नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

एडमको शतकीय चमक, जनकपुरको प्लेअफ आशा जीवित

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सोमबार रोमाञ्चक प्रतिस्पर्धा देखिएको छ । दिनको दोस्रो खेलमा एडम रोसिङटनको शानदार शतकीय पारीको मद्दतमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा केवल दुई विकेट गुमाउँदै २०१ रनको विशाल स्कोर खडा गर्‍यो । यो जारी सिजनको दोस्रो उच्च स्कोर हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध बनाएको २२० रन एनपीएल इतिहासकै उच्च स्कोर रहिआएको छ । पोखराको इनिङ्समा एडम रोसिङटनले अविजित रहँदै १०८ रनको उत्कृष्ट पारी खेले । उनलाई जेशन रोयले ४६ रनले बलियो साथ दिए । धनन्जय लक्षनले २३ र कप्तान कुशल भुर्तेलले १८ रनको योगदान गरे । कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

यो खेल दुवै टोलीका लागि प्लेअफ यात्राको दृष्टिले निर्णायक रहेको छ । चार खेलबाट एक जित मात्रै निकालेको पोखराले यो खेल जिते प्लेअफ सम्भावना बलियो बनाउनेछ भने कर्णालीका लागि यो खेल ‘गर वा मर’को अवस्थामा रहेको छ ।

अर्धशतकको संख्या २६ पुग्यो, एडम बने २१औं खेलाडी

एनपीएलमा अर्धशतकको संख्या २६ पुगेको छ । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले आज पचास रन पूरा गरेसँगै अर्धशतक बनाउने २१औं खेलाडी बने । जारी सिजनमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखराका कुशल भुर्तेल र एडम रोसिङ्टन तथा कर्णाली याक्सका प्रियान्क पन्चालले दुई–दुई अर्धशतक प्रहार गरेका छन् । कर्णालीका मार्क वाट भने जारी प्रतियोगितामा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन् ।

यसअघि आजकै पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो । लगातार चार खेल पराजित भएको जनकपुरले पाँचौं खेलमा दुई अंक जोड्दै प्लेअफको गणितीय आशा कायम राखेको छ ।

१७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । जितमा माज सदाकत (६३) र अनिल शाह (६१) ले अर्धशतकसहित निर्णायक भूमिका खेले । अनिल शाह एक विकेट समेत झार्दै ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यसअघि चितवनले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनाएको थियो । ओपनर ब्याटर डेविड मलानले ८० र अर्जुन साउँदले ५२ रन जोड्दै ११२ रनको शतकीय साझेदारी गरेका थिए ।

‘प्लेअफ पुग्ने आशा अझै बाँकी छ’

जितपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनकपुरका नायक अनिल शाहले दुई खेल बाँकी रहेकाले प्लेअफको सम्भावना अझै जीवित रहेको बताएका छन् । ‘लगातारको हारले मनोबल घटेको थियो, तर आजको जितले आत्मविश्वास फर्किएको छ । बाँकी खेल जितेर सम्भावना जीवितै राख्छौं,” शाहले भने । पाँचौं खेलमा तेस्रो हार बेहोरेको चितवन राइनोजका लागि भने प्लेअफ यात्रा कठिन बन्दै गएको छ । उसका बाँकी दुई खेलमा जित अनिवार्य बनेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद