नेभिगेशन
प्रदेश

कुटपिटका कारण युवकको मृत्यु

सप्तरी । सप्तरीमा मोबाइल चोरी गरेको आरोपमा केही व्यक्तिले एक युवकलाई निर्घात कुटपिट गर्दा युवकको मृत्यु भएको छ । मोबाइल चोरेको भन्दै आँपको रूखमा बाँधेर छिमेकीले कुटपिट गर्दा युवकको मृत्यु नै भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–१६ बोरियामा छिमेकीले मोबाइल चोरेको आरोपमा एक युवकलाई आँपको रूखमा बाँधेर निर्घात कुटपिट गर्दा युवकको मृत्यु भएको हो ।

बुधबार दिउँसो सरो देवी साहले आफ्नो मोबाइल चोरेको भन्दै छिमेकी देवेन्द्र यादवका १९ वर्षे  छोरा मुकेश यादवलाई निर्घात कुटपिट गरेर मरन्नासन बनाइन्। सो दिन मुकेश घरमा कोही थिएन ।

मानसिक रुपले फरक क्षमता भएका मुकेश घरबाहिर उभिएको हेरेर सरो देवीले मुकेशले नै मोबाइल चोरेको भन्दै आँपको रूखमा बाँधेर अन्य दुई जनाको समेत सहयोग लिएर निर्घात कुटपिट गरेको उनकी काकीले बताइन् ।

बुधबार कुटेर मरन्नासन भएपछि मोबाइल मुकेशले नचोरेको थाहा पाएर उनलाई घर पठाइएको थियो । उनलाई उपचारको लागि राजविराजस्थित अस्पताल ल्याउँदा शुक्रबार उनको मृत्यु भएको हो ।

राजगढ गाउँपालिका–६ फकिरा स्थायी घर भई हाल राजविराज–१६मा पनि देवेन्द्रको घर छ । देवेन्द्रको राजविराजको घरमा उनका भाइ १२ र १४ वर्षीय दुई छोरा मात्र बस्दै आएका छन् भने मुकेश कहिलेकाहीँ मात्र त्यहाँ आउने गरेका थिए । मुकेशकी आमा अहिले विक्षिप्त छिन् ।

मुकेशकी आमा पहिलादेखि पनि मानसिक रूपले फरक क्षमता भएकीले सुरुदेखि पुनिताले नै उनलाई लालनपालन गर्दै  आएकी थिइन् । मृतकका बुबा देवेन्द्र अहिले केही बोल्न सकिरहेका छैनन् यद्यपि दोषीमाथि कडा कारबाही भए मात्र आफ्नो छोराको आत्माले शान्ति पाउने उनको भनाइ छ ।

घटनापछि सप्तरी प्रहरीले सरो देवीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीसहित कुटपिटमा संलग्न अन्य छिमेकी सन्तोष राउत र रवीन्द्र ठाकुरलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्