नेभिगेशन
दृष्टिकोण

स्वप्नद्रष्टा रमेश विकल

पञ्चायतको दबदबा भएको त्यो कालखण्डमा सरकारी वृत्ति खाएर लेखियो आवाजविहीन माझीहरूको विद्रोहको कथा । विकलले प्रकाशनार्थ बुझाउँदा निक्कै समय छापिएन । धेरै पछि कविवर माधवप्रसाद घिमिरेले जोखिम मोलेपछि मात्र २०३९ सालमा पाठकको हातमा पुग्न सफल भयो, ‘अविरल बग्दछ इन्द्रावती’

मभन्दा ४६ वर्ष जेठा पितामह – रमेश विकल ।

घरमा प्रायः देखभेट हुन छुट्टिको दिन कुर्नु पथ्र्यो। शनिबारको बहु प्रतीक्षा रहन्थ्यो हामीलाई । किनकि, लेखनमा मात्र हैन, व्यवहारमा पनि उत्तिकै मीठो, स्नेही अनि उत्प्रेरक व्यक्तित्व थियो वहाँको।

औसतभन्दा थोरै होचो कद, सफारी सुटको आकर्षक पहिरनमा सजिएर हिँड्ने छवि स्मरणमा ताजा छ।

साहित्यमा त वहाँको उचाइ छँदै छ, सामाजिक – शैक्षिक जागरणमा पनि उत्तिकै अग्रसर हुनुहुन्थ्यो । विकल, शारदा विक्रम बस्नेतहरूकै कोठे कक्षाबाट सुरु भएको शिक्षादान २००७ सालमा अरुणोदय प्राथमिक तहको रूपमा विकसित भयो, काठमाडौँ सहरको उत्तरपूर्वी काँठ क्षेत्रमा चेतनाको झिल्को बनेर।

पछि मा.वि. स्तरमा पुर्‍याउँदा पर्याप्त सरकारी शिक्षकको कोटा प्राप्त भएन। बिहानी सत्रको कक्षामा थुप्रै स्थानीयको स्वयंसेवी भूमिका रह्यो। म पनि त्यही स्कूलको विद्यार्थी। विकल बा छल्ने वा ठग्न खोज्ने केटाकेटीका लागि निक्कै कडा शिक्षक । त्यति बेला भर्खर भर्खर नेपालमा बिक्री हुन थालेको पेय पदार्थ कोकाकोलाको सिसी अग्लो हुन्थ्यो भने फ्याण्टाको होचो । ठूला कक्षाका दाइहरू विकललाई ‘फ्याण्टे बा’ भनेर पछाडि पछाडि मुर्मुर्रिन्थे । कारण वहाँको शारीरिक कद थियो – त्यही बोतल जस्तै होचो । वहाँको व्यक्तित्व र साहित्यिक कद बुझ्ने क्षमता होस् पनि कसरी स्कूले बेलामा ।

पाठ्यपुस्तक र कक्षामा त्यत्ति साह्रो रुचि नभएको म, वहाँले ल्याउने बालक पत्रिका (बालबालिकालाई पढाइप्रति उत्प्रेरित गर्ने उद्देश्यले नेपाल बाल सङ्गठनबाट छापिन्थ्यो), विश्वका लोककथा, शान्त दास मानन्धरको बाल कोसेली, कोपिला आदि च्यापेर पढेको भान गर्दै पाठ्य पुस्तक छल्ने यत्न गर्दथेँ। बाल साहित्यका लेखकलाई मेरो मनोविज्ञान बुझ्न के कठिनाइ पथ्र्यो र ! हाम्रो यस्ता कमजोरीलाई होच्याउने वा हप्काउने गर्नु हुँदैनथ्यो। पढ्न प्रोत्साहित गर्नु हुन्थ्यो, अनि कथा, कविता, जीवनी आफैले पढेर सुनाउनु हुन्थ्यो। अन्तरक्रिया गर्नु हुन्थ्यो।

म विकलको तेस्रो पुस्तामा ज्येष्ठ सन्तान त थिइनँ तर प्रिय पौत्र थिएँ। त्यसैले सानातिना गल्तीमा दाइदिदीले भन्दा छूट पाउनु स्वाभाविक थियो। वहाँलाई मैले सताउने मद्येको एउटा समस्या, पेडा चोरी थियो। वहाँ पनि कमजोरीरहित हुनुहुन्नथ्यो। हुक्का तमाखुको सेवन र सुत्ने बेलामा एउटा भए पनि पेडा नखाई निद्रा नआउने हुन्थ्यो ।

हाम्रो घर थियो, काठमाडौँ शहरबाट उत्तर पूर्वी काँठको गाउँ आरुबारीमा । सानो सहर भेट्न बौद्ध वा चाबेल पुग्नु पथ्र्यो । हजुरबुवाको सुस्वादु पेडा भेट्टाउन त अझै नयाँ सडक, भोटाहिटी नै धाउनु पर्ने । त्यसैले बाटो पर्दा दैनिक ल्याएर ब्यागमा, कोटको खल्तीमा, तकियामुनि वा पुस्तक राख्ने दराजको अन्तर कुन्तरतिर जतन गरेर राख्नु हुन्थ्यो। छुट्टीको बेला भने पुग्ने गरी बढाएर ल्याउनु हुन्थ्यो।

प्यारो हुनुको सम्बन्धलाई दुरुपयोग गर्दै खुसुखुसु झिक्दै खान्थेँ म । कुनै बेला त राखेको ठाउँमा आधा टुक्रोभन्दा बाँकी हुँदैनथ्यो । त्यस्तो बेलामा पनि क्रोध आउँदैनथ्यो पितामहलाई। तर पाठ पढाउने तरिका मौलिक थियो। मेरो बिगो पनि पेडामा मात्र सीमित थिएन । घ्यू, नौनी, कुराउनी लगायत खाने कुरोमा मन थाम्न गाह्रो थियो मेरो बालापन ।

मकै छोडाउँदा हजुरआमा वा फुपू, दिदीहरूले कथा सुनाउनु हुन्थ्यो । छरछिमेक समेत जम्मा भएर धुरी जत्रो थुप्रोबाट मकै सर्‍याउँदै, नंग्याउँदै वा छोडाउँदै लोककथा, परिकथा सुन्न ख्याल रमाइलो हुन्नथ्या े। एक दिन हजुरबाले भन्नुभयो, ‘आज म कथा सुनाउँछु। जा, साथीहरूलाई पनि बोलाएर लेरा ।’

एक त गाउँको गन्यमान्य मान्छे, तेस्माथि पनि केटाकेटीका प्रिय हुनुहुन्थ्यो। साथीहरू थुप्रै जम्मा भए हजुरबाको निम्तोको सन्देश पाएर। कथा सुरु भयो। ‘एकादेशमा एउटा केटा रहेछ... तिमीहरूजस्तै... तिमीहरू जत्रै ।...’ त्यो केटोको नाम पनि मेरै रहेछ, ‘आलोक’ । आफ्नो नाम सुनेपछि मनमा नायकको भाव पलाएर मन गजक्क नपर्ने कुरै भएन । हामीले यदाकदा हेर्न पाउने सिनेमा हलको पर्दामा नायक नै त आउँदथे सुरुमै ।

सुन्दै जाँदा त्यो केटो त ठ्याक्र्याक्कै मै जस्तो पेडा चोरेर, नौनी–कुराउनी चोरेर आमाहरूलाई दिक्क पार्दो रहेछ । कथा रफ्तारमा अघि बढ्दै थियो । साथीहरू मतिर हेर्दै व्यंग्यात्मक हाँसो छोड्न थालिसकेका थिए । मेरो अनुहारमा कालोनीलो बादल निचोरिएर आँखाबाट वर्षेला जस्तो भइसकेको थियो। कथाको क्लाइमेक्समा मुखभरि कुराउनीको कुँडेबाट कालो पोतिएर त्यो पात्र समातिन्छ । अघिसम्म नायकत्वले फुलेको मन लल्याकलुलुक पारेर म कठघरामा दोषी फेला पार्छु आफैंलाई । त्यस दिनदेखि चटक्कै छोडेँ पेडा र नौनी चोर्ने कुलत । अहिले सम्झिदा, क्या गज्जबका समाज सुधारक हजुरबा जस्तो लाग्छ । अक्षर र कथाबाट बदमास बन्न अग्रसर मलाई सुधारको मीठो झापड हान्नुभयो ।

