वीरगञ्ज । नेपालको अथर्तन्त्र चलायमान बनाउन साना तथा मझौला उद्योगले महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् तर साना उद्योगको बजार पहुँच सीमित हुनु र डिजिटल मार्केटिङ तथा ब्राण्डिङमा मार्गदर्शनको कमी लगायतका समस्याका कारण सम्भावित उद्योगहरू अघि बढ्न सक्दैनन् । यिनै समस्यालाई मध्यनजर गर्दै हेल्भेटास नेपालले वीरगञ्जको बुध इन्क्युबेसन सेन्टरको संयुक्त आयोजनामा मधेश र कर्णाली प्रदेशका २२ जना उद्यमीहरूलाई स्टार्टअप वातावरणलाई सुदृढ बनाउन बुटक्याम्प आयोजना गर्यो । क्याम्पमा उनीहरूले नयाँ सीप मात्रै सिकेनन्, आइडिया पिचिङमार्फत सफल लगानीकर्ताहरूको साथ पनि पाएका छन् ।
अहिलेको स्टार्ट–अप युगमा सानो व्यवसाय भए पनि आफ्नै गर्नुपर्ने मानसिकता बाकेर युवाहरू उद्यममा अग्रसर हुँदैछन् । तर साना व्यवसायको बजार पहुँच सीमित, सीपको अभाव, व्यावसायिक मार्गदर्शनको कमीका कारण उनीहरूले आफ्नो व्यवसायलाई थप अघि बढाउन नसकेको महसुस गर्दै हेल्भेटास नेपालले वीरगञ्ज पब्लिक कलेजअन्तर्गत बुद्ध इन्क्युबेसन सेन्टरको सहकार्यमा इनइलम परियोजनाअन्तर्गत मधेश र कर्णाली प्रदेशका २२ जना साना उद्यमीहरूलाई ‘उद्यमी सशक्तीकरण र लगानीकर्ता प्रोत्साहन’ सम्बन्धी ४ दिने बुटक्याम्प आयोजना गरेको थियो । क्याम्पमा उनीहरूलाई अनुभवी प्रशिक्षकहरूद्वारा उत्पादनलाई नियार्तमुखी बजारमा कसरी लैजाने, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन तथा फाइनान्सिङसम्बन्धी प्रशिक्षण दिइएको थियो ।
प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशको च्याउ, मह, ड्रागन फ्रुट, मोरिंगा उत्पादनदेखि मधेशको माटोको भाडा, डेरी प्रोडक्ट उत्पादन गर्ने उद्यमीहरूले सहभागिता जनाएका थिए । उनीहरूले नेपालका सफल लगानीकर्ता सामू आफ्नो व्यवसाय मोडल प्रस्तुत गर्दै बजारको सम्भावना र लगानीको आवश्यकताका बारेमा पिच गरेका थिए । २२ जना उद्यमीले गरेको पिचिङमध्ये ५ आइडियालाई लगानीकर्ताको प्रस्ताव आएको हो ।
यो बुटक्याम्पमार्फत आफ् नो व्यवसाय बढाउन लगानीकर्ता पाएकोमा खुसी महसूस भएको विगत ४ वर्षेदेखि सुर्खेतमा मोरिंगा खेती गर्दै आएकी गीता खड्का बताउँछिन् ।
यस्तै चार दिने आवासीय बुटक्याममा आफ्नो आइडियामा लगानी गर्न तयार भएका अनुभवी लगानीकर्ताहरूसँग सहकार्य गररे अघि बढ्न निकै आतुर रहेको पर्साका गार्मेन्ट वेस्ट बिजनेसका सञ्चालक सुनील साह बताउँछन् ।
२२ जनामध्ये पर्साका तीन, सुर्खेतका दुई जना गरी ५ जना छनोट भएको आयोजकले जनाएको छ ।
नेपालमा नवीनता र रचनात्मक आइडिया नभएको होइन तर लगानी र आवश्यक सीपको अभावका कारण साना उद्यमीहरूले आफ् नो व्यवसायलाई उकास्न नसकेको कार्यक्रममा सहभागी लगानीकर्ताहरू बताउँछन् । सम्भावना बोकेको उद्योगलाई सहकार्य गरेर अघि बढ्न गर्न सके अघि बढ्न सक्ने उनीहरूको भनाइ छ । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाहरूले समेत साना उद्यमीहरूलाई मध्यनजर गर्दै कर्जाको सुविधा दिँदै आएको छ तर उद्यम क्षेत्रमा लगानीको सन्दर्भमा बैंकिङ प्रणाली सकस हुने गरेको उद्यमीहरू गुनासो गर्छन् । तर व्यापार व्यवसाय पारदर्शी भए बैंकले सहजै लगानी गर्ने ग्लोबल आईएमई बैंकका एसएमई तथा रिटेल म्यानेजर सुमित ढुंगेल बताउँछन् ।
इन्क्युबेसन सेन्टरले जारी गरेको गुगल फर्ममार्फत करिब एक सयभन्दा बढीले सहभागी हुन आवेदन दिएका थिए । नवीनतम आइडिया, विभिन्न क्षेत्रगत विषयहरूको आधारमा छनोट गर्ने क्रममा २२ जनालाई बुटक्याम्पमा सहभागी हुन अवसर प्राप्त भएको थियो । कार्यक्रममा बारा, पर्सा, रौतहट, सर्लाही र कर्णालीको सुर्खेत जिल्लाका उद्यमीहरूको सहभागी थिए । यसपश्चात बुटक्याम्पमा सहभागी उद्यमीहरूको व्यवासयको पछिल्ला अवस्था, थप आवश्यकतालगायत विभिन्न आर्थिक तथा व्यावसायिक पक्षहरूको निरन्तर विवरण संकलन गर्ने र मार्गदर्शन गर्ने कार्य जारी राख्ने बुद्ध इन्क्युबेसन सेन्टरका संयोजक डा. बासु कर्ण बताउँछन् ।
खासगरी ग्रामीण भेगमा सम्भावना बोकेको साना उद्यमीहरूको उद्यशीलता विकासमा परियोजनाले कार्य गर्दै आएको छ । मुलुकमा दिगो आर्थिक विकास र युवाहरूलाई उद्यम क्षत्रेमा सहभागी गराउन शैक्षिक संस्था, निजी क्षेत्रको सहकार्यमा आवश्यक रहेको हेल्भेटास नेपालका इनइलम परियोजनाका प्रमुख सन्दीप पौडेल बताउँछन् । हालसम्म १७ सय भन्दा बढीले यस परियोजनाअन्तर्गत व्यावसायिक सीप सिकेर उद्यम विस्तार गरिरहेको उनको भनाइ छ । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा साना तथा मझौला उद्योगको २२ प्रतिशत योगदान छ । यद्यपि साना उद्योगीहरूको समस्यामा राज्यको खासौ चासो भएको देखिँदैन । पछिल्लो समयमा भने बल्ल स्टार्टअपसम्बन्धी नीति ल्याएर नवउद्यमीहरूलाई कर्जा सुविधा उपलब्ध गराइरहेको छ ।