नेभिगेशन
अर्थतन्त्र

सिँचाइका १४ अर्बका २२ ठेक्का तोडियाे

काठमाडौं । निर्माण कम्पनीले ठेक्का लिएर समयमा काम सम्पन्न नगरी अलपत्र पारेका सिँचाइका विभिन्न आयोजनाको २२ वटा ठेक्का तोडिएको छ । जलस्रोत तथा सिँचाइ विभाग मातहत निर्माण अगाडि बढाइएका तर, वर्षौंसम्म सम्पन्न हुन नसकी अलपत्र बनेका सिँचाइ आयोजनाको ठेकका तोडिएको हो ।

काम नगरी आयोजना अलपत्र बनाउने निर्माण कम्पनीहरूले ठेक्का रुग्ण हुनुको चित्त बुझ्दो कारण र प्रमाण दिन नसकेपछि तोडिएको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले जानकारी दिए । उनका अनुसार ठेक्का तोडिएका विभिन्न आयोजनाको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ छ ।

‘१५ दिने सूचना निकालेर ठेक्का तोड्ने प्रक्रियाको थालनी गरी निर्माण कम्पनीहरूसँग निर्माण अलपत्र हुनुको लिखित जवाफ सम्बन्धित आयोजनाबाट मागेका थियौं,’ उनले भने, ‘तर, चित्तबुझ्दो जवाफ नआएपछि रुग्ण अवस्थाका सबै ठेक्का तोडिएको छ ।’

बरालका अनुसार बबई सिँचाइ आयोजनाले ६ वटा ठेक्का तोडेको छ । ठेक्का सम्झौता गर्ने तर, काम पूरा नगरी रुग्ण बनाउने एउटै ठेकेदार कम्पनीसँग भएका ठेक्का तोडिएको उनले जानकारी दिए । यो सिँचाइ आयोजना निर्माण गर्न ६ वर्षअघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरियासँग ठेक्का सम्झौता गरिएको थियो ।

सिँचाइ आयोजना निर्माण सम्पन्न गर्न आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता गरेको थियो । यो कम्पनीले पाएको ६ वटा ठेक्कामध्ये ४ वटाको निर्माण प्रगति शून्य छ । एउटाको ३० प्रतिशत र अर्कोको ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ ठेक्का तोडिएको विभागले जानकारी दिएको छ । जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको हो ।

यस्तै, राष्ट्रिय गौरबको सुनकोशी– मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का पनि तोडिएको छ । यो आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृह निर्माण एवम् हाइड्रोमेकानिकल उपकरण आयात तथा जडानलगायतको कार्यका लागि पटेल– रमण जेभीसँग गरिएको ठेक्का सम्झौता औपचारिकरूपमा तोडिएको हो ।

पटेल–रमण जेभीले सुनकोशी–मरिन आयोजनाको बाँध र विद्युतगृहका संरचना निर्माणमा लक्ष्य अनुसार प्रगति गर्न नसकेपछि औपचारिकरूपमा ठेक्का तोडिएको हो । पटेल–रमण जेभीले ठेक्का सम्झौता भएको ६१ प्रतिशत समयावधि सकिँदा अहिलेसम्म बहुउद्देशिय आयोजनाको बाँध क्षेत्रका संरचनाको प्रगति १० प्रतिशत मात्रै छ । विद्युतगृहमा काम सुरु नै भएको छैन । आयोजनाले पटक–पटक ताकेता गरेर निर्माण तीव्र पार्न निर्देशन दिँदासमेत पटेल–रमण जेभीले अटेर गर्दै आएको थियो । यो आयोजनाको मुख्य ठेकेदार पटेल भए पनि आयोजना स्थलमा उसको उपस्थिति थिएन ।

आयोजना स्थलमा सहायक रमण कम्पनी मात्रै परिचालन भएको छ । सहायक ठेकेदार कम्पनीले नै कामको मुख्य जिम्मेवारी लिएपनि बाँध क्षेत्रको संरचना निर्माणमा उसको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको थियो । मुख्य ठेकेदार पटेल–रमण जेभीको कमजोर कार्यसम्पादनले सुनकोशी– मरिन डाइभर्सन बहुउद्देश्य आयोजनाको बाँध निर्माण अपलत्र बनेको छ । अहिलेकै गतिमा काम हुँदा आयोजना सम्पन्न हुन दशकौं लाग्ने देखिएपछि पटेल–रमण जेभीले आयोजनासँगको ठेक्का सम्झौता अन्त्य गरिएको बरालले बताए । यो बहुउद्देश्य आयोजना निर्माण गर्न गरिएको ठेक्का सम्झौता अन्त्य गरी पटेल–रमण जेभीले कार्यसम्पादन जमानत बापत राखेको दुई अर्ब ४० करोड र अग्रिम भुक्तानी बापतको एक अर्ब २० करोड रुपैयाँ गरी तीन अर्ब ६० करोड रुपैयाँ बैंक ग्यारेण्टी जफतको प्रक्रियासमेत अगाडि बढाएको छ ।

आयोजनाले बाँध र विद्युतगृहको संरचना निर्माण गर्न तथा हाइड्रोमेकानिकल उपकरण आयात एवम् जडान गर्न पटेल–रमण जेभीसँग करसहित १४ अर्ब आठ करोड रुपैयाँ ठेक्का सम्झौता गरिएको थियो । पटेल–रमणले अनुमानित लागतभन्दा करिब ३२ प्रतिशत कम रकम कबोल गरेपछि उसले ठेक्का पाएको थियो । ठेक्का सम्झौतापछि उसले २०७९ माघदेखि आयोजना स्थलमा काम सुरु गरेको थियो । पटेल–रमण जेभीले ठेक्का सम्झौतामा तोकिएको तालिका अनुसार २०८४ असारभित्र सुनकोशी मरिन आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । ठेकेदार कम्पनी आयोजना स्थलमा परिचालन भएको ३४ महिनासमय व्यथित भइसकेको छ । आयोजनाले अहिलेसम्म दुई अर्ब १४ करोड (करिब १५ प्रतिशत) रकम ठेकेदार कम्पनीलाई भुक्तानी गरिसकेको छ । ठेक्का सम्झौता भएको मितिले पाँचवटा वर्षायामभित्र बाँध र विद्युतगृहका संरचनाको निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, अहिलेसम्म बाँधको जग (फाउण्डेसन) पनि बनाइएको छैन ।

सिँचाइ तथा विद्युतउत्पादन गर्ने उद्देश्यले निर्माण सुरु गरिएको यो सिँचाइ आयोजनाको मुख्य सुरुङ निर्माणको काम पहिले नै सम्पन्न भइसकेको छ । आयोजनाको १३.३ किलोमिटर मुख्य सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरिएको थियो । सुरुङ खन्ने समयमा विविध समस्या आए पनि लक्ष्यभन्दा अगाबै सम्पन्न गरिएको थियो । आयोजनाको मुख्य सुरुङ २०८१ साल वैशाख २६ गते छेडिएको थियो ।

औपचारिकरूपमा ठेक्का तोडिएकाले अब अहिलेसम्मको निर्माणको अवस्थाको मुल्यांकन गरी नयाँ ठेक्का आह्वानको प्रक्रिया सुरु गरिने सिँचाइ विभागले जनाएको छ । विभागका अनुसार सबै प्रक्रिया पूरा गरेर नयाँ ठेक्का आह्वान गर्न २ महिना लाग्ने देखिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित कानढुङ्ग्रीमा आयोजनाको बाँध निर्माणाधीन छ । सुनकोशी नदीको पानी मरिन नदीमा पथान्तरण गर्ने गरी यो आयोजना निर्माण भइरहेको हो । सुनकोशी नदीमा ३० मिटर उचाइ तथा १५८ मिटर लम्बाइको बाँध निर्माण गरी १३.३ किलोमिटर सुरुङमार्फत जिल्लाको कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिन खोलामा सुनकोशीको पानी खसालेर पथान्तरण गरिनेछ । सुनकोशी नदीको पानी मरिन नदीमा खसालेर ३१ मेगावाट विद्युत उत्पादन गरी निकाश हुने पानी मरिन नदी हुँदै ४४ किलोमिटर तलको बागमती सिँचाइ आयोजनाको संरचनासम्म पुर्याइनेछ र सिँचाइका लागि वितरण गरिनेछ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजना निर्माण सम्पन्न गरी तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाको एक लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ । यो आयोजना सञ्चालनमा आउँदा यी जिल्लामा वर्षभरी नै सिँचाइ सुविधा पुर्‍याउन सकिनेछ । यो आयोजना निर्माण सम्पन्न गर्न ४९ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सिँचाइ विभागले बबई सिँचाइ आयोजनाको विभिन्न १२ वटा ठेक्का तोड्ने प्रक्रिया पनि अगाडि बढाइसकेको छ । अहिले सिँचाइ विभागअन्तर्गत विभिन्न आयोजनाका २१५ ठेक्का कार्यान्वयनमा छन् । कार्यान्वयनमा भएका मध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्