नेभिगेशन
दृष्टिकोण

सत्ताको अहंकार र भ्रम

जब कुनै प्रवृत्ति व्यापक रूपमा विकास हुन्छ, त्यो राष्ट्रिय राजनीतिको चरित्र बन्छ । आज नेपाली सत्ता राजनीतिको मूल चरित्र सिद्धान्त, विचार वा आदर्शमा आधारित छैन; यो अहंकारी, अन्धविश्वासी र भ्रमित छ । यसका उदाहरणहरू स्पष्ट छन् : पार्टीभित्रको प्रजातन्त्र मरेको छ । आलोचनात्मक चेत ध्वस्त भएको छ ।

Narendra-J-Peter-1755402690.jpg
 नरेन्द्रजंग पिटर


कार्यकर्ताको परिचय हुकमदासमा फेरिए । विश्वासको क्षयले नेता र पार्टीप्रति उदासीनता बढाएको छ । गर्वका साथ “म पार्टी कार्यकर्ता हुँ” भन्दै तथ्यसहित तर्क गर्नेहरू विरलै भेटिन्छन् । सत्तालाई ‘डीप स्टेट’ले नियन्त्रण गर्छ । यस्तो बेला प्रजातन्त्र क्लेप्टोक्रेसीमा फेरिन्छ ।

अहंकारी, भ्रमित, पाखण्डी र विचारको शासकीय केन्द्र सिंहदरबार हो । दरबारभित्र र बाहिर, सडकदेखि सत्तासम्म यस्ता सहयात्रीहरू छयासछयास्ती भेटिन्छन् । युद्धको ताप र चापले रापिएको बेला म स्वयं सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा थिएँ । मैले सत्ताका हुने, गर्ने र देखिने पक्ष छर्लंग देख्न पाएँ । त्यो बेला युद्धको घमासान र सिंहदरबारको संस्कृतिको तालमेल मिलाउन असम्भवजस्तै थियो ।

विद्रोही मनोविज्ञान र पुराना सत्ताधारीबीचको शीतयुद्ध चरमोत्कर्षमा थियो । आग्रहले भरिएका तर्क र भ्रामक समाचारले मिडिया रंगिएका हुन्थे । समाचारका हेडलाइन र विचार स्तम्भ अहिले नियाल्दा स्वयं स्रष्टालाई के कस्तो लाग्दो हो ?

मसँग रातो कलम थिएन, सल्लाहकारको मानार्थ भूमिका मात्र थियो । सिंहदरबारमा पीएहरूले काम पाउँछन्, सल्लाहकारलाई सम्मान त हुन्छ, तर कुनै भूमिका हुँदैन । पीएहरू पनि तीन प्रकारका हुन्छन् । गनगन (कुरा मात्रै गर्ने ) भनभन (कार्यकारीका व्याख्या गर्ने, प्रचार गर्ने) र छनछन (जो देखिँदैन, कलेक्सन गर्छ र कार्यकारीको भरोसावाला तर नदेखिने शक्तिशाली पीएहरू नै प्रभावशाली हुन्छन् ।) उनीहरू ‘डीप स्टेट’द्वारा सञ्चालित हुन्छन् ।

नेपालमा सबै तह र तप्काका कार्यकारीहरू आफूलाई सर्वज्ञ ठान्छन् । सल्लाहकारको पहुँच कस्मेटिक हुन्छ, उनकै दयामा आधारित । सिंहदरबारको चारैतिर पूर्वकार्यकारीहरू परिक्रमा गर्छन् । अनामनगर अहंकार, भ्रम, पाखण्ड र विचारको शासकीय केन्द्र हो ।

यहाँ बिदाइमा ‘बाईबाई’ हुँदैन, तर सडकमा पुगेपछि पनि सत्ताधारीको अहंकार, भ्रम र पाखण्ड हराउँदैन—यो स्वभावमै थिचिइएको हुन्छ । भ्रमित पूर्वसत्ताधारीको याचना कसैले सुन्दैन । उसको बडबडाहट या त पर्खालले सुन्छ, या त बुढ्यौलीको ब्यूरोक्रेसीले ।

सत्ता र अहंकारको मनोविज्ञान

अनेकौ प्रश्नले सङ्ला मान्छेलाई सताँउछ । नयाँ विचार र आदर्श बोकेकाहरू सत्तामा पुगेपछि किन अहंकारी बन्छन् ? किन उनीहरू अण्टसण्ट बोल्छन् ? आफ्ना कुरा देश–दुनियाँले सुन्छन् र धारणा बनाउँछन् भन्ने उनीहरू किन हेक्का राख्दैनन् ? संसारमा सर्वज्ञ कोही हुँदैन, तर सत्ताको नशाले जे बोले पनि अरूले पत्याउनुपर्छ भन्ने किन ठान्छन् ? कार्यकर्ता नेतृत्वको हुकममा चल्छन्, नत्र बाहिर खस्छन् ।

सत्ताधारी ‘गुड बुक’ र ‘ब्याड बुक’ बोकेर नाम हेरफेर गरिरहन्छन् । डिजिटल चाकरी, लाइक र कमेन्ट नियाल्छन् । आफ्ना बालसखा, जेलसखा वा कठिन समयका सहयोगीहरूलाई पनि नजिक ढिम्कनै दिँदैनन् । यो लफ्फाजी र अजम्मरीपनको भावना कहाँबाट आउँछ ? अर्कालाई होच्याउँदा किन मन रमाउँछ ? यो आत्मसम्मानको अतिवादी रूप हो ।

कस्मेटिक र वास्तविक सत्ताको भेद

कस्मेटिक सत्ता अहंकारी, भ्रमित र पाखण्डी हुन्छ, आफूलाई सर्वज्ञ ठान्छ । तर, वास्तविक सत्ता चेतनाको नियन्त्रणमा टिक्छ । सत्ताले सडकमा मात्र होइन, मस्तिष्कमा पनि शासन गर्न चाहन्छ । सोच्न नदिने शासन मनोवैज्ञानिक, शैक्षिक र सामाजिक योजनाको संयन्त्र हो ।

शंकालु मस्तिष्क सत्ताको शत्रु हो । सोच्ने व्यक्तिले प्रश्न गर्छ, प्रश्नले सत्तालाई असहज बनाउँछ । भीड सजिलो हुन्छ, व्यक्ति होइन । विचारहीन नागरिक भीड बन्छ, जसलाई डर, भावना र प्रचारले नियन्त्रण गर्न सकिन्छ ।

शासकको स्थायित्व चेतना मारेर मात्र सम्भव हुन्छ । धर्म र राष्ट्रवाद ‘भक्त’ बनाउने उपकरण बन्छन् । आजको शक्तिशाली सत्ता त्यो हो, जसले सोच्नै नसक्ने बनाउँछ । विचार नियन्त्रणको मनोविज्ञान बुझ्नु स्वतन्त्रताको पहिलो कदम हो ।

विचारको निर्माण र विनाश

मानिस विचार गर्छ । कहिलेकाहीँ विचारले पनि मानिस बनाउँछ । हामी जे सोच्छौँ, त्यही बोल्छौँ, त्यसै अनुकुलको व्यवहार गर्छौँ र दष्टिकोण बनाएर राम्रो नराम्रो छुटयाउछौँ । तर, विचार सहजै बन्दैनन् र स्थायी पनि हुँदैनन् । इतिहास, वर्ग, भाषा, जाति, लिङ्ग र सत्तासँग जोडिएर विचार बन्छन् ।

बच्चाले परिवार, समाज, भाषा र धर्मबाट विचार सिक्छ । भाषा विचारको यन्त्र हो । जब विचार लेखिन्छ, गीत, कथा, सिनेमा वा पाठ्यक्रममा प्रवेश गर्छ, तब शक्तिशाली बन्छ । जर्ज लाकोफ भन्छन्, ‘राजनीतिक शक्तिहरू विम्बद्वारा विचार कब्जा गर्छन् ।’

शिक्षा प्रणाली विचारलाई सत्यका रूपमा स्थापित गर्छ । ‘राजा रामराजा थिए’, ‘जात व्यवस्था समाजको प्राकृतिक स्वरूप हो’ जस्ता कथन पाठ्यपुस्तकमा घुस्छन् । ईश्वर, धर्मग्रन्थ र पुण्य–पापका कथाले विचारलाई अमर बनाउँछन् ।

महामारी, युद्ध, क्रान्ति र वैज्ञानिक खोजले पुराना विचार भत्काउँछन् । ग्यालिलियोको सिद्धान्तले बाइबलको पृथ्वी–केन्द्रित विचार तोड्यो । उत्पीडितहरूले चेतना विकास गरेपछि शोषणमा आधारित विचार भत्किन्छ । कम्युनिष्ट र दलित आन्दोलनले अभिजात र छुवाछूतका विचार तोडे । ‘

किन?’, ‘कसले?’, ‘कुन आधारमा?’ भन्ने प्रश्नले पुराना विचार भत्काउँछ, नयाँ बन्छ । पुराना र नयाँ विचारका विश्वासीहरूबीच द्वन्द्व हुन्छ । मानवीय गरिमा, स्वतन्त्रता र न्यायजस्ता विचार समयसापेक्ष पुनर्परिभाषित हुन्छन् । तर ‘पवित्र’, ‘शाश्वत’ भनिने विचारहरू खतरनाक हुन्छन्, किनभने तिनलाई प्रश्न गर्न सकिँदैन ।

अहंकार र पाखण्डको मनोविज्ञान

उपभोक्तावादी समाजमा धन, शक्ति र सुन्दरताले उच्च स्थान पाउँछ । त्यस्तो संस्कृति र परिवेशमा मानिसहरू ‘ठूलो’ देखिन घमण्ड र प्रदर्शन गर्छन् । सामूहिक उपलब्धिलाई व्यक्तिगत श्रेष्ठतासँग जोड्छन् । सीमित ज्ञानलाई सर्वोच्च ठान्ने प्रवृत्तिले अहंकारी र पाखण्डी बनाउँछ ।

परिवार वा शक्तिको महिमामण्डनले त्यस्तो घमण्डी स्वभावलाई अझ मलजल गर्छ । अहंकारीहरूमा नार्सिसिस्टिक व्यक्तित्व देखिन्छ, जसले आफूलाई विशेष ठान्छ र प्रशंसा खोज्छ । ‘पुष्टीकरण पूर्वाग्रह’ले आफ्नो विश्वासमात्र सही ठान्छ । भावनात्मक अपरिपक्वताले सहानुभूतिलाई कम गर्छ । असुरक्षित व्यक्तिहरू बाहिरबाट घमण्डीदेखिन्छन्, जुन कमजोरी लुकाउने अस्त्र हो ।

अन्धविश्वासको जरा

अहंकरी र पाखण्डीहरू भ्रम र अन्धविश्वासमा रमाउँछन् । चरम–महत्त्वकांक्षी मान्छेले स्वस्थानीको नवराज राजा बन्ने सपना देखेको हुन्छ । बाल्यकालमा सिकेका अन्धविश्वास सजिलै मेटिँदैन । कठिन समयमा धार्मिक वा अन्धविश्वासी भावना सक्रिय हुन्छ, जसलाई ‘फलब्याक साइकोलोजी’ भनिन्छ । सत्य पीडादायी हुन्छ, तर भ्रमले ‘सही’ र ‘सुरक्षित’ अनुभूति दिन्छ । इतिहासको हकदाबी गर्नलाई वर्तमानको चरित्र नियालिन्छन् ।

नयाँ तथ्यले पुराना विश्वासलाई चुनौती दिँदा पात्र र प्रवृतिले असहज बनाँउछ । मानसिक आलस्य र सामाजिक दबाबले भ्रमलाई अँगाल्न बाध्य गर्छ । रोग, गरिबी, मृत्युजस्ता अनिश्चिततामा भ्रमले आशा दिन्छ । परम्परालाई अस्वीकार गर्नेलाई समाजले ‘असभ्य’ ठान्छ । धर्मगुरु, ज्योतिषी वा राजनीतिक शक्तिहरूले भ्रम उत्पादित अन्धविश्वासलाई नियन्त्रणको हतियार बनाउँछन् ।

अहंकार, भ्रम र पाखण्ड मानव स्वभाव, सामाजिक दबाब, ऐतिहासिक विरासत र व्यक्तिगत लाभको मिश्रण हो । शिक्षितहरू पनि यसबाट पूर्ण मुक्त हुँदैनन्, किनभने शिक्षा मात्रले अन्धविश्वास र भ्रमले पारम्पिारिक भावनात्मक र सामाजिक जरा काट्न सक्दैन । विचार नियन्त्रणले सत्तालाई बलियो बनाउँछ ।

आलोचनात्मक सोच, खुला संवाद र वैज्ञानिक संस्कृतिको सन्तुलनले मात्र अहंकार र भ्रम तोड्न सकिन्छ । प्रश्न गर्न डराउने समाज सत्ताको गुलाम हुन्छ । विचारको स्वतन्त्रता नै सत्ताको अहंकारविरुद्ध पहिलो हतियार हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण