काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई देशको चासो छ । उनीहरू पनि मताधिकार उपयोग गर्न चाहन्छन् । काठमाडौंमा बिहीबार सार्वजनिक विदेशबाटै मतदान गर्न दिने विषयमा तयार सर्वेक्षण अध्ययन प्रतिवेदनले यस्तो देखाएको छ । अन्तर्राष्ट्रिय आप्रवासी दिवसको सन्दर्भ पारेर श्रमिक सञ्जाल र सामाजिक न्यायका लागि कानून तथा नीति मञ्च (लाप्सोज)को संयुक्त आयोजनामा प्रतिवेदन सार्वजनिक गरिएको हो ।
‘परसेप्सन अफ नेपाली माइग्रेन्ट वर्कर आउट अफ कन्ट्री भोटिङ’ शीर्षकको उक्त अध्ययन प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरू नेपालमा हुने निर्वाचनप्रति गम्भीर चासो राख्ने र मतदान प्रक्रियामा सहभागी हुन उच्च इच्छा व्यक्त गरिरहेको तथ्य उजागर गरेको छ । प्रतिवेदनअनुसार अधिकांश श्रमिकले विद्युतीय मतदान प्रणाली तथा दूतावासमार्फत प्रत्यक्ष मतदान गर्न पाउने व्यवस्थाप्रति आकांक्षा देखाएका छन् ।
लाप्सोजले वैदेशिक रोजगारीका क्रममा कतार, साउदी अरब, ओमान, बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा कार्यरत ६ हजार ४ सय ८५ जना नेपाली श्रमिकसँग सर्वेक्षण गरेको हो । विप्रेषणमार्फत नेपाली अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेका आप्रवासी श्रमिकहरू आफ्नै संवैधानिक अधिकार मतदानबाट वञ्चित रहनुपरेको अवस्थालाई कसरी अनुभूति गरिरहेका छन् भन्ने विषय अध्ययनको केन्द्रमा रहेको आयोजकले बताए ।
प्रतिवेदन सार्वजनिक कार्यक्रममा वक्ताहरूले विदेशबाट मतदानको विषय लामो समयदेखि बहसमा रहे पनि सरकार कार्यान्वयनमा गम्भीर नदेखिएकोप्रति चिन्ता व्यक्त गरे । आगामी फागुन २१ गते निर्वाचन मिति तय भइसकेको अवस्था र सर्वोच्च अदालतले २०७५ सालमै विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सरकारलाई दिएको आदेश अझै कार्यान्वयन हुन नसक्नु गम्भीर विषय भएको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मताधिकार आप्रवासी नेपालीको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने निकायका रूपमा आयोगले विदेशबाट मतदानको अधिकारलाई सधैं समर्थन गर्ने बताए ।
श्रम आप्रवासन विज्ञ डा. मीना पौडेलले बाध्यताले विदेशिएका नेपालीलाई मतदानको अधिकारबाट वञ्चित गर्नु अन्यायपूर्ण भएको बताइन् । ‘देशलाई निरन्तर योगदान दिइरहेका श्रमिकले चुनावमा मत हाल्न पाउनुपर्छ,’ उनले भनिन् ।
लाप्सोजका वरुण घिमिरेले विदेशबाट मतदान गर्ने अधिकार संवैधानिक मात्र नभई अन्तर्राष्ट्रिय मानव अधिकारसँग समेत जोडिएको विषय भएको बताए । ‘४०–५० लाख नेपालीलाई बाहिर राखेर हुने निर्वाचनको वैधता कति रहन्छ ?’ उनले प्रश्न गरे ।
लाप्सोजकै अनुराग देवकोटाले आप्रवासी श्रमिकको मुद्दाका रूपमा अदालत पुगेको विषय पछि बालिग नेपाली मतदाताको अधिकारको व्यापक सवाल बनेको बताए । ठूलो जनसंख्या देशबाहिर रहेको अवस्थामा उनीहरूलाई मतदानबाट वञ्चित राख्नु लोकतन्त्रको मूल मर्म विपरीत भएको उनको तर्क थियो ।
कार्यक्रमकै अवसरमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका साहित्यिक सिर्जना समेटिएको पुस्तक ‘पुरानो पन्ना’ पनि विमोचन गरिएको थियो । पुस्तकमा १०८ वटा कविता, गजल र मुक्तक छन् । श्रमिक सञ्जालका भीम श्रेष्ठले विदेशमा रहेका नेपालीका लागि मताधिकार र अभिव्यक्ति दुवै अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै राजनीतिक संक्रमणको समयमा यो विषय झनै संवेदनशील बनेको बताए ।