू हामी यो राष्ट्रिय महाधिवेशनमा गर्छौं ।
मेरो सन्दर्भमा, महाधिवेशनले हरेक नेता कार्यकर्ताको धेरै कुरा फैसला गर्छ । हाम्रो स्थापित अभ्यास के छ भने सकेसम्म सर्वसम्मत, नसके प्रतिस्पर्धा । यो हाम्रो पार्टीले स्थापित गरेको व्यवस्था हो । यसलाई अन्यथा लिनु हुँदैन । यो महाधिवेशन मेरा लागि पनि चुनौती र अवसर दुवै हो । चुनौती किन हो भने देशभरका ६ लाख ६७ हजारभन्दा बढी पार्टी सदस्यहरूको नेतृत्व गर्दै आएका लगभग २२ सय प्रतिनिधिहरूको सामना गर्नुपर्छ । अनि अवसर भनेको सम्भावनाको द्वार पनि खोल्छ ।
यो महाधिवेशनबाट तपाईंले आफ्ना लागि के–के सम्भावनाहरू देख्नुभएको छ ?
सम्भावनाको कुरा गर्दा, नेतृत्वको जिम्मेवारी हेरफेर हुन सक्छ । हिजोको जिम्मेवारी रहँदैनन्, नयाँ बन्छन् । मेरा विषयमा म हेर्दैछु । साथीहरूसँग के गरी जाने, छलफल गर्दैछु ।
बाहिर त तपाईं अध्यक्षमा भिड्ने र अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भन्ने चर्चा छ नि ?
साथीहरूको त्यो सुझाव सल्लाह पनि छ । तर, हामीहरू बसेर छलफल गर्छौं । पार्टी अध्यक्षसँग पनि सल्लाह गर्नुपर्छ । प्रतिस्पर्धाको कुरालाई कसरी लैजाने सल्लाह गर्छौं । छलफल गरेरै जे गर्ने हो, टुंगोमा पुग्छौं ।
पार्टीको नेतृत्व सम्हाल्न सक्छु भन्नेमा तपाईं आफूमा कत्तिको दृढ हुनुहुन्छ ?
मैले अघि पनि भनेँ, मेरो इतिहासले, निष्ठाले, निरन्तरताले, क्षमताले म पार्टीको कुनै पनि जिम्मेवारी डिजर्भ गर्छु । यो नै मेरो रियलाइजेसन र उद्घोष हो । तर डिजर्भ गर्छु भन्दाभन्दै पनि सबै कुराको चाँजो मिल्नुपर्छ । हामीहरूले जे गरे पनि साथीहरूको सल्लाहले गर्ने हो । हाम्रो अध्यक्ष नवौं महाधिवेशनपछि ११ वर्ष पार्टी अध्यक्ष हुनुभयो र संविधान जारी भएको २०७२ देखि ०८२ दश वर्षमा उहाँ ६ वर्ष प्रधानमन्त्री बन्नुभयो । उहाँले लामै समय महत्वपूर्ण भूमिका खेल्नुभयो । कमीकमजोरी थिए भने त्यो पनि प्रकट भयो । यी सबै कुराका लागि जस–अपजस उहाँलाई जान्छ ।
पार्टीमा सल्लाहका लागि राखिने कुराको तयारी कति गर्नुभएको छ त ?
म त राख्छु नि ! मैले मेरा साथीहरूसँग राख्ने कुरा यहाँ किन भन्नु र ? म वरिष्ठ उपाध्यक्ष हुँ । दुईचोटी महासचिव भएँ । त्यसैले मेरो कुरा के हो भने म पदीय जिम्मेवारीको सिलसिलाले पनि डिजर्भ गर्छु । उमेर र अनुभवले पनि डिजर्भ गर्छु ।
यसरी अध्यक्ष डिजर्भ गर्छु भन्नुहुन्छ तर यही पार्टीमा जीवन लगाएको पूर्वराष्ट्रपतिले पार्टीमा फर्किन्छु भन्दा उहाँलाई वैधानिकता दिन सक्नुहुन्न ?
