मानसिक रोगको उपचार गर्ने सन्दर्भमा धेरै किसिमका बिरामीहरू हेरियो । त्यसमा आम नागरिकका लागि अनौठो लाग्ने तर बुझ्न जरुरी भएका केसहरू पनि थुप्रै थिए । त्यसमध्ये स्मरण भइरहेका केही केसहरू र मानसिक रोगबारेका केही कुरा निम्न छन्ः
उपचार नगरी जेल
एकजना पूर्व–ब्रिटिस लाहुरेले आफ्नी श्रीमतीलाई घरभित्रै टुक्रा–टुक्रा पाररे काटेछन् अनि सुटकेसमा राखी घरपछाडि फालिदिएछन् । उनलाई ज्यानमारा केसमा मुद्दा चलाई जेल पठाइएको रहेछ । यो घटना भएको केही समयपछि उनका मानिस मकहाँ आए । उनीहरूले सम्पूर्ण घटना विवरण बताउँदै भने, ‘डा. साब, मानिसले त यसो गर्दैन । मारिहाले पनि टुक्रा–टुक्रा गर्दैन र सबैले देख्ने ठाउँमा फाल्दैन । यो मानसिक बिरामी हो । उपचार गरिदिनुपर्यो ।’
मैले सकारात्मक जवाफ दिएपछि उनीहरूले जेलमा कुरा गरी उपचारका लागि ल्याए । मैले हेरेँ, मानसिक राेग सिजोफ्रेनिया हो भन्ने यकिन गरें । यस्ता अलि अनौठो खालका घटना प्रायः सिजोफ्रेनियाका बिरामीले गरेको पाइन्छ । मानसिक रोग मेनिया भएकाले रिसको झोकमा कहिलेकाहीँ गर्न सक्छन् तर यस्तो विचित्र किसिमले गर्दैनन् ।
ती बिरामीलाई केही समय उपचार गरेपछि धेरै सुधार भयो र जेलबाट पनि छिट्टै निस्किए । औषधि निरन्तर खाइरहेकाले उनलाई राम्रो भयो । अनि, ती मानिस पछि यूके गए र सुरक्षा गार्डका रूपमा काम पनि पाएछन् । पछि औषधि निरन्तर खाएनन् कि के भयो, रोग बल्झिएछ । उनलाई त्यहाँबाट फर्काइदिएछन् ।
अर्को यस्तै जेल परेका करिब ३५ वर्षका मानसिक बिरामीलाई मैले जेलबाट छुटाउन सकेको छु। उनलाई छारेराेग लागेको रहेछ । छारेराेग धेरैै प्रकारका हुन्छन् । एउटा प्रकारमा बिरामी जीउ अररो पाररे लड्ने र मुखबाट फिँज निकाल्ने हुन्छ । यस्तो बिरामीलाई एकछिनपछि आफैं ठीक हुन्छ । होसमा आएपछि केही क्षण टाउको दुखेको जस्तो हुने, कन्फ्युजजस्तो हुने हुन्छ र बिस्तार ठीक हुन्छ ै ।
तर कोही–कोही बिरामी चाहिँ केही समयपछि बहुलाउँछन् । यस किसिमको स्थितिलाई पोस्ट– इक्टल साइकोसिस भनिन्छ । उनलाई पनि यस्तै भएछ र आफ्नै छोरालाई मारिदिएछन् । त्यसपछि केस चल्यो र उनलाई सेन्ट्रल जेलमा पठाइयो । उनलाई कुनै डाक्टरले पनि जाँचेको रहेनछ । पछि सेन्ट्रल जेलमा पनि उनलाई छारेराेगले छोपेकाले मकहाँ उपचारका लागि ल्याए ।
मैले सोधपुछ गर्दा उनले ‘धेरै अघिदेखि नै यो छोप्ने रोग भएको र यस्तै छोपेको बेलामा त्यस्तो घटना पनि भयो’ भने । उनले त्यस बेलासम्म यससम्बन्धी कुनै औषधि पनि खाएका रहेनछन् । बिरामी काठमाडौंबाहिरका थिए । यदि उपचार गरेको भए यो हदसम्मको घटना हुने थिएन । आफ्नै छोरालाई सद्दे मानिसले कहाँ मार्छ र ? त्यसमा पनि एक्लो छोरो । मानसिक रोगको अवस्थामा भएको घटना भएकाले जेलको समय पनि केही माफ हुन्छ । त्यसैले यसबारेेमा पनि मानसिक राेगी भएको भनेर लेखापढी भएपछि ती मानिस जेलबाट छुटे । पहिले नै थाहा भएको भए सजाय नै नहुन सक्थ्यो वा कम हुन सक्थ्यो होला ।
डिप्रेसन र आत्महत्या
मानसिक अस्पतालमा म निर्देशक भएका बेला मेरो युनिटअन्तर्गतको बेडमा डिप्रेसनबाट ग्रस्त एकजना ३०–३५ वर्षकी महिला भर्ना भएकी थिइन् । निकै सुधार भइसकेको थियो । मैले ‘भोलि यो पेसेन्टलाई डिस्चार्ज गर्ने भनें । तर बिरामीलाई चाहिँ भनिएको थिएन । भोलिपल्ट जाँदा त अस्पतालको नयाँ भवनको माथि गएर रेलिङमा झुन्डिई आत्महत्या गरेको थाहा भयो ।
धेरै डिप्रेसन भएपछि आत्महत्याको विचार आए पनि त्यो कार्यान्वयन गर्न सक्ने तागत उसमा हुँदैन । औषधि खाएर डिप्रेसनमा सुधार आउँदै गएपछि तागत बढ्छ र आत्महत्याको विचारलाई कार्यान्वयन गर्न सक्छ ।
त्यस कारण डिप्रेसन भएका बिरामीलाई हामीले आत्महत्याको विचार आउँछ कि आउँदैन ? भनेर सोध्नै पर्छ । तर कतिपय बिरामी जसले मर्ने नै विचार गरेको छ भने उसले आत्महत्याको विचार आउँदैन भन्छ । त्यस्तालाई जोगाउन निकै गाह्रो हुन्छ । त्यसैले यसबारेेमा परिवारसँग पनि बुझ्नुपर्छ र सावधानी अपनाउनुपर्छ । बिरामीका आफन्तले सबै ठीक भएको छ भनिदिँदा कहिलेकाहीँ यस्ता घटना हुन सक्छन् ।
आफूखुसी औषधि खाँदा
म साइकियाट्रीमा एमडी गररे दिल्लीबाट भर्खर आएको थिएँ । त्रिपुरेश्वरमै क्लिनिक सुरु गरेको थिएँ । मेरो क्लिनिकमा एकजना महिला आएकी थिइन् । उनका श्रीमान्लाई मानसिक रोगले च्यापेको रहेछ । उनले भनिन्, ‘आउनै मान्नुहुन्न, रोगै छैन मलाई भन्नुहुन्छ । बोलेको बोल्यै गर्नुहुन्छ । रातभरि सुत्नुहुन्न । गीत गाउने, हल्ला गर्ने गर्नुहुन्छ । केही औषधि दिनुहुन्छ कि डा. साब !’ मैले उनको कुरा सुनेपछि यो मेनियाको लक्षण हो भनेर बुझें । मैले बिरामी नआई औषधि लेख्न मिल्दैन, बिरामी हेर्नुपर्छ भनें ।
एकपटक धनगढीका बिरामी मेरो क्लिनिकमा आए । मैले तीन–चार वर्षअघि हेरेको केस रहेछ । लामो समयको ग्यापपछि श्रीमतीलाई लिएर आएका थिए । उनलाई क्यानडा जानुपरछ, त्यसै े ले ‘लोरी’ भन्ने औषधि ६ महिना अवधिको लागि लेखिदिनुपर्यो भने । मैले ‘यो औषधि खाइरहेको हो ? कसले लेखिदियो ?’ भन्दा आफैं किनेर खाएको भने ।
मैले भनें, ‘यो बानी लाग्ने (लत लाग्ने) औषधि हो । म लेख्न सक्तिनँ । यो मैले पहिले लेखेको औषधि पनि होइन ।’
उनकी श्रीमतीले सो औषधि लेखिदिन कर गरिन्, मैले फेरि पनि लेख्न सक्तिनँ भनें ।
ती पुरूष बिरामी एकैचोटि उठेर ‘तँ मात्र छस् र डाक्टर ?’ भनी कराए । मुख छोडेर जथाभावी भन्न थाले ।
मैले प्रहरी बोलाउन स्टाफलाई अराएँ । ती बिरामी कराउँदै बाहिर गए । श्रीमतीले हात जोडेर ‘हाम्रो बेइज्जत हुन्छ, उनको दिमाग नै ठीक छैन, म माफी माग्छु, प्रहरी नबोलाइदिनुस्’ भनेपछि मैले प्रहरीलाई आउनुपर्दैन भन्न लगाएँ ।
त्यो लोरीलगायत कुनै पनि बानी लाग्ने औषधि डाक्टरको प्रेसक्रिप्सनविना किन्न पाइँदैन । डाक्टरले लेख्दा पनि एकपटकलाई मात्र मान्यता हुन्छ । नियमअनुसार यस्ता औषधि बेचिसकेपछि प्रेसक्रिप्सनमा औषधि दिइसकेको भनेर छाप लगाउनुपर्छ । औषधि बिक्रीको सबै रेकर्ड लेखेर कुनै–कुनै औषधिको हकमा बिरामीलाई रजिस्टरमा सही गराउनुपर्छ । तर यहाँ यस्तो चलन विरलै छ । कसैले लेखेर रेकर्ड राख्छन् पनि तर डाक्टरको नामचाहिँ पुरानै लेखिदिन्छन्, त्यसो गर्नुहुँदैन ।
यसलाई औषधि व्यवस्था विभागले जसरी अनुगमन गर्नुपर्ने हो त्यसरी गरेको देखिंदैन । काठमाडौंमा नै यो समस्या छ । एकचोटि लेखिदियो भने वर्षौंसम्म पसलबाट औषधि मागेर लगेको मैले पाएको छु। कोही बिरामी त १५ वर्षसम्म त्यही एउटै औषधि खाइरहेका हुन्छन् । बिरामीमा रोगको अवस्था, गर्भवती अवस्था आदि हेररे औषधि परिवर्तन गर्नुपर्ने हुन्छ । यस्ता औषधि खाफूखुशी खान्छन् । यसबाहेक एन्टिबायोटिकलगायत डाक्टरको प्रेसक्रिप्सन चाहिने अरु औषधिमा पनि यस्तो समस्या देखिएको छ । औषधिको सम्बन्धमा राम्रो अनुगमन हुन जरुरी छ ।
सामाजिक कलंक र अन्धविश्वास
सोसियल स्टिग्मा अर्थात् सामाजिक कलङ (रोग, जाति, पेसा, लिंग, यौनिकता आदिका कारण होच्याउने, हेप्ने प्रवृत्ति) उच्च वर्ग एवं शिक्षित वर्ग भनिनेहरूमा बढी पाइन्छ । तल्लो वर्गका मानिसमा मानसिक रोग लागेमा उसलाई उपचारको बाटो थाहा भएमा वा कसैले बाटो देखाइदिएमा उनीहरू खुरुखुरु स्वास्थ्य संस्थामा आएर उपचार गर्छन् । तर उच्च तथा शिक्षित वर्ग भनिनेहरूमा यस्तो समस्या आएमा उनीहरूले धेरै सोच–विचार गर्छन् र रोग नै लुकाउने प्रयास गर्छन् । सकेसम्म अस्पताल वा क्लिनिक जान चाहँदैनन्, गइहाले पनि टोपी, गगल्स, मास्क आदि लगाई कसैले नचिनुन् भनेर आउँछन् । सकेसम्म डाक्टरलाई नै घर बोलाउन खोज्छन् । यो सामाजिक कलंककै उपज हो ।
एकपटक एकजना प्रोफेसरले आफ्नी छोरीलाई मानसिक रोग लागेकोमा मानसिक अस्पताल वा क्लिनिक लान नै चाहेनन् । घरमै रोग पालेर राखे । शिक्षित वर्गमा झन् सोसियल स्टिग्मा कम हुनुपर्नेमा झन् बढी पाइएको छ । गाउँमा भन्दा शहरमा यो समस्या बढी पाइएको छ । तर किन यसो हुन्छ भन्ने कुरा अनुसन्धानको विषय पनि हो ।
मुटु हल्लिएजस्तो हुने, डर लागेजस्तो हुने समस्या धेरैजसो मानसिक समस्याका कारणले भएको हुन्छ । तर बिरामी प्रायः मुटुको डाक्टरकहाँ पुग्छन् । कतिपय डाक्टरले आफैँ उपचार गरिरहेका हुन्छन् । उनीहरूलाई पनि यसबारे अलि–अलि ज्ञान त हुन्छ तर त्यस विषयका विज्ञचाहिं उनीहरू होइनन् । उनीहरूबाट सही उपचार नपाउन सक्छन् । कतिपय डाक्टरले मानसिक समस्या हो भनेर मानसिक रोग अस्पतालतिर पठाउँछन् तर बिरामी आफैंले ‘म पागल हो र मानसिक अस्पताल जानलाई ?’ भनेर उल्टै रिसाउँछन् । यस कारणले गर्दा कतिपय बिरामी मानसिक अस्पतालमा पनि जाँदैनन् र ऊकहाँ पनि फेरि जाँदैनन्, बरू अर्को डाक्टरकहाँ जान्छन् । यो पनि सामाजिक कलंककै उपज हो । यस्तो स्थितिले रोगी निको हुनुभन्दा रोग झन् बढ्दै जान्छ ।
कसैलाई एन्जाइटी (एक प्रकारको मानसिक रोग) भएर मुटुको धड्कन एकदमै बढ्ने र श्वास फेर्न गाह्रो भइरहेको छ भने तीमध्ये कोही मुटुको डाक्टरकहाँ पुग्छन् भने कोही छातीको डाक्टरकहाँ पुगिरहेका हुन्छन् । कतिपय छातीको डाक्टरले दम हो भनेर दमको औषधि दिइरहेका हुन्छन् । यस किसिमले त रोग निको हुँदैन, बरू सही उपचार नपाएर रोग बढ्दै जान्छ । यस्तो समस्या धेरै पाइन्छ । ठूला अस्पतालका नाम चलेका डाक्टरहरूबाट नै यस्तो कार्य वर्षौंदेखि भइरहेको तर निको नभएपछि मकहाँ आएको पाएको छु। अनि अरु औषधि हटाएर सही औषधि दिएपछि ठीक भएका धेरै केस मैले हेरेको छु। यी सबै धेरै हदैसम्म सामाजिक कलंकका कारणले भएका हुन् । मानसिक रोगको डाक्टरकहाँ जाँदा चिनेजानेकाले त्यो त पागल भएछ भन्ने, घृणा गर्ने, होच्याउने, हेप्ने, पछि बिहे गर्न गाह्रो हुन्छ भन्ने ठान्ने हुँदा डराएर अन्यत्रै उपचार गर्न जान्छन् । कतिपय अवस्थामा गलत उपचार भइरहेको हुन्छ । यो समस्या नेपालमा धेरै नै छ । यो समस्या भारतमा पनि छ र अरु देशहरूमा पनि धेरैथोर पाइन्छ ।
अन्धविश्वासचाहिँ तल्लो तथा अशिक्षित वर्गमा धेरै नै देखियो । कुनै पनि खालको तनाव झेल्न नसक्ने भयो भने प्रायः युवतीहरूमा यो समस्या देखिन्छ । काम्ने, बक्ने, लडिबुडी गर्ने आदि व्यवहार देखिन्छन् । यसलाई पहिले हिस्टेरिया पनि भनिन्थ्यो तर अहिले कन्भर्सन डिसोसिएटिभ डिसअर्डर भनिन्छ । यो समस्या कहिलेकाहीँ स्कूलहरूमा समूहमा देखिन्छ । एकै किसिमको व्यक्तित्व भएकाहरूमा सामूहिक रूपमा यो समस्या देखिन्छ । यसलाई मास हिस्टेरिया पनि भनिन्छ । यस्तै खालका बिरामी मकहाँ पनि आउँछन् । यस्ता खालका बिरामी लिएर आउँदा औषधि लेखिदिएपछि हामी भन्ने गर्छौं, ‘यो बिरामीलाई तनाव धेरै भयो । के कारणले यस्तो भएको छ ? कारण थाहा पाउनुपर्छ । साथै यसरी छोपेका बेलामा यसलाई वास्ता गर्नुहुन्न। जति वास्ता गर्यो उति समस्या बढ्छ । त्यसैले बिरामीलाई धेरै वास्ता नगर्नु र धेरै अस्पताल चहार्ने पनि नगर्नु।’
तर परिवारका मानिस मान्दैनन्, उनीहरू डराएर परिवारका सबैले वास्ता गर्ने, सहानुभूति व्यक्त गर्ने, पटक–पटक अस्पताल लगिहाल्ने गर्छन् । त्यसले गर्दा सेकेन्डरी गेन बढेर रोग झन् बढ्छ । सबैले महत्व दिँदा उसलाई आनन्दको महसुस हुन्छ र त्यस्तो लक्षण बन्द हुनुको सट्टा झन् बढ्छ । हामी यो सेकेन्डरी गेन नहोस् भनेर कोशिश गर्छौं तर परिवारले मान्दैनन् ।
एकचोटि यस्तै छोप्ने समस्या भएर बिरामीलाई धामीकहाँ लगेछन् । धामीले पन्यूँले गालामा डामिदिएछ । त्यति मात्र नभई पिट्ने, कपाल तान्ने गरछे । मानसिक रोगको उपचार यसरी हुन्छ भन्ने उनीहरूमा अन्धविश्वास पाइन्छ । माथिल्लो वर्गका केही व्यक्तिहरूमा यस्तो समस्या हुँदा मलाई घरमै बोलाउँथे । सुरु–सुरुमा त गएँ पनि तर पछि ‘घरमा आउँदिनँ, क्लिनिकमा नै ल्याउनुस्’ भनेपछि ती मानिस बिरामी लिएर कहिल्यै आएनन् ।