नेभिगेशन
खेलकुद

कराँतेमा उपविजेता

भारतको लखनउमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनसिप–२०२५ मा रुपन्देहीबाट सहभागी कराँते खेलाडीको समूह उपविजेता बन्न सफल भएको छ । जापान यामाबुकी सितेरिया कराँते डोजाङ संघ भारतको आयोजनामा यही नोभेम्बर २२ र २३ मा लखनउमा प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा भारतका ८ प्रदेश र नेपालको रुपन्देहीको मायादेवीस्थित सगरमाथा डोजो सहाभागी थिए । नेपालबाट सहभागी सगरमाथा डोजोले विभिन्न तौल समूहमा स्पर्धा गर्दै स्वर्ण, रजत र काँस्यपदक जित्दै समग्रमा उपविजेता बन्न सफल भएको हो । सरगरमाथा डोजोका मुख्य प्रशिक्षक आशीष कुर्मीले उपविजेता बनेपछि आफूहरूमा हौसला मिलेको जनाए । उनले तौल समूहमा खेलाडीहरूले उत्कृष्ट खेल कौशल देखाएको जनाए ।

सगरमाथा डोजोबाट जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकाका ८ जना छात्रा विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए ।

प्रशिक्षक कुर्मीका अनुसार प्रतीक्षा कुर्मीले ४० केजी तौल समूहमा गोल्ड जितेर विजेता बनेकी छन् । यस्तै, आशिका कुर्मी ४० केजीमा दोस्रो, करिश्मा यादव ४५ केजी समूहमा दोस्रो र सुष्मा मौर्य ४५ केजी समूहमा दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । यस्तै, ५० केजी तौल समूहमा सलोनी धवल दोस्रो, शिवानी धवल ४० केजी समूहमा तेस्रो, सुन्दरी कुर्मी ४५ केजी समूहमा तेस्रो र खुश्बु हरिजन ४० केजी समूहमा तेस्रो भएकी थिइन् । उपविजेता बनेर स्वदेश फर्किएका कराँते खेलाडी र प्रशिक्षकलाई आइतबार मायादेवी गाउँपालिकाले सम्मान गरेको छ । वडा नम्बर ७ का वडाध्यक्ष तथा पालिकाका प्रवक्ता शैलेन्द्रकुमार पाण्डे, खेलकुद शाखा प्रमुखलगायतले खेलाडीहरूलाई टीका र खादा लगाएर सम्मान गरेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्