नेभिगेशन
दृष्टिकोण

घोकन्ते विद्याको महत्व

सन् १८५७ मा ग्रीकमा जन्मेका हार्वर्डका प्राध्यापक इभान्जेलिनस अपोस्टोलिड्स सोफोक्लेसले भर्खरै प्रचलनमा आएका ‘ब्लू बूक्स’ (लिखित परीक्षाका लागि प्रयोग हुने उत्तरपुस्तिका)को आगो बालेर विरोध जनाएका थिए । मौखिक सोधपुछको सट्टा लिखित परीक्षाले स्थान लिन लागेकोमा उनी क्रुद्ध थिए । अन्ततः उनी हारे । ती पुस्तिकाहरूले कम्प्युटरमा आधारित परीक्षालाई बाटो छोड्नुअघि अमेरिकी विद्यार्थीहरूको कैयौं पुस्तालाई सताइरह्यो । तर अहिले फेरि ‘ब्लू बूक’ को पुनरागमन भइरहेको छ । डाटा फर्म ‘सर्काना’का अनुसार, सन् २०२२ देखि २०२४ सम्ममा यी पुस्तिकाहरूको बिक्री दोब्बरभन्दा बढी भएको छ । र, मौखिक परीक्षाहरू पनि ब्युँतिने तरखरमा देखिन्छन् ।

माध्यमिक विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षकहरू कक्षाकोठामा हुने चिट चोर्ने कामलाई बढावा दिने र ध्यान भंग गर्ने प्रविधिको प्रयोगमाथि चर्को स्वरमा विरोध गरिरहेका छन् । रटगर्स युनिभर्सिटीकी साहित्य प्राध्यापक लौरा लोमासले अहिले विद्यार्थीहरूलाई एउटा गज्जबको नाटक हेर्न अनिवार्य गरेकी छन् । त्यो नाटकको अन्त्य हरेक रात फरक हुन्छ । आफ्ना विद्यार्थी नाटक हेर्न गए कि गएनन् भन्ने थाहा पाउन उनले यो प्रयोग गरेकी हुन् । उनी एआई–मैत्री पावरपोइन्टको सट्टा मौखिक प्रस्तुति गर्न लगाउँछिन् र ‘ब्लू बूक’ परीक्षाका क्रममा विद्यार्थीहरूलाई शौचालय जान समेत दिन्नन्, ताकि त्यहाँ उनीहरूले फोन हेर्न नपाऊन् । न्यूयोर्कको पोर्ट वासिङ्टनस्थित एक हाइस्कूलकी अंग्रेजी शिक्षिका सारा ब्रोकले विद्यार्थीहरूलाई कक्षामा नै हातले लेखेर अभ्यास गर्न लगाउँछिन् । एमआईटी टिचिङ सिस्टम्स ल्याबका निर्देशक जस्टिन रिचका अनुसार उनकी छोरीको मिडिल स्कूलले गणितबाहेक अन्य विषयमा गृहकार्य दिन ‘लगभग छोडिसकेको’ छ । विद्यार्थीहरूलाई यसको सट्टा पढ्न भनिन्छ ।

यस्तो कटौती वा पछाडि फर्कने क्रम अझै फैलने सम्भावना छ । ‘इन्टेलिजेन्ट’ नामक अनुसन्धान संस्थाको सन् २०२३ को सर्वेक्षणमा, ६६ प्रतिशत हाइस्कूल र कलेजका शिक्षकहरूले च्याटजीपीटीका कारण आफ्ना असाइनमेन्टहरू परिवर्तन गरिरहेको बताएका थिए । यस्तो परिवर्तन गर्नेहरूमध्ये ७६ प्रतिशतले हस्तलिखित कार्य अनिवार्य गरेको वा गर्ने योजना बनाएका छन् । साथै ८७ प्रतिशतले मौखिक प्रस्तुतिको अंश थपेको वा थप्ने योजना रहेको बताएका छन् । सोही वर्ष ‘एडविक रिसर्च सेन्टर’ले गरेको सर्वेक्षणमा ४३ प्रतिशत शिक्षकहरूले विद्यार्थीहरूले एआई प्रयोग गरिरहेका छैनन् भनी देखाउन कक्षाकोठामा नै कलम र कागज प्रयोग गरेर गणितका समस्याहरू समाधान गर्नुपर्ने विचार व्यक्त गरे । र, स्ट्यानफोर्ड युनिभर्सिटीको एउटा पाइलट कार्यक्रममा, परीक्षा निगरानी गर्ने निरीक्षकहरू (प्रोक्टरहरू)लाई पुनः सक्रिय गर्न थालेका छन् र कक्षाकोठामा तिनलाई डुल्न थालेको देख्न थालिएको छ ।

स्पेनको सान्टियागो डे कम्पोस्टेला विश्वविद्यालयकी शिक्षाविद् इसाबेल डान्स अल्भारेज डे सोटोमेयरका अनुसार अमेरिकामा कक्षाकोठामा प्रविधिको पक्ष र विपक्षमा चलिरहेको यो लडाईं अन्य धनी देशहरूमा पनि उग्र बन्दैछ । गरिब देशहरू डिजिटाइज हुन हतारिँदै गर्दा, धनी देशहरू भने थप डिजिटल पूर्वाधारमा लगानी गरेर पनि कक्षाकोठामा प्रविधिको प्रयोगलाई सीमित गर्दैछन् । सुरुमा प्रविधिमा पूर्णरूपमा होमिएको स्विडेनले सन् २०२३ मा साना बालबालिकाका लागि डिजिटल उपकरणहरूमा प्रतिबन्ध लगायो । अहिले भौतिक पाठ्यपुस्तक, हस्तलेखन र पढाइमा जोड दिइरहेको छ । डेनमार्क र फिनल्याण्डका विद्यालयहरू पनि यही बाटोमा छन् ।

यसको कारण च्याटजीपीटी र यसले सम्भव तुल्याएको व्यापक चिटिङ मात्र होइन । शिक्षकहरू विद्यार्थीहरूको ध्यान भड्किने (मास ड्रिस्ट्याक्सन)का कुराले पनि चिन्तित छन् । एडविक रिसर्च सेन्टरको अर्को सर्वेक्षण अनुसार, सन् २०२३ मा ५६ प्रतिशत शिक्षकहरूले ल्यापटप, ट्याब्लेट वा डेस्कटपलाई ध्यान भड् काउने मुख्य स्रोत मानेका छन् । अमेरिकाको मेइनस्थित लिबरल आट्र्स कलेजले त एआई सर्वव्यापी हुनुभन्दा अघि नै धेरै संकायहरूले आफ्ना कक्षाकोठाहरूलाई धेरैजसो उपकरणमुक्त क्षेत्रका रूपमा तोकिसकेका थिए ।

चिट चोर्नु नौलो कुरा होइन । दश वर्षअघिको एउटा अध्ययनमा, ८७ प्रतिशत हाइस्कूलका विद्यार्थीहरूले अघिल्लो महिना कम्तीमा एक पटक चिटिङ गरेकाे स्वीकार गरेका थिए र अनुसन्धानकर्ताहरूले त्यसयता त्यो प्रतिशत वास्तवमा घटेको पाएका छन् तर एमआईटीका रिचका अनुसार उन्नत एआईको आगमनपछि ‘चिटिङको व्यापकता (म्याग्निच्यूड)’ नितान्त फरक छ । उनी भन्छन्, ‘हामीसँग अनगिन्ती विद्यार्थीहरूको अन्तर्वार्ता छ जसले भन्छन्, ‘मैले हाइस्कूलको अन्तिम वर्षमा कहिल्यै गृहकार्य गरिनँ । मैले गरेका हरेक असाइनमेन्ट जेनेरेटिभ एआईको प्रयोग गरेर गरें ।’ कलेज तहको अवस्था पनि राम्रो नभएको लोमासको धारणा छ । उनी भन्छिन्, ‘एकजना विद्यार्थीले त एआईले हावाको भरमा सिर्जना गरेकाे मेरो एउटा पेपरलाई नै उद्धृत गरेर ल्यायो ।’ गम्भीर अध्ययनहरूले कक्षाकोठाको प्रविधिले विद्यार्थीहरूलाई बीजगणित सिक्न मद्दत गर्न सक्छ तर अन्य क्षेत्रमा सुधारको प्रमाण निकै कमजोर देखाएका छन् । यसको विपरीत, हस्तलेखनले स्मरणशक्ति र बुझाइमा पुर्‍याउने फाइदाहरूले मानविकी संकायभन्दा बाहिर पनि नयाँ सम्मान पाइरहेका छन् । न्यूयोर्कको हन्टर कलेज हाइस्कूलका एक कम्प्युटर विज्ञान शिक्षकले हालै कुराहरू सम्झन र आलोचनात्मक सोचमा मद्दत गर्ने भएकाले कोडिङ असाइनमेन्टहरूका लागि पुनः हस्तलेखन लागू गरे ।

तर पुरानो शैलीमा फर्कन चाहने सबैले त्यसो गर्न सक्दैनन् । समयको अभाव भएका विद्यार्थीका अभिभावकहरूले शैक्षिक प्रविधिको विकल्प रोज्न सक्छन् । युनिभर्सिटी अफ मिसिगनका इतिहास प्राध्यापक डेरेक भेलान्ट भन्छन्, ‘शिक्षकहरूले मौलिक, प्रत्यक्ष, र कलम– कागजमा आधारित परीक्षाहरूलाई प्राथमिकता दिएर ‘आधारभूत कुरामा फर्कनुपर्छ’ भन्ने सहमति भए तापनि, ठूला सार्वजनिक विश्वविद्यालयहरूले हस्तलिखित उत्तरपुस्तिकाहरू जाँच्न पर्याप्त शिक्षण सहायकहरू नियुक्त गरेर चुनौती अनुसारको स्रोत उपलब्ध गराइरहेका छैनन् । प्रशासनले ‘दोहोरो चरित्र’ देखाइरहेको छ ।’ युनिभर्सिटी अफ नर्थ क्यारोलिना, च्यापल हिलकी किशोरकिशोरीहरूको प्रविधि प्रयोगबारे अध्ययन गर्ने एन माल्कसका अनुसार, अभिभावकहरूमध्ये धनी र शिक्षितहरू नै कक्षाकोठामा कम प्रविधि चाहन्छन् । डिसेम्बर २०२४ मा प्यु रिसर्च सेन्टरले गरेको एक रिपोर्टअनुसार ३८ प्रतिशत हिस्पानिक र ५३ प्रतिशत अश्वेत किशोरकिशोरीहरूले आफू लगभग सधैं इन्टरनेटमा रहने बताएका छन्, जबकि श्वेत किशोरकिशोरीहरूमा यो दर ३७ प्रतिशत छ । एन भन्छिन्, ‘डिजिटल खाडल अहिले उल्टिएको छ ।’

यी परिवर्तनहरूले कक्षाकोठामा बिताइने समयको उद्देश्यमा पुनर्विचार गर्नुपर्ने आवश्यकता देखिएको छ । हन्टरमा, ११ कक्षाका एक अंग्रेजी शिक्षकले हातले लेख्नुपर्ने पाँचवटा साहित्य प्रतिक्रिया दिए, जसका लागि पूरै पिरियड लाग्यो । विगतमा यसलाई शिक्षकको प्रयासको राम्रो उपयोग मानिँदैन थियो तर अचेल एनको धारणामा, ध्यान सोस्ने डिजिटल ‘हिट–सिकिङ मिसाइलहरू’का माझ हामीले कक्षाकोठामा गर्न सक्ने सबैभन्दा राम्रो कुरा भनेको युवाहरूलाई शान्त र एकाग्र समयको उपहार दिनु नै हो ।

अनुवाद : अच्युत कोइराला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
संघर्षमय जागिर

संघर्षमय जागिर

मानसिक रोगको उकाली ओह्राली

मानसिक रोगको उकाली ओह्राली

उत्पादन, रोजगारी र दिगो अर्थतन्त्र

उत्पादन, रोजगारी र दिगो अर्थतन्त्र