नेभिगेशन
दृष्टिकोण

सन्तान, सम्पत्ति र सम्मानको आशक्ति

सन्तान, सम्पत्ति र सम्मानको आशक्ति नेपाली जीवनको एउटा कटु यथार्थ हो। तथापि, यी आशक्ति चरम सीमामा पुग्यो भने तिनले लोभ, मोह, ईर्ष्या, कलह, उपेक्षा र अन्ततः दुःख मात्र उत्पन्न गराउँछ । त्यसैले यो आशक्तिलाई व्यवस्थापन गर्न सिक्नुपर्छ । सुख र शान्ति स्थापित गर्नका लागि भौतिक दौडभन्दा आत्मिक सन्तुष्टि, संचयभन्दा त्याग र देखावटीपनभन्दा सदाचारलाई प्राथमिकता दिनुपर्छ ।

मानव जीवनका आधारभूत चाहना अनगिन्ती छन् । नेपाली इतिहासको विभिन्न कालखण्डको चर्चा गर्दा सन्तान, सम्पत्ति र सामाजिक सम्मान प्रायः हरेक व्यक्तिको आकांक्षाको केन्द्रमा रहेको देखिन्छ । यी तीन तत्त्वले मानव जीवनको उद्देश्य, प्रयास र गतिको निर्धारण गर्छन् । नेपालको सन्दर्भमा, जहाँ सामाजिक संरचना, पारिवारिक सम्बन्ध र धार्मिक मूल्यमान्यता गहिरा र बलिया हुन्छन्, यी तीन तत्त्वको आशक्तिलाई जीवनको अन्तिम सत्य, सफलताको मानक र सामाजिक स्वीकृतिको आधारकै रूपमा लिने गरिन्छ । यो आशक्ति केवल व्यक्तिगत चाहना मात्र नभएर पुस्तान्तरण हुँदै आएको सामाजिक, सांस्कृतिक, आर्थिक र कतिपय अवस्थामा राजनीतिक बाध्यताको प्रतिविम्ब पनि हो ।

नेपाली समाजमा सन्तान, विशेषगरी छोरा जन्माउनुलाई वंश धान्ने, पितृ ऋणबाट मुक्ति पाउने र बुढ्यौलीको सहारा मान्ने गहिरो परम्परागत धारणा विद्यमान छ । सन्तान मोह केवल जैविक निरन्तरताको चाहना मात्र होइन, यो सामाजिक सुरक्षाको एक अनौपचारिक नीति पनि हो । धर्मशास्त्र अनुसार छोराले गर्ने काजकिरियाबाट मात्र पितृहरूले मोक्ष प्राप्त गर्छन् भन्ने मान्यताले धेरै दम्पतीहरूलाई सन्तान, खासगरी छोरा जन्माउन पाए मुक्ति पाइन्छ भन्ने मानसिक दबाब रहेको पाइन्छ । ‘वंश नाश नहोस्’ भन्ने चिन्ताले गर्दा छोरी मात्र भएका परिवारमा छोराको चाहनामा प्रेरित भई बारम्बार सन्तान जन्माउने वा लिंग पहिचान गरी गर्भपतन गर्ने जस्तो अमानवीय कार्य गर्न पनि बाध्य तुल्याउँछ ।

नेपालमा वृद्धवृद्धाका लागि सरकारी सामाजिक सुरक्षा ज्यादै कम वा अपर्याप्त भएकाले सन्तान नै बुढ्यौलीको एकमात्र सहारा मानिन्छ । सन्तानले पाल्छन् भन्ने विश्वासले नै अभिभावकहरू आफ्नो सम्पूर्ण कमाइ सन्तानको पालनपोषण, शिक्षा र भविष्यका लागि खर्च गर्छन् । सन्तानको सफलतालाई आफ्नो सामाजिक प्रतिष्ठासँग जोडेर हेरिन्छ ।

आधुनिक जीवनशैलीसँगै शिक्षा र रोजगारीका लागि सन्तानहरू विदेशिने क्रम अभूतपूर्वरूपमा बढेको छ । यसले गर्दा सन्तानको आशक्ति राखेका अभिभावकहरू अन्तिम समयमा एक्लो, उपेक्षित र भावनात्मक रूपमा वञ्चित हुने अवस्था आएको छ । विदेशमा रहेका छोराछोरीले पठाएको पैसाले भौतिक सुख, राम्रो घर र गाडी त उपलब्ध गराउँछ तर शारीरिक उपस्थिति, साहारा र आत्मिक सन्तुष्टि दिन सक्दैन ।

यो अवस्था सन्तान मोहले जन्माएको सबैभन्दा ठूलो विपर्यास हो जहाँ जीवनभरको त्याग अन्ततः मौन र एकान्तमा परिणत हुन्छ । धेरै नेपाली बाबुआमाहरूले ‘सन्तानको आशक्ति छोडेको भए बरु गाउँमै आनन्दको जीवन बिताउँथ्यौं होला’ भन्ने पश्चात्ताप गरिरहेका भेटिन्छन् । यो मोहले गर्दा उत्पन्न हुने ‘सम्पत्ति कमाउनैपर्छ’ भन्ने दबाब पनि अप्रत्यक्षरूपमा जोडिएको छ किनकि सन्तानलाई विदेश पठाउने वा स्वदेशमा स्थापित गर्ने हरेक प्रयासमा ठूलो आर्थिक लगानी आवश्यक पर्छ । नेपाल जस्तो विकासोन्मुख देशमा सम्पत्ति, जग्गा, घर, सुन, नगद र शेयरलाई केवल आर्थिक सुरक्षाको माध्यम मात्र नभई शक्ति, प्रभाव, डर र सामाजिक हैसियतको प्राथमिक मापदण्ड मानिन्छ । सन्तानलाई राम्रो शिक्षा दिन, छोरीको विवाहमा दाइजो दिन वा बुढ्यौलीमा आत्मनिर्भर रहनका लागि सम्पत्तिको सञ्चय अनिवार्य मानिन्छ । यसरी सम्पत्तिको आशक्तिले व्यक्तिलाई जीवनभर अथक मेहनत गर्न, ऋण काढ्न र जोखिम मोल्न प्रेरित गर्छ ।

सम्पत्तिको आशक्तिले व्यक्तिलाई ‘अरूभन्दा माथि’ देखिने सामाजिक प्रतिस्पर्धामा धकेल्छ । ‘एक टुक्रा जग्गा’ वा ‘आफ्नै घर’ हुने चाहना नेपालीहरूको जीवनको सबैभन्दा ठूलो सपना हो । तर, यसको अर्को पाटो भनेको सामाजिक तुलना र देखासिकी पनि हो । कसैसँग ठूलो घर, महँगो गाडी वा आधुनिक सुविधा हुँदा आफूसँग पनि त्यस्तै हुनुपर्छ भन्ने भावनाले व्यक्तिलाई अनावश्यक तनाव, ऋणको बोझ र अन्तहीन दौडमा फसाउँछ । गाउँघरमा रोपनीभन्दा बढी मूल्यको खेतबारी बेचेर शहरमा दुई/तीन आनाको घडेरी किन्ने होडबाजी र शहरमा पनि छिमेकीको देखासिकी गरेर ऋणमा डुबी महँगो गाडी किन्ने प्रचलन यसै आशक्तिको परिणाम हो ।

सम्पत्तिको आशक्तिले परिवारभित्रको सम्बन्धमा गम्भीर दरार ल्याउँछ । पैतृक सम्पत्तिको बाँडफाँडमा भाइभाइ, दिदीबहिनीबीच हुने कलह, मुद्दामामिला र हातपात नेपाली समाजको साझा र हृदय–विदारक समस्या हो । सम्पत्तिको लोभले व्यक्तिलाई अनैतिक र गैरकानूनी काम गर्न समेत प्रेरित गर्छ, जसले सामाजिक सद्भाव र नैतिकतामा ह्रास ल्याउँछ । नेपालको राजनीतिमा सम्पत्तिको आशक्ति प्रत्यक्षरूपमा जोडिएको छ । धेरै व्यक्तिहरू राजनीतिलाई सेवाभन्दा पनि सम्पत्ति आर्जन गर्ने माध्यमका रूपमा लिन्छन् । राजनीतिक पद र शक्तिले अवैधरूपमा सम्पत्ति कमाउने अवसर दिन्छ भन्ने विश्वासले गर्दा भ्रष्टाचार मौलाएको छ । भूमाफिया, ठेकेदार र राजनीतिज्ञहरूको अपवित्र गठबन्धनले राष्ट्रको सम्पत्तिमाथि कब्जा जमाएको वर्तमान अवस्था सम्पत्तिको आशक्तिको सबैभन्दा घातक परिणाम हो । यसले विकास र सुशासनमा अवरोध सिर्जना गरेको छ । सम्पत्तिको अत्यधिक संचयले गर्दा व्यक्ति आफ्नो मानवीय सम्बन्धहरूबाट टाढिँदै गएर भौतिक वस्तुको घेराभित्र सीमित हुन्छ र अन्त्यमा सम्पत्तिले नै उसलाई नियन्त्रण गर्न थाल्छ ।

सन्तान र सम्पत्ति प्राप्त गरिसकेपछि, व्यक्तिले स्वाभाविक रूपमा खोज्ने तेस्रो र शक्तिशाली कुरा हो– सामाजिक सम्मान । यो आशक्ति मानिसको अहम्, सामाजिक पहिचान र आत्ममूल्यसँग गहिरो रूपमा जोडिएको हुन्छ । सम्मानको आशक्तिले व्यक्तिलाई ‘म यो समाजमा महत्त्वपूर्ण छु’ भन्ने अनुभूति प्रदान गर्छ ।

नेपालमा सम्मानको आशक्ति प्रायः पद –सरकारी, राजनीतिक, प्रशासनिक; प्रतिष्ठित उपाधि जस्तैः डाक्टर, इञ्जिनियर, प्रध्यापक, वकिल, नेता वा सामाजिक कार्यमा गरेको योगदानबाट प्राप्त हुने प्रतिष्ठासँग जोडिएको हुन्छ । मानिसहरू सामाजिक संस्था, क्लब, राजनीतिक पार्टी वा विभिन्न सामाजिक अभियानमा ठूलो लगानी गरेर सम्मान प्राप्त गर्न चाहन्छन् । यो सम्मानले व्यक्तिलाई समाजमा ‘केही विशेष’ भएको अनुभूति दिन्छ र उसको अहम्लाई सन्तुष्टि दिन्छ ।

तर, सम्मानको आशक्तिले कहिलेकाहीँ देखावटीपन, दम्भ र पाखण्डमा परिणत हुन्छ । धेरै खर्च गरेर भव्य भोज आयोजना गर्ने, महँगा दान दिने, वा अनावश्यकरूपमा शक्ति प्रदर्शन गर्ने कार्य सम्मान प्राप्त गर्ने नियतले गरिन्छ । यो वास्तविक सम्मान नभएर ‘कृतज्ञताको लेनदेन’ मात्र हो, जहाँ व्यक्तिले गरेको खर्च वा प्रदर्शनको बदलामा ‘वातावरण’ बाट प्रशंसा र स्वीकार्यताको अपेक्षा गर्छ । समाजसेवाको नाममा राजनीतिक स्वार्थ पूर्तिका लागि ठूला–ठूला कार्यक्रम आयोजना गर्ने, सार्वजनिक पदमा बस्दा आफ्नो अधिकारको दुरुपयोग गरी सम्मान र प्रभाव स्थापित गर्न खोज्ने प्रवृत्ति यसै आशक्तिको अर्को उपज हो । गाउँ वा टोलमा हुने विभिन्न भेला वा सभाहरूमा ‘पहिलो लहरको कुर्सी पाउन गरिने अनावश्यक दौडधुप पनि सम्मानको आशक्तिको सानो तर अर्थपूर्ण उदाहरण हो ।

वास्तविक आत्मसम्मान भित्री गुण, सदाचार, नैतिक मूल्य र आफ्नो काममाथिको विश्वासमा आधारित हुन्छ, जुन कसैले दिएर वा खोसेर जाने कुरा होइन । तर सम्मानको आशक्ति बाहिरी प्रदर्शन र सामाजिक स्वीकृतिमा आधारित हुन्छ । जब कुनै पनि व्यक्तिले बाहिरको सम्मान, ताली र प्रशंसालाई आफ्नो जीवनको केन्द्र बनाउँछ, तब ऊ अरूको राय र अनुमोदनको दास बन्न पुग्छ । सम्मान नपाउँदा ऊ दुःखी हुन्छ, जसले आत्मग्लानि, ईष्र्या र मानसिक तनाव बढाउँछ । यसरी सम्मानको आशक्तिले व्यक्तिलाई परनिर्भर र आत्मिकरूपमा कमजोर बनाइदिन्छ ।

सन्तान, सम्पत्ति र सम्मानको यो त्रिपक्षीय आशक्तिले नेपाली समाजमा गहिरो मनोवैज्ञानिक र सामाजिक परिणामहरू जन्माएको छ । दार्शनिकरूपमा, बौद्ध दर्शनले आशक्तिको चरम रूप तृष्णालाई नै दुःखको मूल कारण मानेको छ । यी तीनै कुराको आशक्तिले व्यक्तिलाई क्षणिक सुख दिन्छ, तर तिनको विनाश वा प्राप्तिको अभावले दीर्घकालीन दुःख दिन्छ । सन्तान विदेशिँदाको दुःख, सम्पत्ति गुमाउँदाको पीडा वा पद/सम्मान खोसिँदाको अपमानको भावना यसै आशक्तिका परिणाम हुन् ।

सामाजिकरूपमा, यी आशक्तिहरूले मानव सम्बन्धको व्यापारीकरण गरेका छन् । सन्तानलाई लगानी, सम्पत्तिलाई शक्ति र सम्मानलाई देखावटी मूल्य मान्ने प्रचलनले गर्दा शुद्ध प्रेम, निःस्वार्थ सेवा र मानवीय संवेदनाहरू कमजोर हुँदै गएका छन् । परिवारहरू ‘आर्थिक एकाइ’मा रूपान्तरित भएका छन् र सम्बन्धहरू ‘के दियो र के पायो’ भन्ने हिसाबकिताबमा आधारित हुन थालेका छन् । यसले समाजमा एक्लोपन, पारिवारिक विखण्डन र सामाजिक अविश्वास बढाएको छ ।

सन्तान, सम्पत्ति र सम्मानको आशक्ति नेपाली जीवनको एउटा कटु यथार्थ र अभिन्न पाटो हो । यी तीनै तत्त्वले व्यक्तिलाई जीवनमा अघि बढ्न, मेहनत गर्न र सामाजिक प्राणीका रूपमा स्थापित हुन सकारात्मक प्रेरणा पनि दिन्छन् । सन्तानको चाहनाले पारिवारिक माया र सम्बन्धलाई बलियो बनाउँछ; सम्पत्तिको चाहनाले आर्थिक सुरक्षा र आत्मनिर्भरता प्रदान गर्छ; र सम्मानको चाहनाले सामाजिक उत्तरदायित्व र सदाचार कायम राख्न उत्प्रेरित गर्छ ।

तथापि, जब यी चाहनाहरू आशक्तिको चरम सीमामा पुग्छन्, तब तिनले लोभ, मोह, ईष्र्या, कलह, उपेक्षा र अन्ततः दुःख मात्र दिन्छन् । नेपाली समाजले अब यो आशक्तिलाई व्यवस्थापन गर्न सिक्नुपर्छ । सन्तुलित जीवन त्यो हो जहाँ व्यक्ति सन्तान, सम्पत्ति र सम्मानलाई आवश्यकता र प्राकृतिक चाहनाका रूपमा स्वीकार गर्छ, तर तिनको मोह र आशक्तिको पासोमा फस्दैन । नेपाली समाजमा सुख र शान्ति स्थापित गर्नका लागि भौतिक दौडभन्दा आत्मिक सन्तुष्टि, सञ्चयभन्दा त्याग र देखावटीपनभन्दा सदाचारलाई प्राथमिकता दिनु आजको अनिवार्य आवश्यकता हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
स्वास्थ्य बीमामा किन लापरवाही

स्वास्थ्य बीमामा किन लापरवाही

अरनिको नेपालका गहना

अरनिको नेपालका गहना