यसमा पनि मेरो प्रष्ट दृष्टिकोण के हो भने पूर्वराष्ट्रपतिजीले जब आउँछु भन्नुभयो उहाँको इच्छाअनुरूप उहाँ यही पार्टीमा जन्मनुभयो, यही पार्टीमा हुर्कनुभयो । यही पार्टीबाट त्यहाँ पुग्नुभयो । अनि यही पार्टीमा लागेर म भूमिका खेल्छु भन्दा किन नपाउने ? पाउनुपर्छ भन्ने मेरो तर्क राखेँ । हामीले पार्टी कमिटीमा लाप्पा खेल्ने त होइन, तर्कसंगत कुरा राख्ने हो । तर अध्यक्ष तत्पर हुनु भएन । बहसमा कसैको तर्क, कसैलाई मन नपर्न सक्छ । सही नै भए पनि मन नपर्न सक्छ । म के भन्छु भने उहाँले पार्टी सदस्यता प्राप्त गर्नु उचित हुन्छ । यो एजेण्डा रोकिएको छैन । यो आज नभए पनि भोलि उत्खनन् हुन्छ । र, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले यो पार्टीमा सदस्यता नवीकरण गर्न खोज्दा त्यसलाई अवैध भनियो । त्यो गलत छ । उहाँले त्यो पाउनुपर्छ । अलि ढिलोचाँडोको कुरा हो, पाउनुहुन्छ ।
ओलीको विकल्प नै छैन भन्नेहरुलाई के भन्नुहुन्छ ?
यो गलत भाष्य हो । कसैको पनि विकल्प नहुने भन्ने हुँदैन । अमाक्र्सवादी कुरा हो यो । अध्यक्ष आफैंले म विकल्पविहीन हूँ भनेको मैले सुनेको छैन । अब अरु कसैले के के भनेका छन्, त्यो अर्कै कुरा भयो । त्यो भन्नेहरू नै जानून् ।
पार्टी अध्यक्षलाई तपाईंको केही सुझाव छ ?
योग्य नेता त्यो हो, जसले आफूपछिको उत्तराधिकारीको पंक्तिलाई सहज ढंगले अगाडि बढाउँछ । यो चिज हाम्रो अध्यक्षले पनि बुझ्नुपर्छ, बुझ्नुहुन्छ । उहाँले नेतृत्व हस्तान्तरण गर्नु उचित हुन्छ । हाम्रो आन्दोलनका लागि र उहाँ स्वयंका लागि पनि यो उचित हुन्छ । किनभने उहाँका सहयोद्धा भएर काम गर्ने एकसेएक साथीहरू हुनुहुन्छ । घरपरिवारमै पनि कतिपय नेतृत्व गरिरहेको व्यक्ति म पछि के गरेर खालान् भन्ने जस्तो मानसिकता हुन्छ । तर नहुँदा पनि चल्छ नि, चलाइराखेका हुन्छन् नि ! संस्था पनि त्यस्तै हो ।
नेतृत्व हस्तान्तरण गर्दैन, यो त खोस्नुपर्छ भन्छन् नि ?
यो खोस्ने भन्ने पनि अप्रिय सुनियो । हामी के भन्छौँ भने प्रतिस्पर्धाबाट हस्तान्तरण गरिनुपर्छ । जनताको बहुदलीय जनवादले के भन्छ भने, नेतृत्व हस्तान्तरण हुन चार पाँचवटा कुराहरू हुनुपर्छ । पहिलो, सक्रियता । दोस्रो, पहलकदमी । तेस्रो, जनसेवा । चौथौ, प्रतिस्पर्धा र त्यसपछि मात्रै श्रेष्ठता । श्रेष्ठता प्राप्त गर्ने बाटो भनेको प्रतिस्पर्धा हो । प्रतिस्पर्धालाई हाम्रो विचार सिद्धान्तले स्वीकार गरेको छ । कतिपय ठाउँमा यसको गणितीय गति नहुन सक्छ । राजनीतिक संगठनात्मक रूपमा अगाडि बढिरहेको छ ।
राजनीतिक र नीतिगतरूपमा आज एमाले ठीक ठाउँमा छ कि यसमा केही सच्याउन आवश्यक देख्नुहुन्छ ?