सम्झिँदै जाँदा वहाँको बाँसुरीको कथा सम्झन्छु। साहित्यिक गोष्ठीमा औँला समाएर साथै लिएर जानु भएको सम्झन्छु। चित्र बनाउँदै गर्दाका रेखा सँगै कुदेका औँलाहरू सम्झन्छु। रङ्गका मिठास सम्झन्छु। हार्मोनियम, तबला बजाएर राम मन्दिरको भजन कीर्तनमा सिद्धहस्त गायकहरूसँग सत्सङ्ग गर्नुभएको सुखद पल सम्झिन्छु। उपहारमा रङ्गीन चित्र कथाका पुस्तकहरू पाएको सम्झन्छु। शनिबार पशुपति जाँदा पछिपछि लागेर साइकलमा चढेको सम्झिन्छु। साइकल चलाउन जिद्दी गर्दा उत्साहित बनाउँदै चलाउन दिनुभएको सम्झिन्छु। अनि घर पुग्ने बेलामा अग्लो कान्लाको आलीबाट साइकल तलतिर खसाल्दा वहाँले बल्लतल्ल डिलमा उकालेको सम्झिन्छु। यसरी सम्झिँदै जाँदा सम्झनाका तरेलीमा किस्सा अनेक सम्झन्छु।

‘स्रष्टा या त आफ्ना रचनाहरूमा बाँच्छ या त सन्ततिको रगतमा,’ भाइ निर्मल अर्याल (भैरव अर्यालका भतिजा) को पुस्तक विमोचन कार्यक्रममा व्यक्त गरिएको विकलको उद्गार हो यो । विकलको हकमा वहाँ दुवै अर्थमा बाँचिरहनु भएको छ । ६ दशकभन्दा लामो साहित्य साधनामार्फत जन्मिएका अजर कृतिहरूमा अविछिन्न बाँचिरहनु भएको छ ।

रक्त वंशमा शब्द वंश समेटेर चिरायु बनाउने कर्ममा परिवारका सदस्य सबैको हैँसेमा होस्टे निरन्तर छ । यसै वर्ष कीर्तिशेष हुनुभएका विकलका ज्येष्ठ सुपुत्र पत्रकार एवम् स्वनाम धन्य साहित्यकार विजय चालिसेको योगदान विशेष उल्लेख्य छ । अहिले विकलको तेस्रो पुस्ताको यो पंक्तिकारसमेत त्यही यात्राको डोबमा डोरिँदै विकल प्रतिष्ठान र विकल संग्रहालयको चिरायु यात्रामा समाहित भएर अविरल बगिरहेको छ ।

पुर्ख्याैली थलो आरुबारी, गोकर्णेश्वर नगर पालिका ९ मा रमेश विकल साहित्य प्रतिष्ठानको भव्य भवन ठडिएको छ । विकल जीवित हुँदै २०६३ सालमा यसको स्थापना गरिएको थियो । प्रतिष्ठान भवन र विकल संग्रहालयको परिकल्पना विकल स्वयंले, साहित्य सङ्गीत र कलामा अद्वितीय भारतका नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरबाट प्रभावित भएर गरेका कुरा वहाँको पुराना लेखको अन्त्यमा ‘कला कुटी’ लेखेको प्रसङ्ग जोड्दै वहाँकै घनिष्ठ मित्र रोचक घिमिरे बताउनु हुन्छ । घिमिरे २०१८ साल (साहित्यिक पत्रिका ‘रचना’ प्रकाशित) गर्नु अगाडिदेखि नै घनिष्ठ हुनुहुन्छ ।

हाल सञ्चालनमा रहेको उक्त संग्रहालय विकलले जीवनकालमा भोग चलन गरेका घरसहित पाँच आना जग्गाको स्वामित्व प्रतिष्ठानमा हस्तान्तरण गरेर साहित्यिक उन्नयनमा ठूलो योगदान पुर्‍याउनु भयो । त्यो जमिन पुस्त्यौली भए पनि घर वहाँको आर्जन थियो । निजामती परीक्षा उत्तीर्ण भएपछि २००६ सालमा काठमाडौँ भन्सारमा नौसिन्दा भई आफ्नो जागिरे जीवन सुरु गर्नु भएका विकलले विनायक मिडिल स्कूल चाबहिलमा शिक्षण कार्यसमेत गर्नुभयो । २०१८ सालमा प्रचार विभागको नासु (सहायक सम्पादक) हुनुभयो । २०२१–२०३३ साल सम्म शिक्षा सामग्री लेखक केन्द्र (हालको जनक शिक्षा सामग्री केन्द्र) मा शाखा अधिकृत भई काम गर्नुभयो । त्यसपछि २०३५ सालसम्म शिक्षा मन्त्रालयको परीक्षा शाखामा शाखा अधिकृत, २०४५ सालसम्म प्राथमिक शिक्षा परियोजनाको प्राथमिक सामग्री एकाईमा सम्पादक रहनु भयो । २०४६ देखि २०५१ सालसम्म त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा करार सेवामा उपप्राध्यापक पदमा रही विदेशी विद्यार्थीहरूलाई पढाउनु भयो । २०५१ देखि २०५६ सालसम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको प्रज्ञा सदस्य भएर गद्य विभाग सम्हाल्नु भयो । यसरी दीर्घ सेवाबाट आर्जित थियो त्यो प्रतिष्ठान । हाल स्थानीय सरकार, केन्द्रीय सरकार र समुदायको साथ–सहयोगमा अगाडि बढिरहेको छ ।

विकलको योगदानलाई स्मरण गर्दै यस प्रतिष्ठानले बर्सेनि स्रष्टाहरूलाई विभिन्न विधामा पुरस्कृत गर्दै आएको । साहित्यिक, विद्यालय, विश्व विद्यालयका पाठक, अध्येता, शोधार्थीहरूलाई अध्ययन सामग्री उपलब्ध गर्ने तथा विकलका अप्राप्य पुस्तकको पुनः प्रकाशन, प्रवर्द्धन तथा संरक्षण गर्दै आएको छ ।

वहाँको कामकाजी कुरोको प्रसङ्ग आउँदा, उतार चढाव त देखिन्छ नै। सरकारी सेवाको अधिकृत स्तरको जागिर पनि चटक्कै छोड्नु भएछ झन्डै पेन्सन पाक्ने बेलामा। कारण पञ्चायतको चाकरीमा दत्तचित्त सत्ताबाट लामो समय एउटै पदमा जाकेछ। मन्त्रीसङै कारण सोध्दा भुईँ मान्छेको पक्षपोषणमा चल्ने वहाँको प्रगतिशील कलम दोषी रहेछ। मन्त्रीले कलम छोड्नासाथ प्रमोसन बढ्ने लालसा तेस्र्याएछन्। विकलको जवाफ थियो रे, ‘सत्ता छुटेपछि तपाईँका सहृदयी कति होलान् ? मेरो त पाठकको विशाल पंत्ति बाकि रहन्छ। तसर्थ जागिर छोड्छु, कलम छोड्न सक्तिनँ ।’

काठमाडौँ उत्तर पूर्वी भेगको जन प्रज्ञा प्रतिष्ठान भनिने ‘साहित्य सदन नेपाल’को परिकल्पनामा पनि विकल अग्र भागमा हुनुहुन्थ्यो । जीवन कालमा विकलले बृहत् सभाकक्ष मात्र देख्न पाउनु भयो । यसै वर्ष वहाँको परिकल्पनाले साकार रूप लिएको छ । ४ तलाको नयाँ भवनमा आधुनिक प्रेक्षालयहरूका साथै मोफसलबाट राजधानी आउने लेखक – सर्जकको आवास सुविधाका लागि ३ वटा कक्ष सञ्चालनमा आइसकेको छ । विकलको सकृयतामा, जन्मस्थान आरुबारीमा समाजसेवाकै लागि साहित्य, संस्कृति, स्वास्थ्य, कृषिको चारपाते लोगोमा सुरु भएको संस्था २०२७ सालमा ग्राम निर्माण बन्धु मण्डल क्लबको नाममा दर्ता भयो । २०३९ सम्म आइपुग्दा यो संस्थाले विकलकै लेखन निर्देशनमा नाटक मञ्चन गथ्र्यो । काठमाडौँ चौखुटबाट कवि लेखकलाई समेटेर गोष्ठी गथ्र्यो । केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठहरूको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको साक्षी म आफैं पनि थिएँ । त्यसको ४–५ वर्षपछि सक्रियता हराउँदै गयो । २०६० को दशक पछि फेरि विकलकै संयोजनमा सक्रिय भयो। त्यो नेतृत्व विकासको अवधारणाले उक्त क्लबको नेतृत्व सम्हाल्ने सन्तोष चालिसे, दीपक कुमार रिसाल, नगर प्रमुख / प्रतिनिधि सभाको सदस्य हुनुभयो। त्यस्तै श्रीमान् मनोज कुमार शर्मा, सर्वोच्च अदालतको न्यायाधीश जस्तो उच्च पदमा काम गरिरहनु भएको छ। विजय चालिसे गोरखापत्र सस्थानको प्रधान सम्पादक तथा कार्यकारी अध्यक्ष हुनुभयो । अरु थुप्रै नामहरू जोडिन आउँछन्, यस पंक्तिमा । भावनात्मक लगाव र परिवारको मन मस्तिष्कमा त सधैँ आत्मिय रहने नै हुनुभयो । विकल नेपाली साहित्य जगतमा युगिन सिर्जना मार्फत स्रष्टा र पाठकको मनमा पनि अमर हुनुहुन्छ । २०१८ सालमा नयाँ सडकको गीत कथा संग्रहले पाण्डुलिपि अवस्थामै प्राप्त गरको े मदन पुरस्कार, चार दर्जन आधा भन्दा बढी पुस्तकाकार कृति, अंग्रेजी भाषामा अनूदित भएर विश्व साहित्यमा फैलिएका पुस्तकहरू, पाठ्यक्रममा समाविष्ट रचनाहरू... अनगिन्ती कुराले पछ्याइरहेका छन् वहाँका यश र कीर्तिलाई ।

रंगमञ्च निर्देशक बद्री अधिकारीले जीवन्त टेलिफिल्मका रूपमा अविरल बग्दछ इन्द्रावतीलाई देश भरि पुर्‍याएपछि शब्द पढ्न नजान्ने वर्गमा समेत अत्यधिक लोकप्रिय बन्न पुग्यो सिमान्तकृत माझीहरूको उत्पीडनको कथा । यहाँनेर एउटा प्रसङ्ग जोड्नु सान्दर्भिक हुने छ । ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यास लेख्न तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले विद्वतवृत्ति प्रदान गरेकाले दैनिक कामकाज र कमाइ छोडेर विकललाई वहाँको ससुराली गाउँ नजिकको देउपुर, इन्द्रावतीको किनार अनि मण्डनमा निष्फिक्री समय बिताउने अवसर दिलायो । यसरी जन्मियो त्यो कालजयी उपन्यास ।

पञ्चायतको दबदबा भएको त्यो काल खण्डमा सरकारी वृत्ति खाएर लेखियो आवाज विहीन माझीहरूको विद्रोहको कथा । विकलले प्रकाशनार्थ बुझाउनु भयो। निक्कै समय छापिएन छ। धेरै पछि कविवर माधव प्रसाद घिमिरेले जोखिम मोलेर राज्य व्यवस्थालाई बुझाएपछि वि. सं. २०३९ मा पाठकको हातमा पुगेको प्रसङ्ग हजुरबुवा र वहाँका सहृदयी साहित्यिक मित्रहरूबाट थुप्रै पटक सुनेको छु।

२०३९ सालको मदन पुरस्कारको लहरमा यो उपन्यासको चर्चा अन्त्यसम्मै चल्यो। शायद विकलले २०१८ मा नै प्रथम पटक उक्त पुरस्कार पाइसक्नु भएको र स्थापनाको चौथो पटक २०३८ सालमा (अघिल्लो वर्ष मात्र) महेन्द्र प्रज्ञा पुरस्कार प्राप्त गर्नु भएको कारण पनि हुन सक्छ, विजेता हुनबाट पन्छियो यो कृति । साहित्यकार र समालोचकहरूको विचार सन्दर्भलाई जोडेर हेर्दा विकलको बहुआयामिक व्यक्तित्व अझै उजागर हुन्छ।

रचना कर्म २००५ – ०६ बाट नै सुरु गर्नुभएको विकललाई नवीन प्रयोग धर्मिताको लेखनले पाठकको हृदयमा अमिट छाप छोड्न मद्दत पुर्‍यायो । मधुमेह, उच्च रक्तचाप लगायत रोगबाट लामो समय औषधी सेवन गरिरहेका विकलको निधन २०६५ साल पुस २ गते भएको थियो ।

लेखक रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीका सचिव हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण