गोल्डेन ट्रयांगल अन्तर्राष्ट्रिय बाइक टुर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)ले स्वागत गरेको छ ।
एक्सपल्स राइडर नेपाल क्लबद्वारा पर्यटन प्रवर्धनका लागि आयोजित बाइक टुरमा १२ जना सहभागी छन् । उक्त टोलीसँग टेवानले पोखराको पर्यटन प्रवर्धन सम्बन्धमा अन्तरर्क्रियासमेत गरेको छ । क्लबका अध्यक्ष कुन्दन श्रेष्ठका अनुसार पहिलो दिन काठमाडौंबाट हिँडेको टोली शुक्रबार चितवनको सौराहामा बास बसेको थियो । सौराहाबाट शनिबार पोखरा आएको टोली आइतबार लमजुङको घलेगाउँ पुगेको छ । काठमाडौं, चितवन र पोखरालाई ‘गोल्डेन ट्रयांगल’ मानेर पर्यटन बोर्डको समेत सहयोगमा क्लबले बाइक टुर आयोजना गरेको हो । उक्त टुरका क्रममा यी सहरसहित नजिकका पर्यटकीय गन्तव्यको प्रवर्धन गरिने उनले बताए । ‘विश्व पर्यटन दिवसका अवसरमा सेप्टेम्बर २७ मै बाइक टुर गर्ने योजना जेनजी आन्दोलनका कारण धकेलियो,’ उनले भने, ‘कोरोना महामारीपछि ध्वस्त भएको पर्यटन क्षेत्रलाई टेवा पुर्याउन आन्तरिक पर्यटन प्रवर्धनमा बाइक टुरले भूमिका खेल्नेछ ।’
उक्त टोलीले चितवनमा जिप सफारी, डुंगा सयर र दृश्यावलोकन गरी कुमाल होमस्टेमा अन्तरर्क्रियामा सहभागी भएको थियो । आइतबार पोखराका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी घले गाउँका लागि निस्किएको हो । यसअघि सन् २०१९ मा क्लबको आयोजनामा एक सयजना बाइक राइडरले ७७ वटै जिल्लाको भ्रमण गरेका थिए । क्लबकै माध्यमबाट बंगलादेशका राइडर नेपाल आएर मुस्ताङसम्म पुगेका थिए । पर्यटन बोर्डको सहयोग र राइडर स्वयंको खर्चमा बाइक टुर आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
अन्तरर्क्रियामा पोखरा महानगरका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले बाइक टुरले पर्यटन प्रवर्धनमा सकारात्मक सन्देश दिने र पर्यटन क्षेत्रलाई चलायमान बनाउने बताए । ‘पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन यस्ता गतिविधिले सहयोग पुग्नेछ,’ उनले भने । पोखरा पर्यटन परिषद् का उपाध्यक्ष चौबहादुर गुरुङले यो यात्राले नेपाल र पोखरालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरे ।
टेवानकी निवर्तमान अध्यक्ष एवं टुरकी सल्लाहकार कमला गिरीले टुरलाई निरन्तरता पाउँदा पोखराको पर्यटन प्रवर्धनमा टेवा पुगेको बताइन् । टेवान अध्यक्ष शोभा पाण्डेले नेपालको पर्यटनलाई विश्वसामु परिचित गराउन यस्तो कार्यक्रमले सहयोग पुर्याउने बताइन् । ‘सबै मौसमका लागि पोखरा उपयुक्त छ भन्ने यो टुरले पनि प्रमाणित गरेको छ,’ उनले भनिन्, ‘आन्तरिकसँगै बाह्य पर्यटन प्रवर्धन गर्न टुरले खेलेको भूमिका प्रशंसनीय छ ।’ टेवान महासचिव शोभा अधिकारी पौडेलले बाइक टुर टोलीलाई पोखरामा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरिन् । सोमबार घले गाउँबाट उक्त टोली काठमाडौं फर्किनेछ ।