नेभिगेशन
खेलकुद

पाकिस्तान बन्यो च्याम्पियन

यू–१९ एसिया कप २०२५ को फाइनलपछि पदक वितरण समारोहमा असहज अवस्था देखिएको छ । भारतले आफ्नो उपविजेता पदक पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोसिन नक्वीबाट नभई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का एक अधिकारीबाट ग्रहण गर्‍यो । नक्वी भने पाकिस्तान टोलीको उपाधि जितको उत्सवमा सहभागी भएका थिए ।

दुबईमा सम्पन्न फाइनल खेलमा पाकिस्तानले भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्यो । पाकिस्तानका समीर मिन्हासले ११९ बलमा १७२ रन बनाउँदै टोलीलाई ३४७/८ को स्कोरमा पुर्‍याए । लक्ष्य पछ्याउने क्रममा भारत १५६ रनमै अलआउट भयो । पाकिस्तानका अली रजाले चार विकेट लिए । खेलपछि भएको पुरस्कार वितरण समारोहका क्रममा भारतीय खेलाडीहरूले मुख्य मञ्चमा उभिएका पीसीबी अध्यक्ष नक्वीतर्फ नगई मैदानको छेउमा आईसीसी निर्देशक मुबाशिर उस्मानीबाट पदक ग्रहण गरे । यस क्रममा परम्परागत हात मिलाउने प्रक्रिया पनि भएन ।

यस घटनालाई भारत र पाकिस्तानबीच जारी राजनीतिक तथा कूटनीतिक तनावसँग जोडेर हेरिएको छ । यसअघि पनि भारतीय क्रिकेट टोलीले यस्तै कारणले केही औपचारिक कार्यक्रममा सहभागिता जनाउनबाट बच्दै आएको छ ।

अर्कातर्फ, मोसिन नक्वी पाकिस्तान टोलीसँगै विजय उत्सवमा सहभागी भए । उनले कप्तान फरहान युसुफलाई ट्रफी हस्तान्तरण गरे र टोलीसँग तस्बिरसमेत खिचाए ।

यो जितसँगै पाकिस्तानले सन् २०१२ यताकै पहिलो पटक यू–१९ एसिया कपको उपाधि हात पारेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्