नेभिगेशन
खेलकुद
एनपीएल सिजन–२

लुम्बिनीको तेस्रो जित

लुम्बिनी लायन्सले एनपीएल–२ मा बुधबार तेस्रो जित निकालेको छ । विराटनगर किंग्सलाई लुम्बिनीले ५ विकेटले हराएको हो । जितका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे । उनले ४४ बलमा ६ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् ।

विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २/२ र बसिर अहमदले १ विकेट हात पारे । यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

विराटनगरमा लागि बिहीबार पहिलो पटक मैदानमा आएका हाइप्रोफाइल ब्याटर फाफ डुप्लेसिसले बलियो प्रदर्शन गर्न सकेनन् । सुरुवातमै पालो पाएका उनले ९ बलमा २ चौकाको सहायतामा १२ रन मात्र जोड्न सके । उनी अभिषेश गौतमको बलमा आउट भए । उनी अघि अर्का ओपनर जर्ज मुन्से डक रन जोड्न नपाउँदै आउट भएका थिए । तेस्रो नम्बरमा आएका लोकेश बमले विराटनगरका लागि सर्वाधिक ३५ रन बनाए । बसिर अहमदले २८ र साम हेजलेटले २७ रन जोडे । मर्चेन्ट डी ल्याङ १० र सन्दीप लामिछाने ६ रनमा अविजित रहे । लुम्बिनीका शेर मल्लले ३ विकेट झारे । यो जितसँगै ६ अंक जोडेको लुम्बिनीले पनि प्लेअफको सम्भावना बढाएको छ । ६ खेलबाट ८ अंक रहेको विराटनगरको पनि प्लेअफको दौडमा छ ।

लुम्बिनीका ओपनर ब्याटर डार्सी सर्टले बनाएको अर्धशतक एनपीएल–२ मा २७औं हो । जसमा २३ खेलाडी सामेल छन् ।

जारी सिजनमा उनीअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक जोडेका छन् ।

यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किंग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित वर्माले, जिमी निशम, एडम रोसिङ्टन, चितवनका डेबिड मलान र अर्जुन साउद, काठमान्डु गोर्खाजका जोन सिम्प्सन, कर्णालीका मार्क वाट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक बनाएका छन् । जारी सिजनमा शतक भने कर्णालीका मार्क वाट र पोखराका एडमरोसिङटनले मात्रै प्रहार गरका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद