नेपालका शहरहरूको विकास हुनुमा विगतका प्रशासकीय केन्द्रहरूको योगदान रहेको छ । जहाँ जहाँ प्रशासकीय केन्द्र, गौंडा, मुकाम थिए, ती ठाउँमा बजार तथा वस्ती बढ्दै गयो । ती मुकामहरू जहाँ सडक पुगेको छ तिनले शहरको रूप लिए । सडक नपुगेको मुकाम भने बजार बने । त्यसरी नेपालका पहाडका वस्तीको विकास भयो ।
कुनै पनि ठाउँ शहर बन्न तीन–चार तत्त्त्वको आवश्यकता पर्दछ । पहिलो, उर्वर कृषि हो भने अन्य तत्त्वमा गैरकृषि व्यवसायको सम्भावना, आन्तरिक वा मध्यस्त व्यापारको केन्द्रको सम्भावना हो । जसरी काठमाडौं उपत्यका मध्यस्त व्यापारको केन्द्रका रूपमा उदाउँदै शहर बन्यो, त्यसरी नै नेपालका जति पनि शहर छन्ती आन्तरिक वा बाह्य व्यापारका केन्द्रका रूपमा रहेका छन् ।
कुनै पनि बजार वस्ती शहरीरणतर्फ उन्मुख हुँदै जाँदा नयाँ व्यापार - व्यवसाय र सेवा क्षेत्रको सम्भावना पनि बढ्दै जान्छ । तिनै ठाउँमा कला कौशलको विकास हुन्छ । त्यो ठाउँमा थपिने नयाँ सेवा, सुविधाले नयाँ समुदायलाई आकर्षित गर्छ र क्रमशः सहर र वस्ती विकास हुँदै जान्छ ।
काठमाडौं उपत्यकाको विस्तार पनि त्यही रूपले हुँदै आएको हो । सन् १९७१ सम्म काठमाडौं उपत्यकाको जनसंख्याको वृद्धिदर र नेपालको ग्रामीण क्षेत्रको जनसंख्याको वृद्धिदर उस्तै थियो । तर, १९८० को दशकदेखि काठमाडौं उपत्यकाको शहरीकरण तीव्र भयो । ८० को दशकमा शिक्षा, स्वास्थ्य, आर्थिक लगायतका राष्ट्रिय क्रियाकलाप बढ्दै जाँदा देशको जनसंख्या शहरमा केन्द्रित हुँदै गयो । त्यही कालखण्डमा पहाड र तराइ जोड्ने विभिन्न सडक मार्ग बने ।
सन् १९५६ मा भारतीय सहयोगमा बनेको त्रिभुवन राजपथले काठमाडौंलाई तराईसँग जोड्यो, चीनको सहयोगमा बनेको पोखरा र पश्चिम क्षेत्रलाई पृथ्वी राजमार्गले सन् १९७४ मा जोड्यो । त्यस्तै नेपालको ‘लाइफलाइन’ सरह भएको पूर्व–पश्चिम राजमार्गले तराईका ठाउँहरूलाई सन् १९६१ देखि जोड्दै लग्यो ।
साथै, जसरी धरान धनकुटा राजमर्गले उत्तर–दक्षिण सम्पर्क बढायो, त्यसैगरी तराईका मुकामहरूको उत्तरका पहाडी क्षेत्रसँगको सम्पर्क सडकका माध्यममले विस्तार हुँदै जाँदा जनसंख्याको चहलपहल बढ्यो । नेपालको सहर विकासको अनौठो चरित्र अर्को के पनि छ देखिन्छ भने जहाँ पुगेर सडक अन्त्य हुन्छ त्यहाँ बजार बन्छ ।
कालान्तरमा त्यहाँबाट सडक अझ विस्तारित भएर अन्त पुग्दा विद्यमान सहर ओझेलमा परेर नयाँ गन्तव्यमा सहर विकासित हुन पुग्छ । त जहाँ सडकको अन्त्य भयो, त्यहाँ बजार बन्यो । यसरी बजार बन्ने क्रममा त्यो शहर मात्र दिगोरूपमा रहिरहन सक्यो जुन शहरमा आर्थिक आधार थियो । त्यसैले, शहरको विकासमा आर्थिक आधारको ठूलो भूमिका हुन्छ । जुन शहरमा आर्थिक स्रोतसाधन हुन्छ, त्यसको परिचालनले रोजगारीको निर्माण गर्छ र सेवा तथा वस्तुको माग बढाउँछ ।
नवीन गोदार
काठमाडौं उपत्यकाको दक्षिणतिरको एउटा उदाहरण हेर्दा त्यो कुरा प्रष्ट हुन्छ । दक्षिण ललितपुरलाई जोड्ने कान्तिराज पथको काम धेरै पहिला थालिए पनि विविध कारणले बन्ने सकेन । त्यो क्षेत्रको बजार चापागाउँ अर्थात् वज्रवाराहीसम्म पुगेर टुंगिन्थ्यो । पछि बाटो लेलेसम्म पुग्यो, अनि बजार लेलेसम्म पुग्यो ।
अहिले कान्तिराजमार्ग मकवानपुरसम्म पुगेको छ । सो मार्गमा पर्ने विभिन्न ठाउँमा साना बजार विकसित हुँदैछन् । त्यही कुरा सिन्धुलीको धेरैपछि बनेको बाटोको हकमा लागू हुन्छ । नेपालको शहरीकरणको प्रकृति र प्रवृत्तिमा विविधता छ, पूर्वतिर एक प्रकारको शहरीकरणको प्रणाली छ, मध्यक्षेत्रको आफ्नै एउटा प्रणाली छ ।
सडकको विस्तारले देशको पूर्वी शहरी प्रणाली र मध्यक्षेत्रको शहरी प्रणाली एक अर्कासँग आवद्ध हुँदैछ । यही दुई शहरी प्रणालीभित्र देशको झण्डै ६० प्रतिशत शहरी प्रणाली आबद्ध छन् । नेपालमा नगरपालिका भनिएपछि सहर भनेर परिभाषित गरिन्छ । त्यस हिसाबले हेर्ने हो भने नेपालको ठूलो जनसंख्या शहरमा वसोवास गर्ने देखिन्छ ।
शहर हुन केही मापदण्ड र आधार चाहिन्छ । एउटा मान्यता जनसंख्या हो । शहर हुन ५ हजारभन्दा बढीको वसोवास हुनुपर्छ । जनघनत्व शहर हुनको निम्ति अर्को महत्वपूर्ण आधार हो । नेपालको सन्दर्भमा १० व्यक्ति प्रति हेक्टरभन्दा बढी हुनुपर्छ भन्ने मापदण्ड निर्धारण गरिएको छ ।
यो आधारलाई लिने हो भने नेपालको नगरपालिका घोषणा गरिएका कैयौं पालिकाका वडाहरूमा प्रति हेक्टर १० व्यक्तिको गणना पुर्याउन मुस्किल छ । काठमाडौं, पाटन, भक्तपुरजस्ता शहरमा जनधत्व अधिक छ । काठमाडौंका त जनघनत्व त भारतको कलकत्ताको जस्तै नै छ । तर नयाँ वस्ती तथा शहरमा त जनघतत्व कम छ ।
शहरमा अन्य विभिन्न सेवा सुविधा पनि हुनुपर्छ । भारतकै उदाहरण हेर्ने हो भने दुईतिहाइ वयस्क पुरुष जनसंख्या गैरकृषि व्यावसायमा लागेको हुनुपर्छ भनिन्छ । वस्ती पनि छिरलिएको होइन आबद्ध हुनुपर्छ भनिन्छ । नेपालको शहरीकरणको मुख्य क्रियाकलाप व्यावसायमा कृषि रहेको छ । कृषिपछि शहरीकरणको आधार व्यापार र सेवा क्षेत्र रहेको छ ।
पछिल्ला दिन तराईका मुख्य शहर, विराटनगर, वीरगञ्ज, नेपालगञ्जमा झण्डै दुईतिहाइ मान्छेको संलग्नता व्यापार र सेवा क्षेत्रमा रहेको छ । ती बाहेकका अन्य शहरमा कृषिको संलग्नता अधिक देखिन्छ ।
काठमाडौं लगायतका ठूला शहरमा कृषिको संलग्नता कम देखिन्छ भने व्यापार र सेवा क्षेत्रको संलग्नता अधिक छ । हाम्रो शहरीकरणमा उद्योगको योगदान न्यून छ । त्यसैले नेपालका शहरहरू औद्योगिक शहर होइनन् । नेपालको पछिल्लो तथ्यांकले शहरी वासिन्दाको संख्या अधिक रहेको देखाउँछ ।
उपर्युक्त आधारहरूलाई हेर्ने हो भने शहरी संख्या कम हुनुपर्ने हो । माथि उल्लेख भएका शहरका आधारहरूका आधारमा हेर्ने हो भने नेपालको हाराहारी ३० प्रतिशत जनसंख्या मात्रै शहरी जनसंख्या हो । हाम्रो जति पनि बजार शहर बने ती उपभोगको केन्द्रका रूपमा विकसित हुँदै आएका शहर भए । हाम्रा शहर उत्पादनका केन्द्र हुन सकेनन् ।
उत्पादनमा आधारित शहरहरू काठमाडौं, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज, पोखरा लगायत हुन् । त्यसबाहेक, औद्योगिक विकासका कारण शहर बनेको पाइँदैन । शहरको विकासमा महत्त्वपूर्ण भूमिका औद्योगिक विकासले निर्वाह गर्नुपर्ने थियो तर हाम्रो सन्दर्भमा त्यो कुरा लागु हुन सकेन ।
पश्चिमी युरोपमा पहिला कृषि क्रान्ति भयो, त्यसपछि औद्योगिक क्रान्ति भयो, र तेस्रो चरणमा व्यापार र पछिल्लो चरणमा बल्ल सेवा प्रदान गर्ने व्यवसायको विस्तार भयो । तर हाम्रो सन्दर्भमा उद्योगको चरणबाट एकैपटक सेवामा फड्को मार्ने गरी विकास हुँदै आयो ।
भारतका कतिपय शहरमा पनि यस्तै प्रवृत्ति छ । पश्चिमी युरोपमा शहरीकरणको ठूलो योगदान नै औद्योगिक विकास थियो । हाम्रो त्यो अवस्था आउनै सकेन । अब पनि बृहत् मात्राको औद्योगिक विकास हुने सम्भावना कम छ । एक त उद्योगको संख्या र क्षेत्र नै संकुचनमा परेको छ अर्को सम्भावित उद्योगको आकार पनि ठूलो छैन । ठूलो भनिएका उद्योगको रोजगारी संख्या पनि चार सय, पाँच सय हाराहारी मात्रै देखिन्छ, त्यसले शहरीकरणको विकासमा ठूलो असर गर्दैन ।
हामीले अब शहरीकरणको आधारलाई प्रष्ट पार्नुपर्छ । त्यो आधारलाई सबल बनाउँदै स्वस्थ्य शहरको विकास गर्न आवश्यक तत्त्व के–के हुन् ? उपलब्ध स्रोत–साधनलाई परिचालित गर्दै कसरी अघि बढ्न सकिन्छ ? स्रोत–साधनको समुचित बाँडफाँड र व्यवस्थापन गर्न के गर्नुपर्छ भन्ने विषयहरूलाई दिशानिर्देश गर्नुपर्नेछ ।
हाम्रा नीति, योजनाले यी विषयमा चर्चा नै गर्दैन । हाम्रो नीतिको अर्को विडम्बना भनेको यहाँ शहर बनाउने भनेर घोषणा गर्छ, नयाँ शहर यहाँ यसरी बनाउने भनेर खाका बनाउँछ । त्यो त पूर्णतः गलत अभ्यास हो । शहर त्यसरी निर्माण गर्न सकिँदैन ।
शहर बनाउन स्रोत साधनको उपलब्धता हुनुपर्यो, आर्थिक क्रियाकलाप बन्नुपर्यो । त्यो क्रियाकपालले सेवा र व्यापारको माग र आपूर्ति गर्ने केन्द्र वा स्थल बन्नुपर्छ । तब मात्र शहर बन्छ ।
अकबरले आफ्नो पालामा दिल्ली नजिकै फत्तेपुर सिक्री शहर त बनाए तर शहर बन्न सकेन, किनभने फत्तेपुरमा पानी थिएन । त्यसैले यहाँ शहर बनाउँछु भन्दैमा शहर बन्दैन । शहरलाई चाहिने आधारभूत तत्त्व हुन्– आर्थिक आधार, जसबिना शहरीकरण हुन सक्दैन । त्यसैले, पहाडमा २० वटा शहर बनाउने, काठमाडौंमा चार दिशामा चारवटा शहर बनाउने भन्ने जुन खाका बनाइयो, त्यस अनुसार काम हुन गाह्रो छ ।
मध्यम वर्गको उदयभएसँगै राम्रो ठाउँमा राम्रो प्लटिङ गर्दा वस्ती विकास हुन सक्छ तर, शहर बन्न गाह्रो हुन्छ । नेपालको अहिलेको चुनौती भनेको पहाडको जनसंख्यालाई पहाडमै कसरी स्थापित गर्ने भन्ने हो ।
नेपालको अहिलेको ठूलो जनसांख्यिक समस्या त्यो हो । पहाडबाट क्रमिक रूपले मान्छेहरू बाहिर जाँदैछन् । विगतमा एउटा पहाडबाट अर्को पहाडमा जान्थे, त्यसपछि पहाडबाट तराई जाने क्रम देखियो ।
विगतमा विदेशको गन्तव्यमा पहिला भारतमा सीमित थियो भने अहिले गन्तव्य विविध भयो । अहिले ठूलो वयस्क नेपाली जनखंख्या खाडी मुलुक, पूर्वी एसिया लगायतका स्थानमा पुगेका छन् । ती जो गएका छन्, फर्केर आएर गाउँमै बस्ने सम्भावना कम छ ।
सानो तर दिगो शहर नेपालको आवश्यकता हो । अब त्यसलाई कसरी पूर्ति गर्ने, अर्थात सानो र दिगो शहर निर्माण गर्नका लागि स्रोत र साधन कसरी जुटाउने, आर्थिक आधार कसरी निर्माण गर्ने भन्ने अहिलेको आवश्यकता हो । अब त्यसबारेमा हाम्रा नीति निर्माण केन्द्रित हुनुपर्दछ ।