नेभिगेशन
प्रदेश

प्रहरी नेतृत्वको छानबिन समिति मान्य नहुने

लालु यादव मृत्यु प्रकरण

सप्तरी, २ भदौ - गत साउन २० गते प्रहरीको गोली लागेर सप्तरीको राजगढ गाउँपालिका–२, कमलपुरका लालुप्रसाद यादवको मृत्यु भएको प्रकरणमा संघर्ष समितिले भदौ ५ गतेदेखि आन्दोलनको चेतावनी दिएका छन् । प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले प्रहरी बाहेकको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

अनुसन्धानका लागि गठन गरिएको एसएसपी स्तरको समिति मान्य नहुने भन्दै समितिले गृहमन्त्रालय वा मधेश प्रदेश मन्त्रालयको सहसचिवको नेतृत्वको मात्र सर्वपक्षीय छानबिन समिति बनाउनुपर्ने माग राखेको संघर्ष समितका संयोजक दिपेन्द्रप्रसाद यादवले बताए ।

अवैध मदिरा नियन्त्रण गर्न गएका प्रहरीले जानिजानी खुबलाल जगरनाथ शक्ति आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका लालु यादवलाई गोली हानेको स्थानीयको आरोप छ ।

सो घटनापछि उनका आफन्त संघर्ष समिति बनाएर आन्दोलनमा उत्रेपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि र संघर्ष समितिबीच सहमति भएको थियो । उक्त सहमतिअनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय भएपछि गठित प्रहरी संगठनकै एसएसपी स्तरको छानबिन समितिले निष्पक्ष छानबिन नगर्ने उनीहरूको आशंका छ ।

‘प्रहरीकै नेतृत्वमा समिति गठन गरिएको छ भने षड्यन्त्र मात्र हो, यस्तो समितिलाई न संघर्ष समिति, न राजगढवासी, न सप्तरीबासीले मान्यता दिनेछन्’ विज्ञप्तिमा उल्लेख छ । आन्दोलनबाट उत्पन्न हुनसक्ने क्षतिको जिम्मेवारी नेपाल सरकार र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई हुने चेतावनीसमेत दिइएको ज्ञापनपत्रमा दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्