झापा । चिसो मौसम सुरु भएसँगै झापाका बजार क्षेत्रका चोक–चोकमा भक्का खानेको भीड बढ्न थालेको छ । बिहान र बेलुकाको समयमा तातो भक्का खान सर्वसाधारणहरूको बाक्लो घुइचो लागेको हो ।
चामलको पिठो बाफमा पकाएर तयार पारिने भक्का तराईमा थारु र राजवंशी समुदायको रैथाने खाजा हो । तर, पछिल्लो समय भक्का प्रति सबै समुदायका मानिसहरू आकर्षित भएका छन् । बिहान बेलुका खाजाको रूपमा सबैको रोजाइमा भक्का नै पर्ने गरेको छ । त्यसैले झापाका बजार क्षेत्रमा भक्का पकाएर बिक्री गर्नेहरू बढ्दै गएका छन् । खासगरी महिलाहरूले भक्का बिक्री गरेको देखिन्छ ।
जाडो याममा शरीरलाई न्यानो राख्ने र पचाउन सजिलो हुने खाजा भएकाले पनि यसको माग हरेक वर्ष बढ्दो छ । यस वर्ष चिसो चाँडै सुरु भएकाले भक्काको व्यापारसमेत बढेको देखिन्छ ।
परम्परागत परिकार भक्का अहिले स्वादसँगै धेरै महिलाहरूको लागि आम्दानीको मुख्य स्रोत बन्दै गएको छ । काँकरभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली, बुधबारे, भद्रपुर, कचनकवल, हल्दिबारी, बाह्रदर्शी, बिर्तामोड, सुरूंगा, केर्खा, दमक, राजगढ र गौरीगञ्ज लगायतका मुख्य बजार क्षेत्र र विभिन्न गाउँका चोकमा बिहानैदेखि भक्का पकाएर बेच्न महिलाहरू पुग्ने गर्छन ।
सारुती राजवंशीले विगत दुई दशकदेखि भक्का बेच्दै आएकी छिन् । ‘स्थानीय चामल प्रयोग गरेर भक्का बनाउँछु। बिहान ५ देखि ९ बजेसम्म बेच्दा दैनिक २ हजार रुपैयाँसम्म व्यापार हुन्छ । यसबाट खर्च कटाएर करिब १ हजार बच्छ,’ उनले भनिन्, ‘यसले घरखर्च चलाउन धेरै सहज भएको छ ।’ ४० बर्षदेखि झापाको इटाभट्टा चोकमा भक्का पकाएर बेच्दै आएकी ७० वर्षीया फुलश्वरी राजवंशीले पनि भक्का बेचेर परिवारको गुजरा चलाउँदै आएको बताइन । दुई वटाको २५ रुपैयाँका दरले बिहान र दिउसो गरेर दुई सिफ्टमा भक्का बेच्दा दैनिक २ हजार रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाइन ।
भक्कालाई मनपर्दो स्वाद अनुसार गुलियो वा नुनिलो पारी खाजाको रुपमा खान सकिन्छ । जाडोमा तातो–तातो भक्का खाँदा बिहानको भोक पनि मेटिने, जाडो पनि भाग्ने यसका पारखीहरू बताउँछन् ।
तेल र मसला नहुने खाचा भएकाले भक्का खाँदा पेट हलुका हुने र शरीर न्यानो हुने विर्तामोडका प्रकाश मल्लिकले बताए ।
स्वाद, स्वास्थ्य र संस्कृतिको संगम बनेको भक्का झापामा चिसो यामको पहिचानजस्तै बनेको छ । चिसो बढ्दै जाँदा भक्काको बाफसँगै महिलाको मेहनत र आम्दानी पनि थपिदैं गइरहेको देखिन्छ ।