नेभिगेशन
कानून/द्वन्द्व

सयौं नक्कली प्रमाणपत्रसहित भारतीय पक्राउ

भैरहवा, २ भदौ ।  रुपन्देही प्रहरीले हजारौ नक्कली सर्टिफिकेटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको कानपुर नौवस्ती बस्ने २५ वर्षीय अभिषेक यादव छन् । उनका साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली कागजात र ती बनाउन प्रयोग हुने सामग्रीहरू बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा यादवलाई आइतबार साँझ सीमा क्षेत्र सिद्धार्थनगर–१, बेलहियाबाट यादवलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

यादवसँग त्रिभुवन विश्वविद्यालयका एक सय थान ट्रान्सक्रिप्ट र ३६ वटा खाली प्रमाणपत्रहरू फेला पारेको छ । यस्तै, विभिन्न शैक्षिक संस्थाका तीनवटा नक्कली र ५ वटा छापहरू, त्रिभुवन विश्वविद्यालयको ४ हजार ४० थान होलोग्राम, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान होलोग्राम, राष्ट्रिय परीक्षा बोर्डको १ हजार ७ सय थान नक्कली होलोग्राम र स्टिकरहरू प्रहरीले बरामद गरेको छ ।

यसैगरी, भारतको एमीटी विश्वविद्यालयका ८० वटा नक्कली मार्कसिट, ४० वटा प्रोभिजनल सर्टिफिकेट, ६० वटा क्यारेक्टर सर्टिफिकेट र ४९ वटा अन्य खाली प्रमाणपत्रहरू र ४० वटा खाली लोगो फेला परेको छ । भारतकै जवाहरलाल नेहरू टेक्निकल युनिभर्सिटि हैदराबाद, छत्रपति साहूजी महाराज युनिभर्सिटी, कानपूर, असम उच्च माध्यमिक शिक्षा परिषद्, कुरुक्षेत्र विश्वविद्यालय, आन्ध्र विश्वविद्यालय सहित अवैध कारोबारका लागि प्रयोग भइरहेका विभिन्न विश्वविद्यालय तथा कार्यालयहरूको नाम लेखिएका दर्जनौं नक्कली स्ट्याम्प र छापहरू, चारवटा पेनड्राइभ, एक थान एचपी कम्पनीको ल्यापटप, एक थान आईफोन, एक थान रियलमी मोबाइल, तीनवटा एटीएम कार्ड, भारु १८ हजार ५ सय रुपैयाँ र नेपाली ३ हजार २५ रुपैयाँ नगद बरामद गरेको छ ।

यस घटनाले नक्कली शैक्षिक प्रमाणपत्रको अवैध कारोबारको गम्भीरतालाई उजागर गरेको जिल्ला प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले बताए । उनले पक्राउ परेका यादव कसैको लागि काम गर्ने कामदार मात्र रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाए ।

यादव सहितको टिमले प्रायजसो विदेश अध्ययन र कामको प्रायोजनका लागि नक्कली प्रमाणपत्र बनाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । रुपन्देही जिल्लामा यति ठूलो परिमाणमा नक्कली प्रमाण पत्र फेला परेको यो पहिलो पटक हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्