नेभिगेशन
प्रदेश

अनधिकृत रोहिंग्या रोक्न सीमामा कडाइ

झापा । रोहिंग्या शरणार्थीको अवैध प्रवेश बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै झापामा काँकरभिट्टा नाकासहित भारतसँग जोडिएका सीमानाकामा सुरक्षा निकायले निगरानी कडा बनाएका छन् । गृह मन्त्रालयबाट जिल्ला प्रशासन र सुरक्षा निकायलाई जारी भएको निर्देशनपछि नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले कडाइका साथ चेकजाँच अगाडी बढाएका हुन् ।

भारतमा हाल सञ्चालनमा रहेको स्पेसल इन्टेन्सिभ रिभिजन (एसआइआर) कार्यक्रमका कारण अवैध रूपमा बसोबास गर्दै आएका रोहिंग्या समूहहरू नेपालतर्फ प्रवेश गर्नसक्ने अनुमान छ । बंगलादेश नजिक पर्ने तथा १४४ किलोमिटर खुला नाका भएको झापालाई उच्च जोखिम क्षेत्रका रूपमा लिइएको प्रशासनले जनाएको छ । सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले काँकरभिट्टासहितका नाकामा आवत–जावत गर्ने सबै व्यक्तिको परिचयपत्र, अनिवार्य रूपमा जाँच गर्न थालेका छन् । नाकामा कडाइ हुँदा सामान्य आवतजावतमा केही असहजता भए पनि सुरक्षाका लागि गरिएको कडाइ आवश्यक रहेको स्थानीय अनिल दर्जी बताउँछन् ।

‘अहिले पहिलेभन्दा धेरै जाँच हुन्छ तर यो आवश्यक छ,’ स्थानीय धुव्र श्रेष्ठ भन्छन्, ‘कसैले अवैध रूपमा छिरेर अपराध बढायो भने समस्या हामीलाई नै हुन्छ । त्यसैले पनि नाकामा चेकजाँच र कडाइ आवश्यक छ ।’

झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार नेपाल भारत खुला समिानाका कारण झापा भएर रोहिंग्या लगायत गैरनागरिक अवैध रूपमा नेपाल प्रवेश गर्न प्रयास गर्ने सम्भावना रहन्छ । त्यसलाई मध्यनजर गर्दै सिमानाका साथै गाउँ–गाउँका सम्भावित प्रवेश बिन्दुमा कडाइ गरिएको उनको भनाइ छ । ‘गौंडा–गौंडामा निगरानी बढाएका छौं । मुख्य नाकामा प्रत्येक यात्रुको परिचयपत्र जाचिरहेका छौं । सहरी क्षेत्रमा गतिविधि शंकास्पद देखिने व्यक्तिमाथि अनुगमन गरिरहेका छौं,’ खड्काले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्