नेभिगेशन
खेलकुद

कर्णालीमा राष्ट्रिय अपांग खेलकुद

कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपांग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउण्डेसन शाखा कार्यालयले आगामी माघ ९ देखि १४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो ।

वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउण्डेसनका अध्यक्ष किशोर शाहीले अपांगता भएका व्यक्तिले पनि अवसर पाए सबलांगजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र मुलुकलाई विश्वसामु चिनाउन हैसियत राख्छन् भन्ने बुझाउन तथा उनीहरूलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

अध्यक्ष शाहीले ‘करिब एक हप्ताको अवधिमा हामी महिला र पुरुष बास्केटबल प्रतियोगिता गर्नेछौं । यसमा सातै प्रदेश र विभागीय टोलीको सहभागिता हुनेछ । त्यस्तै ह्वीलचियर क्रिकेट, ह्वीलचियर महिला र पुरुष पाँच किलोमिटर दौड तथा ह्वीलचियर नृत्य प्रतियोगिता गरिने’ बताए । यसमा दुई सय ह्वीलचियर प्रयोगकर्ता खेलाडीको सहभागिता हुने उनले जनाए ।

खासगरी अपांगता भएका व्यक्तिप्रति समाजको हेर्ने दृष्टिकोण बदल्न, राज्यको ध्यानाकर्षण गर्न, क्षमता अभिवृद्धि गर्न, समावेशी खेलकुदको प्रवर्धन तथा अपांगता खेलाडी चिनाउन, राष्ट्रिय खेलकुदजस्तै पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि कर्णालीमा सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश विश्वभर फैलाउन प्रतियोगिता गर्न लागिएको अध्यक्ष शाहीले बताए ।

आयोजकका अनुसार ह्वीलचियर बास्केटबल प्रतियोगिता वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला र क्रिकेट प्रतियोगिता कालिञ्चोकको क्रिकेट मैदानमा सञ्चालन हुनेछ । त्यस्तै, ह्वीलचियर दौड प्रतियोगिता वीरेन्द्रनगरको एयरपोर्टदेखि बांगेसिमलसम्मको पाँच किलोमिटर दूरीमा सञ्चालन हुनेछ । प्रदेश सरकारले अपांगतासम्बन्धी स्पष्ट नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष शाहीले उक्त प्रतियोगितालाई पर्यटनसँग जोड्न प्रयास गरिने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद