नेभिगेशन
नेपाल

घटनाको मुख्य योजनाकार प्रभु साह भएको दाबी

गौर हत्याकाण्ड छानबिनको परमादेशले जसपा आन्दोलित

रौतहट, ३ भदौ  - गौर हत्याकाण्ड छानबिनका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै जनता समाजवादी पार्टी आन्दोलित भएको छ । १८ वर्ष अघिको उक्त घटना हुँदा जसपा मधेशी जनअधिकार फोरम थियो, त्यसका अध्यक्ष थिए अहिलेका जसपा अध्यक्ष उपेन्द्र यादव ।

छानबीन भए नेता यादवसहित जसपाका नेताहरू अनुसन्धानमा तानिने भन्दै पार्टीले देशका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ । सर्वोच्चको परमादेशको खबर सार्वजनिक भए लगत्तै सोमबार साँझ मधेशका विभिन्न ठाउँमा सामान्य कोणसभा गरेका जसपाका स्थानीय नेता–कार्यकर्ताले मंगलबार भने काठमाडौंसँगै मुलुकका विभिन्न जिल्लामा नाराबाजीसहित विरोध प्रदर्शन गरेका छन् ।

रौतहट सदरमुकाम गौरमा विरोध आयोजित विरोध प्रदर्शनमा सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै नगर प्ररिक्रमा गरेका छन् । उनीहरूले केन्द्र सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । सर्वोच्चको परमादेश सरकारको इसारामा आएको आरोप लगाए । 

गौरको बिपी चोकबाट सुरु भएको जुलुसले अदालत चोकमा पुगेर कोणसभामा गरेको थियो । त्यसमा जसपा नेताहरूले गौर हत्याकाण्ड उपेन्द्र यादवका कारण नभई माओवादीको हिंसात्मक गतिविधिको उपज भएको र त्यसको प्रमुख योजनाकार प्रभु साह रहेको दाबी गरे । जसपाका रौतहट जिल्ला अध्यक्ष राजीव रञ्जनले प्रभु साहको ग्राण्ड डिजाइनमा गौर हत्याकाण्ड भएको दाबी गरे । 

‘त्यो हत्याकाण्ड प्रभु साहको ग्राण्ड डिजाइनमा भएको हो । म यसमा सरकारलाई यसमा चुनौती दिन चाहन्छु,’ उनले भने, ‘त्यो बेला मधेशी जनअधिकार फोरमले स्थानीय प्रशासनसँग अनुमति लिएर हप्तौ अगाडि सूचना प्रकाशित गरिरहेको अवस्थामा प्रभु साहले जिल्लाका विभिन्न डाँकाहरू, कथित माओवादीहरूलाई प्रलोभन देखाएर रामजानकी धर्मशालामा बसाएका थिए । सुनियोजित ढंगले प्रभु साहले आफ्नो डकैतहरू बोलाएर, ड्रग्स खुवाई रौतहटका सोझासाझा जनतामाथि आक्रमण गर्न र भौतिक क्षति पुर्‍याउन आएका थिए ।’ जनताले तिनीहरूको अत्याचार सहन नसकेर प्रतिकार गर्दा त्यस्तो अप्रिय घटना भएको दाबी उनले गरे ।

पार्टीका केन्द्रीय सल्लाहकार सदस्य राजकुमार दासले गौर हत्याकाण्ड साँच्चिकै छानबिन गर्ने हो भने सुरुवात प्रभु साहबाट हुनुपर्ने जिकिर गरे । त्यो दिन साहका हठका कारण एकै स्थानमा कार्यक्रम भएको भन्दै उनले फरक ठाउँमा गरेको भए घटना नै नहुने बताए । 

‘घटनाको मुख्य दोषी साह र तत्कालिन रौतहटका प्रहरी प्रशासन प्रमुखहरू हुन्,’ उनले भने । भूमिसम्बन्धी अध्यादेशमा उपेन्द्र यादवले लिएको अडानको कारण उनलाई गलाउन सरकारले परमादेशको अस्त्र प्रयोग गरेको आरोप उनले लगाए । ‘पार्टीले यो षडयन्त्रको सशक्त प्रतिकार गर्छ, उत्पन्न परिणामको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले चेतावनी दिए ।

जसपाका केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले सरकारको इसारामा सर्वोच्चले परमादेश जारी गरेकाले जनआन्दोलनको बलमा प्रतिकार गरिने बताए । राजनीतिक मुद्दामा सर्वोच्चले खेलेर गलत गरेको भन्दै उनले न्याय दिनुपर्ने अदालतले अन्याय गरेको आरोप लगाए ।

२०६३ चैत ७ मा रौतहटको गौरस्थित राइस मिल चौरमा तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीबीच भएको झडपमा २७ जनाको ज्यान गएको थियो । त्रिभुवन साहले दायर गरेको रिटमा सर्वोच्चले सोमबार गौर हत्याकाण्डको छानबिनलाई अघि बढाउन रौतहट प्रहरीलाई परमादेश दिएको थियो ।

जसपाका नेता कार्यकर्ताले घटनाका मुख्य योजनाकार भन्दै आरोप लगाएका प्रभु साह अहिले माओवादी पार्टीमा छैनन् । उनले आफ्नै पार्टी खोलिसकेका छन् । उनी हाल आम जनता पार्टीका महासचिव हुन् । घटनामा आफ्ना कार्यकर्ता मारिए पनि पटक पटक सरकारको नेतृत्व गरेको माओवादीले आफू शक्तिमा रहँदा छानबिनको विषयलाई कहिल्यै उठाएन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्