एमाले ठीक ठाउँमा छ । नीतिगत रूपमा सच्याउने भनेको खासगरी हाम्रो कार्यसम्पादन शैली हो । त्यो भनेको विचारलाई, व्यवहारमा मिलाउनु हो । हाम्रा विचार सही छन् । कतिपय ठाउँमा त्यसलाई व्यवहारमा प्रभावकारी रुपमा मिलाउनुपर्छ । दस्तावेजमा सही विचार व्यवहारमा छ कि छैन, यो एउटा गम्भीर सवाल छ । दोस्रो कुरा, तथ्यको आधारमा सत्य पत्ता लगाउने । आग्रहको आधारमा सत्यको घोषणा गर्ने हो भने त्यो चौपट हुन्छ । त्यसैले तथ्यको आधारमा सत्यको घोषणा गर्नुपर्ने छ । तेस्रो कुरा आलोचना, आत्मआलोचना । एउटालाई मात्रै दागी बनाउने कुरा होइन यो । त्यसकारणले कार्यसम्पादन शैलीमा सुधार गर्नुपर्ने आवश्यक छ ।
विगत १० वर्षमा नेकपा एमालेले पार्टीभित्र सुधार गरेका कुराहरू के–के हुन् ? केही सम्झनुहुन्छ ?
हामी सुधार गरेरै त यो ठाउँमा आयौं । यसको सापेक्ष उत्तर खोज्नुभए बुझिन्छ । माओवादी र एमालेबीच एकता हुँदा देखापरेका केही समस्याहरू छन् । विचारमा केही धमिलो धमिलो स्थिति, नेतृत्वमा धमिलो स्थितिलाई सच्याउने प्रयास ग¥यो । हामीले सकारात्मक कुरा सोचेर मात्रै महान् एकता भनेर गरेका थियौं । तर विचार अलि पन्यालो पन्यालो भयो । त्यसलाई सच्याउने कुरा ग¥यौं । विगत १० वर्षमा सच्याउँदै नसच्याएको त होइन । त्यही भएर यहाँसम्म आइपुग्यौं । तर, अग्रगति र प्रगति जुन उचाइमा हुन्छ, चुनौती र समस्याहरू पनि त्यही रुपमा आउँछन् । आज हामी जुन उचाईमा छौँ, त्यसको समना गर्न हामी सक्षम हुनुपर्छ । त्यो सामथ्र्य आर्जन गर्नुपर्छ । नभए यो उचाइमा पुगेको सामथ्र्य÷प्रगति थामिन सक्दैन ।
नयाँ महाधिवेशनबाट एमालेले त्यो समाथ्र्य भएको र यी समस्याको सामना गर्न सक्ने नेतृत्व पाउँछ ?
देशभरबाट २२ सयभन्दा बढी प्रतिनिधि आउनुहने साथीहरूले यसमा गहन छलफल गर्नुहुन्छ र जे गर्नुपर्ने हो त्यो गर्नुहुन्छ । उहाँहरूले पनि यो समस्या, यो स्थिति देख्नुभएको छ ।
मैले यो समस्याहरू चिनेको छु र म नेतृत्वका लागि पनि तयार छु । म नेतृत्वमा आउँदा साथीहरूसँग मिलेर यी चुनौतीहरूको सामना गर्न सक्छु भनेर भन्न तपाईंलाई किन हिच्किचाहट भयो ?
देशभरिका पार्टी सदस्यहरूको प्रतिनिधि बनेर आउनुहुने प्रतिनिधिहरूको फैसलालाई सबैले शिरोपर गर्नुपर्छ । म नेतृत्वमा आउँदा पनि गर्ने त्यही हो । अर्को कोही आउँदा पनि त्यही गर्नुपर्छ । आउने नेतृत्वले त्यो गर्नुपर्छ नत्र समाप्त हुन्छ ।
अहिलेको नेतृत्व नै पुनः आउने संभावना कति छ ?
त्यो संभावना हो । देशभरिका प्रतिनिधि साथीहरूले त्यसमा छलफल गर्नुहुन्छ ।
तपाईंलाई के लाग्छ ?
मलाई के लाग्छ भन्दा त्यति सहज छैन ।
तेहोरिनु हुँदैन भन्ने पनि लाग्छ ?
नतेहोरिएको राम्रो ।
त्यसका लागि तपाईको तयारी पुग्यो ?
तयारीका लागि साथीहरूसँग छलफल हुँदैछ । देशभरिका साथीहरूलाई कुरा बुझउँदैछौं । सकारात्मक प्रतिक्रिया पाइरहेको छु, राम्रो छ । पार्टी भित्रको प्रतिस्पर्धा हो, यसमा कि तँ छैनस् कि म भन्ने हुँदैन ।
तर एमालेमा अहिलेसम्म सौराहा होस् वा पार्टीभित्र नेतृत्वको आलोचना गरेको होस् सबैलाई किनारा लगाएको देखिएको छ नि ?
भूतकाल पुनरावृत्ति भइरहँदैन । त्यो सेलरोटी जस्तो ट्याक्क हुँदैन । त्यो स्प्रिङ जस्तो हुन्छ । त्यसकारणले त्यही दोहोरिन्छ । त्यस्तै हुन्छ त्यही गर्छन् भन्ने बुझियो भने गलत हुन्छ । जहाँसम्म हिजोको कुरा गर्नुभयो, त्यसको पनि समीक्षाको पाटो छ । साथीहरू जो जानुभयो, उहाँहरूका तर्फका कुराहरू पनि रहे । पार्टीका पनि केही कमजोरी भए होलान् तर आफ्नो आस्था, विश्वास र विचारलाई परित्याग गरेर जाने कुरा गलत हो । प्रतिस्पर्धा गरिसकेपछि परिणामलाई स्वीकार गरेर जानुपर्छ । पाँच वर्ष नै त हो ! जो जो साथीहरू जानुभयो कति साथीहरूले प्रतिस्पर्धा गर्नुभयो र हार्नुभयो । हारेपछि पार्टीमा कुर्न सक्नुप¥यो नि ! प्रतिस्पर्धाको नतिजा स्वीकारेर बस्न सक्नुपथ्र्यो ।
आज कम्युनिष्ट पार्टीहरू छरिएका छन् । यी पार्टीहरू एक ठाउँमा आउने र आजका समस्याहरूविरुद्ध लड्ने एक बलियो शक्ति निर्माण हुन सक्ने सम्भावना छैन ?
यो नामका वामपन्थी कि कामका वामपन्थी ? हामी कामका वामपन्थी खोज्छौं । हिजो एमालेको बहुमतको सरकार हुँदा सुतेको दक्षिणपन्थी भनिएको शक्तिलाई खाइदेऊ न प्रधानमन्त्री भनेर दिने । अनि एमालेलाई हराउन एमाले एक्लो अनि अरु सबै एक ठाउँमा र एमालेलाई टर्च बालेर धुलोमा खोज्नुपर्छ भन्ने । त्यसकारणले अब हामीले नामका होइन कामका वामपन्थीहरूसँग एकता गर्नुपर्छ । यतिबेला ती काममा वामपन्थी साथीहरू जुनसुकै समूहमा भए पनि कुराकानी गर्छौं, एकताका लागि कोसिस गर्छौं । एक बनाउने पवित्र भावनाले मात्र हुँदैन रहेछ । भएको पनि टिकेन नि ! त्यसकारण काममा वामपन्थी हुन प¥यो, नामकाले भएन ।
हामी यो संवाद भदौ २४ गते जलाइएको तपाईंको घरको प्रांगणमा बसेर गरिरहेका छौं । यौ संरचना सबै ध्वस्त छ । अन्तिममा जेनजी समूहलाई केही भन्नु छ ?
उहाँहरूले जो मुद्दा उठाउनुभयो, म त्यो मुद्दालाई सम्मान गर्छु । ती मुद्दाहरू सम्बोधन हुनुपर्छ । उहाँहरूले के बुझ्नुपर्छ भने हामी, हाम्रो पार्टी लगायत कतिपय पार्टीहरूले ति मुद्दाहरूलाई सम्बोधन गर्ने भनेर एजेण्डा बनाएका हुन् कोसिस गरेका हुन् भने अनुसार भएन होला तर ती मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ । यो निःस्वार्थ ढंगले जो मुद्दा उठाउनुभयो, उहाँहरूको उत्साहलाई म सम्मान गर्छु । तर हामीले गौरवपूर्ण इतिहासको पनि सम्झना गर्नुपर्छ । भविष्यको पनि मार्गचित्र पनि कोर्नुपर्छ । इतिहासको सम्झना र भविष्यको मार्गचित्र भएन भने उत्साहले मात्र हामीलाई कहीँ पु¥याउँदैन ।