नेभिगेशन
अर्थतन्त्र

सामान्य बढ्यो नेप्से

काठमाडौं । शेयरबजारमा सोमबार २६ सय विन्दुमाथि पुगेर रोकिएको छ । कारोबार मापक नेप्से परिसूचक ६.७४ अंक बढेर २६०१.६१ विन्दुमा पुगेको छ । लगानीकर्ताले २६ सय विन्दुलाई बलियो आधार रेखाका रूपमा मान्दै आएका छन् । रेखाचित्र विश्ले षणमा पनि १८ महिनादेखि नेप्सेले सो विन्दुलाई पटकपटक परीक्षण गर्दै माथि फर्किएको देखिन्छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये १५५ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर ९४ कम्पनीका शेयरधनीले गुमाएका छन भने १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बजार बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । कुल तीन अर्ब ४४ करोड १९ लाख तीन हजार रुपैयाँ बराबरको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर किनबेच भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि २.०१ अंक बटेर ४४७.५२ विन्दुमा कायम भएको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक ०.६२ अंक बढेर १७७.९० विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक ०.७८ अंक बढेर १५१.७५ विन्दुमा कायम भएको छ ।

सूचीकृत १३ मध्ये पाँच समूह घटेका छन् भने आठ समूह बढेका छन् । बैंकिङ ०.७२, विकास बैंक ०.३३, फाइनान्स ०.९०, जनविद्युत् ०.०६, जीवन बीमा ०.३०, उत्पादन तथा प्रशोधन ०.५७, निर्जीवन बीमा ०.०७ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन ०.११, लगानी ०.०८, म्युचुअल फण्ड ०.११ र अन्य समूह ०.१७ प्रतिशतले घटेको छ ।

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडका शेयरधनी छन् । यो कम्पनीको शेयरमूल्य ६.९५ प्रतिशतले घटेको छ ।

लगानीकर्ताको सम्पत्ति सोमबार मात्रै १२ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ६८ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि पाँच अर्ब रुपैयाँ बढेर १४ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

शेयरबजार र ब्याजदरबीच विपरीत सम्बन्ध हुन्छ । अर्थात बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदा शेयरबजार बढ्छ भने ब्याजदर बढाउँदा कम्पनीहरूको शेयरमूल्यमा दबाब पर्छ । बैंक तथा वित्तीय संस्थाले पुस महिनाका लागि ब्याजदर घटाएका छन् । तथ्यांकअनुसार मुद्दती निक्षेपको ब्याजदर घटेर ५ प्रतिशतभन्दा तल झरेको छ । यसले लगानीकर्तालाई बैंकमा ब्याजमा पैसा राख्नुभन्दा शेयरबजारमा लगानी गररे बढी नाफा कमाउन प्रेरित गर्छ ।

तर राजनीतिक अस्थिरता र लगानीको वातावरण बिग्रिँदै गएपछि लगानीकर्ताले शेयर किन्न सकिरहेका छैनन् । बजारमा कारोबार रकम पनि घट्दै गएको छ, जसले गर्दा बजार अझै केही समय सुस्त रहनसक्ने अनुमान विश्लेषकहरूको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्