नेभिगेशन
प्रदेश

राजस्व अनुसन्धान र भन्सार सेवा सुधार गर्न व्यवसायीको माग

भैरहवा । जिल्लामा रहेका राजस्व अनुसन्धान र भन्सार कार्यालयका सेवा व्यवसायीमैत्री हुनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले जेनजी आन्दोलनपछि सरकारले औद्योगिक र व्यावसायिक क्षेत्रमा गरेको सुधारले निरन्तरता पाउनुपर्ने बताए ।

लुम्बिनी र गण्डकी प्रदेशका जिल्लामा खाद्यान्नलगायत सामाग्री आपूर्ति हुने भएकाले एउटै गाडीमा धेरै व्यावसायिक प्रतिष्ठानका सामान पठाउने गरिएको तर कसैले त्यस्ता गाडीमा भन्सार छलीका सामान राखेको भए सम्बन्धित व्यक्तिलाई मात्र कारबाही गर्न र गाडी फिर्ता गरिदिन आग्रह गरे । यस्तै, व्यवसायीले मिलेमतोमा चोरी तस्करी बढेको, राजस्व अनुसन्धानमा पैसा बिना काम नहुने गरेको र नाकामा पर्यटकलाई असुविधा भएको लगायतका गुनासो गरे ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्य, पूर्वअध्यक्ष ठाकुरकुमार श्रेष्ठलगायतका व्यवसायीहरूले राजस्व अनुसन्धान र भन्सार सेवामा सुधार गर्न माग गरे ।

राजस्व अनुसन्धान कार्यालय बुटवलमा प्रमुख राधेश्याम दाहालले कुनै पनि व्यवसायीलाई दुःख दिने पक्षमा कार्यालय नरहेको बताए । राजस्व चुहावट गर्नेलाई संरक्षण नगर्ने जनाउँदै बिलबिजक राम्रो भएका व्यवसायीले अब डराउनुनपर्ने उनको भनाइ छ । भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलले सीमा क्षेत्रमा बसेर धेरै कुरामा व्यावहारिक बन्न जरुरी रहेको बताए । उनले चोरी तस्करीको सामान खरिद नगर्न व्यवसायीलाई आग्रह गरे । उनले अनलाइन भ्यालुयसन डाटाबेस लागूपछि भन्सार थप व्यवस्थित हुँदै गएको जनाए ।

कार्यक्रममा उद्योगी व्यवसायीले औद्योगिक एवं व्यावसायिक क्षेत्रका समस्या समाधान गरेर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्