नेभिगेशन
खेलकुद

फुटबलरको गोली हानी हत्या

इक्वेडरका प्रख्यात फुटबलर मारियो पिनिडालाई बुधबार ग्वायाकिलमा गोली हानी हत्या गरिएको छ । बढ्दो आपराधिक हिंसाले ग्रस्त ग्वायाकिलमा लागुऔषध तस्करीको गतिविधि यहाँ निकै तीव्र हुने गरेको छ ।

इक्वेडरका थुप्रै फुटबल खेलाडीहरू तस्कर आक्रमणको निशानामा परेका छन् । ३३ वर्षीया पिनिडा सन् २०१८ र २०२२ को विश्वकप छनोट चरणमा इक्वेडरको राष्ट्रिय टोलीमा समावेश थिए । सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपको अन्तिम चरणका लागि भने उनी छनोट हुन सकेका थिएनन् । उनले सन् २०२२ मा ब्राजिलको क्लब फ्लुमिनेन्सका लागि पनि व्यावसायिक फुटबल खेलेका थिए ।

उनको क्लब बार्सिलोना एससीले भनेको छ, ‘हाम्रा खेलाडी मारियो पिनिडाको निधन भएको जानकारी गराउनु परेको छ । उनीमाथि भएको आक्रमणपछि उनको तत्काल ज्यान गएको थियो ।’ क्लबले फुटबलरको हत्याको न्यायका लागि माग पनि गरेको छ । घटनाको गम्भीरता हेर्दै विशेष प्रहरी एकाइ परिचालन गरी अनुसन्धान सुरु गरिएको छ । अपराधी पहिचान र पक्राउका लागि सुरक्षा निकाय सक्रिय रूपमा खटिएको मन्त्रालयले जनाएको छ ।

मोटरसाइकलमा सवार दुई जना व्यक्तिले पिनिडामाथि आक्रमण गरेका थिए । ती आक्रमणकारीहरूले उनी, उनकी आमा तथा अर्की एक महिलामाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यो आक्रमण किन भयो भन्नेबारे पनि प्रहरी मौन छ ।

यसअघि पनि सेप्टेम्बर महिनामा इक्वेडरको दोस्रो डिभिजनका तीन जना फुटबल खेलाडीको हत्या भएको थियो । हत्या हुनुको मूल कारण खेलकुद सट्टेबाजीसँग जोडिएको बताइएको थियो । त्यसको एक महिनापछि स्थानीय फुटबल खेलाडी ब्रायन एङ्गुला पनि गोली हानाहानमा घाइते भएका थिए ।

कुनै समय ल्याटिन अमेरिकाकै सुरक्षित मुलुकमध्ये एक मानिने इक्वेडर पछिल्ला वर्षमा गम्भीर सुरक्षा सङ्कटमा फसेको छ । कोलम्बिया र पेरुजस्ता प्रमुख कोकिन उत्पादक राष्ट्रहरू र विश्वका उपभोक्ता बजारबीचको मुख्य ट्रान्जिट हब बनेपछि देशमा लागुऔषध तस्करीसँग सम्बन्धित गिरोहहरूको प्रभाव बढेको छ ।

विशेषगरी ग्वायाकिलमा कार बम विस्फोट, गोलीबारी र फिरौतीका घटना तीव्र रूपमा बढिरहेका छन् । आधिकारिक तथ्याङ्कअनुसार जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा मात्र ग्वायाकिलमा करिब एक हजार ९०० हत्याका घटना दर्ता भएका छन् । यो इक्वेडरका अन्य शहरहरूमध्ये सबैभन्दा बढी हो । यस्ता घटनाले देशको खेलकुद, सामाजिक सुरक्षा र समग्र स्थायित्वप्रति गम्भीर प्रश्न खडा गर्ने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद